coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

यस्तो बन्यो उत्तरी नाकामा पहिलो अत्याधुनिक बन्दरगाह (फाेटाे फिचर)

तातोपानी – चीन जोड्ने उत्तरको प्रमुख व्यापारिक तातोपानी नाका आउँदो जेठ दोस्रो साताबाट सञ्चालनमा आउँदै छ । २०७२ वैशाख १२ को विनासकारी भूकम्पपछि वार्षिक २० अर्ब रुपैयाँ कारोवार हुने यो नाका बन्द रहँदै आएको छ।

अब यो नाका अत्याधुनिक सुक्खा बन्दरगाहबाट सञ्चालनमा आउने छ । हालको तातोपानी भन्सारको झण्डै ६ किमी तल लार्चामा बन्दरगाह निर्माण सम्पन्न भएको छ। चीन सरकारको सहयोगमा बनेको बन्दरगाह अबको केही साताभित्रै नेपाल सरकारलाई हस्तान्तरण हुँदै छ। नेपालको पाँचौ यो बन्दरगाह नेपाल–चीन सीमा नाकाको भने पहिलो हो। यसअघि काँकडभित्ता, भैरहवा, वीरगञ्ज र विराटनगरमा सुख्खा बन्दरगाह सञ्चालनमा छन्।

नेपाल इन्टर मोडल यातायात विकास समतिका कार्यकारी निर्देशकको कार्यभारसमेत सम्हालिरहेका उद्योग तथा वाणिज्य मन्त्रालयका प्रवक्ता (सहसचिव) नवराज ढकाल निर्माण सकिएको तातोपानी बन्दरगाह नाका सञ्चालन अगावै नेपाल सरकारलाई हस्तान्तरण हुने बताउँछन्। नाकालाई नेपाल–चीन बीचको ‘व्यापारिक ट्रान्जिट’ बनाउन बन्दरगाह २०७० पुस ५ गतेबाट बन्दरगाह निर्माण थालिएको थियो । तत्कालीन चिनियाँ राजदुत याङ हाउलानले दुई वर्ष ६ महिनाभित्र सक्ने गरी बन्दरगाह शिलान्यास गरेका थिए।

लक्ष्यअनुसार तीन वर्षअघि नै २०७२ फागुनमै बन्दरगाह निर्माण सकिनु पथ्र्यो । २०७१ साउन १७ को जुरे पहिरो, २०७२ वैशाखको भूकम्प र २०७३ असार २३ गतेको भोटेकोसी बाढीले बन्दरगाह निर्माण पछाडि धकेलिरह्यो। गत वर्षको चैतबाट अधुरो बन्दरगाह निर्माण पुनः अघि बढाइएको थियो। चीन सरकारको करिव १ अर्व २० करोड रुपैयाँ (८.६२ करोड युआन) सहयोगमा करिव ९० रोपनी क्षेत्रफलमा अन्तराष्ट्रिय मापदण्ड अनुरुपको बन्दरगाह तयार भएको हो ।

लिपिङ बजारदेखि बन्दरगाह स्थलसम्मको अरनिको राजमार्ग स्त्तरोन्ती, बन्दरगाह स्थलमा पुग्न भोटेकोसी नदीमा मोटरेवल पुल र बन्दरगाह निर्माण कार्य एकै प्याकेजमा सकिएको छ । बन्दरगाहमा भन्सार कार्यालय, पशु र कृषि क्वारेन्टाइन, गोदाम घर, जाँचपास यार्ड, चेक पोष्ट, बैंक र  आवाससहितको संरचना बनेका छन्। एक सय ५८ ठूला कन्टेनर राखेर जाँचपास गर्न सकिने क्षमताका गोदाम घर बनेको छ । ६० देखि सय मेट्रिक टन सामग्री एकै पटक तौलिने यन्त्र बन्दरगाहमा राखिँदै छ।

साँघुरो संरचनामा रहेको हालको तातोपानी भन्सारमा ६० कन्टेनरमात्र अटाउने यार्ड थियो । प्रतिनिधिसभा, अन्तराष्ट्रिय सम्बन्ध समितिको बुधबारको बैठकमा बोल्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यही मे महिना (जेठ १७) बाट नाका सञ्चालनमा ल्याउने तयारी भइरहेको बताए । चीनसँग नेपालको व्यापार तातोपानी नाकाबाट हुँदै आएको थियो । भूकम्पपछि तातोपानीको स्थान केरुङ–रसुवागढी नाकाले लिँदै आएको छ।

भूकम्पअघि मुलुकका १० ठूला भन्सारमा दहरिएको तातोपानी भन्सारले नेपाल–चीन व्यापारबाट वार्षिक झण्डै पाँच अर्र्व रुपैयाँ राजस्व संकलन गथ्र्यो। नेपाल ट्रक कन्टेनर व्यवसायी महासंघका अध्यक्ष तथा चिनियाँ सामग्री आयातकर्ता अर्जुन सापकोटा बन्दरगाह द्धिपक्षीय व्यापारको सेतु बन्ने बताउँछन्।

सबै तस्बिर :ध्रुव दङ्गाल

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App