कांग्रेसको जागरण अभियान सुरु

सरकारविरुद्ध आक्रामक, ‘गलत क्रियाकलापको भण्डाफोर’

बिहिबार, २६ बैशाख २०७६, ०६ : ३९ नागरिक

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संगठन सुदृढीकरणका साथै सरकारविरुद्ध तीन चरणको अभियान सुरु गरेको छ। प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टी पराजित भएपछि पहिलोपटक आन्तरिक विवाद थाती राख्दै कांग्रेसले बुधबार देशव्यापी राष्ट्रिय जागरण अभियान सुरु गरेको हो।

केन्द्रदेखि वडा तहसम्मका संगठन एकैसाथ परिचालन गर्ने उद्देश्यले अभियान सुरु गरेको कांग्रेसले केपी ओली नेतृत्व सरकारविरुद्ध कार्यक्रम केन्द्रित गर्ने भएको छ। सरकारका पछिल्ला कदमप्रति असन्तुष्ट कांग्रेसले वाइड बडी खरिदमा भएको अनियमितता, बूढीगण्डकी आयोजना स्वदेशी लगानीमा बनाउने पूर्ववर्ती सरकारको निर्णय उल्ट्याउँदै विदेशी कम्पनीलाई दिने सरकारी निर्णयसहितका विसंगतिविरुद्ध अभियान केन्द्रित गरेको छ।

संविधानप्रतिको असन्तुष्टिलाई संविधान संशोधनमार्फत सम्बोधन गर्दै मुलुकलाई एकताको सूत्रमा गाँस्न तथा पार्टी संगठनमा नयाँ रक्त सञ्चार गर्न अभियान फलदायी हुने कांग्रेसको विश्वास छ। कांग्रेसलाई आगामी निर्वाचनमा पहिलो पार्टीका रुपमा स्थापित गर्न अभियान महत्वपूर्ण हुने दाबी पार्टी सभापति शेरबहादुर देउवाको छ। राजधानीमा बुधबार आयोजित कार्यक्रममा उनले भने, ‘अहिलेको अवसर र चुनौतीको सामना गर्नसक्ने पार्टी बनाउन लागौं।’

सरकार राज्यका हरेक अंगमा हस्तक्षेप गर्न लागि परेको सुनाउँदै देउवाले कुनै पनि बहानाको तानाशाही स्वीकार्य नहुने स्पष्ट पारे। पार्टी स्थापना नै तानाशाहविरुद्ध भएको सुनाउँदै देउवाले भने, ‘राणा, पञ्चायत र राजा ज्ञानेन्द्रलाई हटायौं। अहिलेको सरकारको यस्तै रबैया रह्यो भने यसलाई पनि हटाउन सडक आन्दोलन गर्न बाध्य हुन्छौं। हामी सडकबाटै यिनीहरुलाई हटाउँछौं। नियत यस्तै हो भने हामीले मुक्ति पाउन आन्दोलन गर्नैपर्छ।’

आन्दोलनका लागि तयार हुन नेता कार्यकर्तालाई निर्देशन दिएका देउवाले आफ्नो दल कुर्सी र रेलिङ भाँच्ने प्रतिपक्षी भने नभएको दाबी गरे। प्रधानमन्त्रीले आफ्नो पदीय मर्यादा भुलेर जे पायो त्यही बोल्न थालेको आरोप लगाउँदै देउवाले भने, ‘हिजो (मंगलबार) संसद्मा देखिहाल्नुभयो, प्रधानमन्त्रीले गैरसंसदीय भाषा बोलेको। हामीले विरोध ग¥यौं र रेकर्डबाट हटाउन सभामुखलाई आग्रह ग-यौं तर सकेनन्।’ नेपालको संसदीय इतिहासमा यति कमजोर, डरपोक, काँतर सभामुख आफूले पहिलोपटक देखेको देउवाको टिप्पणी थियो। सभामुखले संसदीय गरिमा जोगाउन नसकेको आरोप लगाउँदै देउवाले थपे, ‘धेरै सभामुख भएका छन् तर उनीहरुले सत्तापक्षको जस्तो व्यवहार कहिल्यै देखाएका थिएनन्। बरु विपक्षीहरुको भावनालाई महत्व दिन्थे।’

ब्रिटिस मोडलअनुसार सरकार सत्तापक्ष र सदन विपक्षीको भएकोे दाबी गर्दै देउवाले भने, ‘निर्वाचनअघि नै कम्युनिस्ट नेतृत्वमा सरकार गठन भयो भने रुन पनि पाइँदैन भनेको थिएँ, त्यो कुरा पुष्टि हुँदै आएको छ।’ प्रधानमन्त्री केपी ओलीले अरुले गरेको काम पनि आफैंले गरेको भन्ने गरेको आरोप देउवाले लगाए। उनले भने, ‘अर्काले गरेको काम मैले गरेको हुँ भन्न लाज लाग्नुपर्ने होइन ?’

