coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

राहुल गान्धीले माफी मागे

नयाँ दिल्ली – भारतीय विपक्षी दल कंग्रेसका अध्यक्ष राहुल गान्धीले देशको सर्वोच्च अदालतसमक्ष ‘बिनाशर्त माफी’ मागेका छन्। राफल जेट सम्झौताबारे सर्वोच्च अदालतले गरेको फैसलाले पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भ्रष्ट पुष्टि भएको भनेको भन्ने विवरणलाई साभार गर्दै गान्धीले एउटा चुनावी कार्यक्रममा बोलेका थिए।

चुनावी कार्यक्रममा उठेको प्रश्नको जबाफ दिँदै कंग्रेस अध्यक्ष गान्धीले प्रधानमन्त्री मोदीलाई लक्षित गर्दै ‘चौकीदार चोर हो’ भन्ने बयानलाई लिएर अदालतको अपहेलना मुद्दामा उनले बिना शर्त सर्वोच्च अदालतसमक्ष माफी मागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

एउटा स्वीकारोक्ति पेश गर्दै विपक्षी नेता गान्धीले अपहेलना मुद्दालाई बन्द गर्नु पर्ने आग्रहसमेत गरेका छन्। यसबारे अर्को सुनुवाई मे १० मा हुने बताइएको छ। कंग्रेस नेता गान्धीले सर्वोच्च अदालतलाई उद्धृत गर्दैै अब त सर्वोच्च अदालतले पनि ‘चौकीदार चोर हो भनेर मानेको’ चुनावी कार्यक्रममा बताएका थिए।

अदालतसमक्ष पेश गरिएको गान्धीको स्वीकारोक्तिमा मोदी भ्रष्ट हुन् भनेर देखाउनका लागि आफूले ‘जानाजान र अनैतिक रूपमा’ अदालतको नाम नलिएको प्रष्ट पारेका छन्। अप्रिल १० का दिन एउटा कार्यक्रममा गरिएको प्रश्नको जबाफ दिँदै गान्धीले राफल जेट सम्झौतामा सरकारमाथि लागेको भ्रष्टाचारको अभियोग खारेज गर्ने भन्ने अदालतको सुरुवाती फैसलाबारे पुनः जाँच हुने भनेर दिएको निर्णयले पनि ‘चौकीदार भ्रष्ट’ भएको पुष्टि हुने बताएका थिए।

प्रधानमन्त्री मोदीले ‘चौकीदार’ भन्ने शब्द आफ्नो चुनावी अभियानमा प्रयोग गर्दै आइरहेका छन्। त्यही शब्दलाई प्रतिकात्मक रूपमा लिँदै गान्धीले अदालतको निर्णयले ‘चौकीदार’ वास्तवमै चोर पुष्टि भएको बताएका थिए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टी (भाजपा) र राहुल गान्धीको दल कंग्रेसबीच तीब्र प्रतिस्पर्धा हुने अनुमान गरिएको भारतको तल्लो सदन ‘लोकसभा’को निर्वाचनको मध्यतिर गान्धीले अदालतसमक्ष माफी मागेको विवरण बाहिरिएको छ।

गान्धीले मोदीलाई कटाक्ष गर्न अदालतलाई उद्धृत गरेको विषयलाई लिएर उनको भनाइ आएलगत्तै भाजपा अदालत पुगेको थियो। अदालतले यसबारे फैसला गर्दै गान्धीलाई तत्काल आफ्नो भनाइ सार्वजनिक गर्न र माफी माग्न आदेश दिएको थियो।

अदालतको सूचनालाई प्रतिक्रिया दिँदै गान्धीले अदालतबारे आफूले बोलेको कुराले ‘पछुतो’ लागेको बताएका थिए। तर पनि अप्रिल ३० का दिन भाजपाका वकिलले गान्धीको प्रतिउत्तरले माफी नसमेटेको जिकिर गरेका थिए। त्यसपछि अदालते गान्धीलाई मे १० सम्ममा औपचारिक माफी सार्वजनिक गर्न आदेश दिएको थियो। कंग्रेसले गान्धीले मोदीसमक्ष नभई अदालतसमक्ष माफी मागेको बताएको छ। जेट सम्झौतामा भ्रष्टाचार भएको र मोदीले केही व्यापारीलाई फाइदा पु-याएको भन्दै गान्धीले पटकपटक आवाज उठाउँदै आएका छन्।

विश्वकै सबैभन्दा ठूलो लोकतन्त्र रहेको भारतमा हाल देशको तल्लो सदन ‘लोकसभा’का लागि निर्वाचन भइरहेको छ। विभिन्न सात चरणमा हुने भनिएको निर्वाचनको पाँचौं चरणको मतदान पनि सम्पन्न भइसकेको छ। अप्रिल ११ बाट सुरु भएको निर्वाचन प्रक्रिया १९ मेसम्म चल्ने छ भने मे २३ का दिन अन्तिम मत परिणाम सार्वजनिक गरिने छ।

यसपटकको निर्वाचनमा पनि सत्तारुड भाजपा र प्रमुख विपक्षी दल कंग्रेसबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। त्यसैकारण पनि भाजपा र कंग्रेसका नेताहरु चुनावी अभियानका दौरान एकअर्काविरुद्ध कडा टिप्पणी र आरोपप्रत्यारोपमा उत्रिएका छन्।

प्रकाशित: २६ वैशाख २०७६ ०३:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App