काठमाडौं – नेपाल पहिलोपटक संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक परिषदन्तर्गतको लागूऔषध आयोग सदस्यमा नियुक्त भएको छ। लागूऔषधसम्बन्धी नीति निर्माण गर्ने यस निकायमा नेपाल एसिया प्रशान्त क्षेत्रबाट सन् २०२०–२०२३ का लागि निर्वाचित भएको हो। संयुक्त राष्ट्रसंघको मुख्यालयमा मंगलबार सम्पन्न निर्वाचनमा नेपालले ५४ मध्ये ४४ मत प्राप्त गरेको थियो। सो आयोगमा नेपालसहित विभिन्न क्षेत्रबाट ३३ मुलुक निर्वाचित भएका छन्। एसिया प्रशान्त क्षेत्रबाट नेपालसहित चीन, जापान, बहराइन, थाइल्यान्ड, पाकिस्तान र तुर्किमेनिस्थान निर्वाचित भए।
लागूऔषध बिक्रीवितरण तथा लागूऔषधसँग सम्बन्धित अपराध नियन्त्रणलाई उच्च प्राथमिकतामा राख्ने गरेको नेपालले लागूऔषध अभिसन्धिमा सन् १९६१ मै हस्ताक्षर गरिसकेको छ। उक्त अभिसन्धिमा सम्मति जनाउने मुलकको संख्या हाल एक सय ८६ पुगेको छ। नेपाल सन् २०१९–२०२१ का लागि संयुक्त राष्ट्रसंघीय लैंगिक समानता र महिला शसक्तीकरणसम्बन्धी कार्यकारी समितिको सदस्यमा समेत निर्वाचित हुनुका साथै विकासका लागि विज्ञान तथा प्रविधि आयोगमा समेत सन् २०१९–२०२२ का लागि निर्वाचित भएको थियो। यसबाहेक सन् २०१७ मा मानव अधिकार परिषद्को सदस्यमा पनि नेपाल निर्वाचित भएको थियो।
प्रकाशित: २६ वैशाख २०७६ ०३:०९ बिहीबार