कांग्रेसले वाइड बडी खरिदमा भएको अनियमितता, बूढीगण्डकी आयोजना स्वदेशी लगानीमा बनाउने पूर्ववर्ती सरकारको निर्णय उल्ट्याउँदै विदेशी कम्पनीलाई दिने सरकारी निर्णयसहितका विसंगतिविरुद्ध अभियान केन्द्रित गरेको छ।

देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी बेलायती महारानीको पथमा अघि बढेको टिप्पणी गरे। गणतन्त्र आएपछि नेपाल सरकार भन्ने चलन सुरु भइसकेको र संवैधानिक व्यवस्थासमेत त्यही भएको उनले बताए। ‘यसभन्दा अगाडि अघिल्लो वर्ष राष्ट्रपतिले मेरो सरकार भनेकी थिइनन्। राष्ट्रपति रहँदा रामवरण यादवले पनि मेरो सरकार भनेका थिएनन्। अहिले यिनलाई बेलायती महारानीजस्तो किन हुनु परेको’, देउवाले प्रश्न गर्दै भने, ‘बेलायतमा हर मेजेस्टिज गभर्मेन्ट भनिन्छ। यहाँ पनि मेरो सरकार भनियो। अब हर मेजेस्टिज विद्या भण्डारी गभर्मेन्ट भन्ने ?’

कार्यक्रममा पूर्वमहामन्त्री प्रकाशमान सिंहले पार्टीभित्र संस्कार हराउँदै गएको गुनासो गरे। गुटउपगुटका कारण निर्वाचनमा पार्टी पराजित हुने गरेको टिप्पणी गर्दै सिंहले भने, ‘बहुदल ल्याएको कांग्रेसमा निर्दलीय संस्कार विकास भइरहेको छ। यो राम्रो भएन। समय छँदै विचार गरौं। गुटलाई होइन पार्टीलाई केन्द्रमा राखौं।’

पार्टी विधिविधान अनुसार सञ्चालन गर्दा मात्र तेरोमेरो, काखापाखा गर्ने परम्परा अन्त्य हुने दाबी गर्दै सिंहले भने, ‘कम्युनिस्ट फुट्छ र हाम्रो पालो आउँछ भन्ने होइन, हाम्रा धारणालाई स्पष्टताका साथ जनतामा राखेर संगठन बलियो बनाउन लागौं।’

पार्टीले सुरु गरेको अभियान सकिएपछि पनि विश्राम नलिई संगठन निर्माणमा जुट्न आह्वान गर्दै सिंहले थपे, ‘अब विश्राम लिने र सुत्ने होइन, पार्टीले निर्वाचन जित्न सक्नेगरी संगठन मजबुत बनाउन लागौं।’

कम्युनिस्ट नेतृत्वको वर्तमान सरकार मुलुकमा जनवादी केन्द्रीयता लागू गर्न सक्रिय रहेको आरोप लगाउँदै उनले भने, ‘दुईतिहाइ छ भन्दैमा संविधान कुल्चन थाले कांग्रेस टुलुटुलु हेरेर बस्दैन। त्यसका लागि जस्तोसुकै बलिदानी गर्न पनि तयार छ।’

काठमाडौंका केन्द्रीय प्रतिनिधि नेता बालकृष्ण खाँणले प्रधानमन्त्री ओलीले गैरसंसदीय भाषा प्रयोग गरेर नयाँ इतिहास रचेको टिप्पणी गरे। संविधानसभाबाट जारी भएको नयाँ संविधान कमजोर बनाउन सरकार सक्रिय रहेको आरोप लगाउँदै खाँणले जनताका मनमनका कुरासम्बन्धमा सांसदले प्रश्न गर्न पाउने कि नपाउने भन्ने प्रश्न गरे। पार्टीले सुरु गरेको जागरण अभियानले जनता र कांग्रेसलाई जोड्ने दाबी गर्दै उनले भने, ‘अभियानले पार्टीमा नयाँ रक्तसञ्चार गर्छ।’

