५ वैशाख २०८१ बुधबार
कला

दीपेन्द्रको ‘आमा’ सूर्यमाला

फिल्म ‘आमा’की कलाकार सुरक्षा पन्त बायाँ र सूर्यमाला खनाल। तस्बिरः नागरिक

काठमाडौं – नेपाली फिल्ममा ‘आमा’ भन्नासाथ नेपालमै बनेको नेपाली भाषाको पहिलो फिल्मलाई बुझिन्छ। विंसं २०२० सालमा हीरासिंह खत्रीले निर्देशन गरेको यो फिल्मको नाम सापटी लिएर २०५१ सालमा निर्देशक रेशराज आचार्यले ‘आमा’ नै बनाए।

रेशराजले ‘आमा’ निर्देशन गरेको २५ वर्ष पछि यही नाममा निर्देशक दीपेन्द्र के खनालले नयाँ फिल्म निर्देशन गर्ने भएका छन्। फरक कथाका फिल्म बनाउन खप्पिस निर्देशक खनालले निर्देशन गर्न लागेको फिल्म ‘आमा’मा शर्मिला पाण्डेको लगानी रहनेछ।

राजधानीमा मंगलबार फिल्मको घोषणा गर्दै निर्देशक खनालले आफुले चित्तबुझ्दो कथामा फिल्म बनाउन लागेको बताए। ‘मेरो यसअघिको फिल्म ‘पशुपतिप्रसाद’ पछि सबैभन्दा मेहनत र चित्तबुझ्दो फिल्म ‘आमा’ हुनेछ’, निर्देशक दीपेन्द्रले भने, ‘फिल्मले एक आमा र छोरीको सम्बन्धको कथा बोल्नेछ।’ फिल्ममा दीपेन्द्रकै कथा र छायांकन हुनेछ। यसअघि उनले फिल्म ’धनपति’ पनि आफैंले खिचेका थिए। 

फिल्ममा अभिनेत्री सुर्यमाला खनाल शीर्ष भूमिकामा देखिँदैछिन्। ‘फिल्ममा आमाको भूमिका सशक्त छ। त्यसकारण म सशक्त आमा बन्ने कोशिस गर्नेछु’, उनले भनिन्। सुर्यमालाको छोरीको भूमिकामा देखिन लागेकी नायिका सुरक्षा पन्तले फिल्ममा आफु कुशल र राम्री छोरी बन्ने बताइन्।

काठमाडौं र रामेछापमा छायांकन हुने फिल्मको निर्माणमा सन्तोष अधिकारीले पनि सहकार्य गरेका छन्। डीएस फिल्मस्को व्यानरमा निर्माण हुने फिल्ममा देशभक्त खनाल, सरिता गिरी, आशान्त शर्मा, मनिष निरौला, पदम बुढाको समेत अभिनय रहने फिल्मको छायांकन असारको दोस्रो साताबाट सुरु हुनेछ। फिल्ममा भूपेन्द्र खड्काको गीत रहनेछ। बाँकी प्राविधिकको टुंगो नलागिसकेको निर्देशन खनालले बताए। फिल्म आगामी फागुन ९ गते रिलिज हुनेछ।

प्रकाशित: २६ वैशाख २०७६ ०३:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App