coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

पुलिस र डायमन्ड सेमिफाइनलमा

काठमाडौं- नेपाल पुलिस क्लब र न्यु डायमन्ड एकेडेमी यति फ्लोरिङ राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्। पुलिससँग पराजित भए पनि समुह 'बी' बाट डायमन्डले अन्तिम चारको यात्रा तय गर्‍यो। आइतबारको खेलमा विजय हासिल गरेको पुलिस विजेता र पराजित भएको डायमन्ड उपविजेता वन्दै अन्तिम चारमा प्रवेश गरेका हुन्। आइतबार पुलिसले साविक उपविजेता डायमन्डलाई २५–१८, १६–२५, १८–२५, २५– १३, १५–१२ को नतिजामा हराएको थियो।

गतवर्ष फाइनलमा एपिएफलाई नतिजा सुम्पेको डायमन्ड आइतबार सुरु भएको दोस्रो संस्करणको पहिलो खेलमै पुलिससँग पराजित भयो। गत वर्ष फाइनल पुग्दा डायमन्डले पुलिसलाई हराएको थियो। फागुनमा सम्पन्न मदन पासाङ स्मृती भलिबलमा पनि डायमन्डले पुलिसलाई पाँच सेट खेल्दै हराएको थियो। जितसँगै पुलिसले डायमन्डसँगको लगातार हारको श्रंखलालाई रोकेको छ।

उद्घाटन खेलमा पराजय भोगे पनि डायमन्डले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा २५–१३, २५– १५, २५–११ ले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो।

डायमन्डका प्रशिक्षक कुमार राईले कप्तान ललिता नाथ सतप्रतिसत फिट नभएकोेेले खेल हार्नु परेको बताए। राईले भने, 'ललिता हाम्रो मुख्य ब्लकर र क्विक स्पाइकर हो। उ चोटलाई जित्दै खेलमा फर्कने प्रयास गरिरहेकी छिन्।'

मनिषा पुलिसमा

राष्ट्रिय टोलीकी स्पाइकर मनिषा चौधरी पुलिस क्लबमा अनुवन्धित भएकी छिन। मनिषाले दुई वर्ष देखी पश्चिमाञ्चलबाट राष्ट्रिय प्रतियोगिता खेल्दै आएकी थिइन। पोखराको टप्स स्कुलमा छात्रवृति सहित भलिबल खेलिरहेकी मनिषाले आइतबार पुलिसको जर्सीमा पहिलो पटक खेलिन। डायमन्डविरुद्धको खेलमा मनिषाले स्पाइकबाट ८, ब्लकबाट १ र सर्भिसबाट २ सहित ११ अंक लिँदै पुलिसको जितमा सहयोग गरिन्।

मनिषाले स्पाइकबाट राम्रो प्रभाव देखाएको कारण विजय हासिल गर्न सफल भएको पुलिसका प्रशिक्षक रुपेश विष्टले बताए। स्पाइक कमजोर भएकाले मनिषालाई अनुबन्ध गरेको उनको भनाई थियो।

मनिषाले भारतमा भएको १२औं दक्षिण एसियाली खेलकुदमा राष्ट्रिय टोलीबाट 'डेब्यु' गरेकी थिइन। पुलिसमा स्थायी रुपमै भर्ना भएर खेल्ने योजना रहेको मनिषाले बताइन्।

प्रकाशित: १३ असार २०७३ ०३:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App