कांग्रेसले वैशाख ११ गते सुरु गर्ने भनेको राष्ट्रिय जागरण अभियान पार्टी नेता रामकृष्ण ताम्राकारको निधनका कारण दुई साता पर सारी बुधबार सुरु गरेको छ। ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएर सुरु गरेको पहिलो चरणको एकमहिने कार्यक्रमअन्तर्गत बुधबार सातवटै प्रदेशका एकएक ठाउँमा अभियान उद्घाटन गर्न पार्टी पदाधिकारी पुगेका थिए।

 ‘गलत क्रियाकलापको भण्डाफोर’

पश्चिमेली व्युरो - प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लामा कांग्रेसको जागरण अभियान बुधबारदेखि सुरु भएको छ। प्रदेश ५ को अस्थायी राजधानी रुपन्देहीबाट पार्टी महामन्त्री डा. शशांक कोइरालाले पिपलको बिरुवामा पानी हालेर जागरण अभियानको शुभारम्भ गरे।

कांग्रेस पार्टी कार्यालय भैरहवामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले अबको चुनावमा कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी काम गर्न नेता कार्यकर्तालाई आग्रह गरे। आदर्श र नीति राम्रो, कुशल कार्यकर्ता र लामो इतिहास बोकेको पार्टी भएकाले एक ढिक्का भइ अगाडि बढे कांग्रेसलाई अब कसैले हराउन नसक्ने दाबी उनको थियो।
दुईतिहाइको सरकारले भ्रष्टाचार, अनियमितता र अराजकता मात्रै फैलाएको भन्दै महामन्त्री कोइरालाले यसबारे आमनागरिकलाई जानकारी गराउन राष्ट्रिय अभियान सुरु गरिएको बताए। निर्मला हत्याकाण्ड, बूढीगण्डकी, वाइडबडी, एनसेललगायतका धेरै काण्डमा सरकार मुछिएको बताउँदै ती काण्डहरू जनतामाझ पर्दाफास गर्ने बताए।

कांग्रेसकै नेतृत्वमा सुरु भएका विकासका कामलाइ भजाएर कम्युनिस्ट सरकारले जनता झुक्याउने खेलमा लागेको भन्दै उनले यो सरकारबाट विकास सम्भवै नभएको दाबी गरे। महामन्त्री कोइरालाले सरकारले स्वतन्त्र निकायमाथि हस्तक्षेप गर्ने दाउ खेलेको पनि आरोप लगाए। शक्ति केन्द्रिकृत गर्न सेना प्रधानमन्त्री मातहत ल्याउने प्रपञ्च रचिएको तर, कांग्रेसले कुनै हालतमा सफल हुन नदिने बताए। न्यायपालिका र सञ्चार तथा स्वतन्त्र प्रेसमाथि समेत हस्तक्षेप गरिरहेको बताए।

कपिलवस्तुको गोरुसिंगेमा अभियानको उद्घाटन गर्दै केन्द्रीय सदस्य चन्द्र भण्डारीले ओली नेतृत्वको सरकार इतिहासमै सबैभन्दा भ्रष्ट सरकारको रुपमा चिनिने दाबी गरे। संघीयदेखि स्थानीय सरकार भ्र्रष्टाचारमा चुर्लुम्म डुबेको उनको दाबी थियो।

नवलपरासी सदरमुकाम परासीमा आयोजित जागरण सभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य राधेचन्द्र यादवले ओली सरकार दुईतिहाइको मातमा अन्धो भएको बताए। पाल्पाको तानसेनमा केन्द्रीय सदस्य बालकृष्ण पाण्डे, अर्घाखाँचीमा पूर्व केन्द्रीय सदस्य दीपकुमार उपाध्याय, रोल्पामा पूर्वसांसद कृष्णकिशोर शर्मा घिमिरे, हुम्लामा केन्द्रीय प्रतिनिधि हस्तबहादुर मल्ल, डोल्पामा केन्द्रीय सदस्य कुमार खड्का, बझाङमा केन्द्रीय प्रतिनिधि मेहन्द्र शर्माको उपस्थिति थियो।

कार्यकर्तामा छैन उत्साह
कांग्रेसले देशभर एकैसाथ राष्ट्रिय जागरण अभियान सञ्चालन गरिरहँदा जिल्लामा रहेका नेता, कार्यकर्तामा भने उत्साह देखिएको छैन। पार्टीको केन्द्रीय नेतृत्वले जागरण अभियानलाई महत्वपूर्ण कार्यक्रम रहेको बताइरहँदा जिल्लामा रहेका नेता, कार्यकर्तामा भने अझै पनि निराशा देखिन्छ।

