coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

'महाअभियोग प्रस्ताव सबै पार्टीको हो, एमालेले गोल हानेको मात्रै हो'

कांग्रेस नेता धनराज गुरुङ

काठमाडौं— नेपाली कांग्रेसका नेता एवं सांसद धनराज गुरुङले लोकमान सिंह कार्कीलाई महाअभियोग लगाउने मुद्दा सबै पार्टीको भएको उल्लेख गरेका छन्। कांग्रेसभित्र महाअभियोग एमाले-एमाओवादीको हो भनेर लोकमानसिंह कार्कीलाई संरक्षण दिने प्रयास भइरहेका बेला उनले गगन थापा, आफू र श्याम श्रेष्ठले संसदीय समितिमा महाअभियोगको माग गर्दै निवेदन दिएको स्मरण गराएका हुन्।

'महाअभियोग प्रस्ताव एमाले/माओवादीको हो त्यसैले त्यो प्रस्तावको पक्षमा जानु हुन्न भन्ने मित्रहरुलाई थाहै होला गगन, म र श्याम श्रेष्ठले महाअभियोगको बल अगाडि बढायौं', उनले सामाजिक सञ्जाल ट्विटरमार्फत् भनेका छन्, 'गोल हान्ने बेलामा एमालेले हानेको मात्रै हो। त्यसैले महाअभियोग प्रस्ताव सबै पार्टीको हो।'

पद तथा शक्तिको दुरुपयोग गरी संवैधानिक निकाय अख्तियारको मानमर्दन गर्ने कार्यमा संलग्न भएको भन्दै गत बुधबार एमाले-माओवादीका १५७ सांसदले प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता गराएका थिए।

त्योभन्दा अगाडि लोकमानविरुद्ध कांग्रेस दुई सांसदहरु गगनकुमार थापा र धनराज गुरुङ तथा माओवादी श्याम श्रेष्ठले संसदीय समितिमा महाअभियोगको निवेदन दर्ता गरेका थिए। जनघृणाको पात्र बनेका लोकमानलाई जोगाउन काठमाडौंस्थित भारतीय खुफिया एजेन्सी रिसर्च एन्ड एन्यालाइसिस विङ (रअ) तथा भारतीय दूतावासका अधिकारी सक्रिय छन्।

कांग्रेसका केही शक्तिशाली नेताहरु लोकमानलाई काँध हाल्ने पक्षमा सार्वजनिक रुपमै अभिव्यक्ति दिन थालेपछि सांसद गुरुङले महाअभियोग प्रस्तावबारे यसअघि भएको प्रक्रिया स्मरण गराएका हुन्।

प्रकाशित: ७ कार्तिक २०७३ ०९:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App