७ वैशाख २०८१ शुक्रबार
समाज

बौद्धका व्यावसायी आन्दोलित

बौद्ध गेट अगाडी बुधबार आन्दोलन गर्दै स्थानीय। तस्बिर ः नागरिक।

काठमाडौं - बौद्ध व्यापार संघ र स्थानीयले बुधबार बौद्ध गेट अगाडीको सडकमा आन्दोलन गरे। चाबहिल–साँखु सडक खण्डअन्तर्गतको बौद्ध सडकमा पिचको काममा ढिलाई हुँदा सडक धुलाम्मे भएकाले तत्काल सडक पिच गराउनका लागि उनीहरुले आन्दोलन गरेका बताए।

सडक अस्तव्यस्त हुँदा हिँड्डुल गर्न नसकिनेलगायतका समस्या भोग्नु परेकाले सडक पिच गराउन आन्दोलन गरेको व्यवसायीहरु बताउँछन्। चार वर्षदेखि सडकको धुलोले अस्तव्यस्त भएपछि कालोपत्र गराउन आन्दोलन गरेको व्यापार संघका सचिव राजकुमार अधिकारीले बताए। ‘सडक अस्तव्यस्त भएको चार वर्ष भइसक्यो,’ उनले भने, ‘अहिलेसम्म पनि सडक पिच भएन। सडकको धूलोले स्वस्थ्यलगात दैनिक जीवनमै गम्भीर असर गरेको छ। सडक पिच गराउनका लागि यहाँका स्थानीय र हामीले दबाबमूलक सांकेतिक आन्दोलन गर्न बाध्य भएका हौं।’ ठेकेदारको चरम लापरबाहीका कारण स्थानीयले सास्ती खेप्नुपरेको उनको आरोप छ। ‘ठेकेदारको लापारबाहीले काम ढिला हुँदा स्थानीय र यात्रुले धूँवा, धुलो खाएर बस्नु परेको छ। सडक पीच गर्नका लागि सरोकार निकायले पहल नै गर्दैनन्,’ उनले भने। उनका अनुसार उक्त सडक अस्तव्यस्त हँुदा व्यापार व्यवसाय डामाडोल भएको छ। स्थानीय तथा पैदलयात्रुलगायतले सास्ती पाएका छन्। व्यावसायीले दिक्क भएर आन्दोलन गरेको बताए। उनीहरुको आन्दोलनले बुधबार बिहान आकश्मिक सेवाबाहेकका सवारीले बिहान डेढ घण्टा चल्न पाएनन्।

बिहिबार पनि सडकमा आन्दोलन गर्ने उनीहरुको योजना छ। स्थानीय कृष्ण कार्कीले ठेकेदारले सडक पिच गर्नका लागि केही कामदार ल्याएर काम गरेजस्तो गर्ने तर काम भने नगर्ने गरेको आरोप लगाए। ‘ठेकेदारले चार जना कामदार ल्याएर काम गराउँछन्,’ उनले भने, ‘काम गरेजस्तो गर्छन्। तर काम हुँदैन। सडक बनाउन आन्दोलन गर्नुको विकल्प भएन।’ सडक धुलाम्मे भएपछि स्थानीयले पैसा उठाएर किनेको पानी सडकमा छर्ने गरेका छन्।

ढलको पाइप फुट्ने समस्याले सडक पिचको काममा ढिलाई भएको उपत्यका सडक विस्तार आयोजनाका सूचना अधिकारी विश्वविजयलाल श्रेष्ठ बताउँछन्। ‘टुसाल आसपासको सडकमा ढल फुट्ने समस्याले गर्दा काम ढिलाइ भएको छ,’ उनले भने, ‘राम्रोसँग ढल मर्मत गरेर मात्रै सडक पीच गर्नुपर्ने भएकाले अहिले ढलको मर्मत कार्य गर्दै आएका छौं। ढललाई कसरी व्यवस्थापन गर्ने यस विषयमा हामीले छलफल पनि गर्दै आएका छौं। असार महिनाभित्र सडक पिच हुन्छ।’

चावहिल–साँखुको १२ किमि सडक विस्तार गरेर चार लेन र दुवैतर्फ फुटपाथ बनाउने कार्य २०७२ मा अघि सारिए पनि हालसम्म कामले गति लिन सकेको छैन।
 

प्रकाशित: २६ वैशाख २०७६ ०२:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App