पार्टीभित्रको चरम गुटबन्दी र अन्तरघातबाट वाक्क भएका नेता, कार्यकर्ताले मनोवैज्ञानिक विभाजनलाई अन्त्य नगर्दासम्म जतिसुकै जागरण थाले पनि केही नहुने बताउँछन्। पार्टीभित्रको गुटबन्दीले आमकार्यकर्तामा छाएको निराशालाई कांग्रेस बाँकेका पूर्वसभापति युवराज शर्माले सार्वजनिकरूपमै व्यक्त गरे। कांग्रेसले २००७ सालयता जागरण कार्यक्रम गर्दै आएको स्मरण गर्दै कांग्रेसका पुराना नेता शर्माले २०४६ सालपछि पार्टीले धेरै गल्ती गरे पनि सच्याउने प्रयत्न नगरेको बताए।

जागरण अभियानमा समेटिएका कार्यक्रम तथा गतिविधि झ्वाट्ट हेर्दा राम्रो भए पनि कार्यान्वयनमा ल्याउन चुनौतीपूर्ण भएको अधिकांश कार्यकर्ता बताउँछन्। जागरण अभियानको सुरुवातसँगै केन्द्रिय नेतृत्वले गुटगत राजनीति त्याग्न सकेमा मात्र यसको औचित्य रहने उनीहरुको भनाई छ। बाँकेमा जागरण अभियानको उद्घाटन कार्यक्रममा कार्यकर्ताको गुनासो सुनिसकेपछि नेपाली कांग्रेसका नेता एनपी साउँदले पार्टीले धेरै छलफल र बहस पश्चात यो कार्यक्रम ल्याएको बताए। ‘पार्टीलाई व्यवस्थित पार्टीको रुपमा कसरी पुनःनिर्माण गर्न सक्छौं, हामीले मुलुकका विधमान समस्याबारे जनतालाई कसरी जागरुक गराउन सक्छौं भन्ने जागरण अभियानको मूल मर्म हो,’ उनले भने।

पार्टीभित्र अन्र्तघात र अन्तरविरोध बढेको स्वीकार गर्दै पूर्वमन्त्री साउदले तत्कालको चुनौती र कमी कमजोरीलाई आत्मसात् गरेर अगाडि बढ्न जागरण अभियान महत्वपूर्ण रहेको जिकिर गरे। कांग्रेसले पहिलो चरणमा वैशाख २५ देखि जेठ २५ सम्म, दोस्रो चरणमा भदौ २४ देखि असोज १० र तेस्रो चरणमा पुस ७ देखि पुस १६ गतेसम्म राष्ट्रिय जागरण अभियान गर्ने घोषणा गरिसकेको छ।








यसमा तपाईको मत

अन्य समाचार

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकको प्रविधि र रे-ब्यान चस्मा निर्माण गर्ने कम्पनी लक्सोटिक्काको डिजाइनबाट स्मार्टफोनलाई नै प्रतिस्थापन गर्ने स्मार्ट अग्मेन्टेड रियालिटी चस्मा निर्माण गर्ने...

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

एचपीले २४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप निर्माण गरेको दाबी गरेको छ ! ...

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

जेष्ठ नागरिकको सम्मानस्वरुप नेपाल वायुसेवा निगमले ७० वर्ष नाघेका जेष्ठ नेपाली नागरिकका लागि आन्तरिक उडानको भाडामा ५० प्रतिशत छुट दिने...

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसका अवसरमा नेपाल टेलिकमले ग्राहकलाई सय रुपैयाँमा तीन जिबी डाटा प्याक योजना सार्वजनिक गरेको छ । ...

बागलुङ मालपोतमा प्रभुको काउन्टर

बागलुङ मालपोतमा प्रभुको काउन्टर

प्रभु बैंकले बागलुङ नगरपालिकास्थित मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

केएल दुगड ग्रुपअन्तर्गतको स्मार्ट अप्लायन्सेसले दसैं–तिहारको अवसरमा स्काइवर्थ होम अप्लायन्सेसमा ‘स्काइवर्थ ग्रान्ड छुट उत्सव’ सार्वजनिक गरेको छ । ...

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

त्रिवेणी गु्रपको कर्पोरेट छायाँअन्तर्गत रहेको सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार प्रोडक्ट बजारमा ल्याएको छ । ...

एनआइबिएल–रेडक्रस सहमति

एनआइबिएल–रेडक्रस सहमति

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (एनआइबिएल) र नेपाल रेडक्रस सोसाइटीबीच बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य हेरचाह र साक्षरता प्रवद्र्धनका लागि सहमतिपत्रमा हस्ताक्षर...

Ncell Footer Ad