जीवनयात्रा

‘देश ५० वर्ष पछाडि धकेलियो’

बुधबार, २५ बैशाख २०७६, १६ : ५९ विश्वमणि पोखरेल

विश्वमणि पोखरेल/प्रजु पन्त
अहिले कमल राणा विस्मृतिमा पुगेकी छन्। एक समय राजनीति र समाजसेवामा सक्रिय रहेकी ९३ वर्षीया राणासँग भलाकुसारी गर्न हामी विशालनगरस्थित सेन्ट्रल पार्कको सातौँ तला पुग्दा अध्ययनको उनको तलतल अझै नमेटिएको थाहा भयो। उनको हातमा ‘पहिलो संसदः बिपी–महेन्द्र टकराव’ पुस्तक थियो। वरिपरि नेपालको इतिहासबारे लेखिएका अन्य पुस्तक पनि छरपष्ट थिए।

हामीलाई स्वागत गरिसकेपछि छरपष्ट किताबतिर इङ्गित गर्दै उनले स्पष्टीकरणको शैलीमा भनिन्, ‘मलाई त उपन्यासभन्दा इतिहासका पुस्तकहरु मन पर्छन्।’

बिपी–महेन्द्र टकराव पढ्दा पढ्दा भने त्यही समयमा पुगेको र उहिलेका घटना याद आएको बताइन्।

उनको बैठक कोठामा ससुरा पूर्व प्रधानमन्त्री जुद्ध शमशेर, उनका श्रीमान् मीन शमशेर, छोरा अनुप शमशेर, बुहारी कञ्चन र नातिनीहरु विशाखा–शास्थाको तस्बिर लहरै टाँगिएका थिए।

राजनीतिको सम्झना
२०१५ सालमा नेपालमै पहिलो पटक संसदीय चुनाव भयो। नेपाली कांग्रेसले दुई तिहाई बहुमत ल्यायो र बिपी कोइराला प्रधानमन्त्री बने। त्यतिबेला पनि दुई वटा सदन थियो, उपल्लो सदनको रुपमा महासभा र तल्लो सदनको रुपमा प्रतिनिधि सभा। महत्त्वपूर्ण राजनीतिक पदमा कांग्रेसकै बोलवाला थियो। त्यतिबेला उपल्लो सदनको महासभामा राजा महेन्द्रबाट सदस्य मनोनित भएकी कमला शाह महासभाकी उपाध्यक्ष चुनिइन्। पछि पञ्चायतका बेलामा राष्ट्रिय पञ्चायतमा महिला संगठनका तर्फबाट सदस्य निर्वाचित भएकी थिइन्। प्रजातन्त्रपछि भने उनी राष्ट्रिय प्रजातन्त्र पार्टीको उपाध्यक्षका रुपमा जिम्मेवारी निर्वाह गरिन्।

यति सक्रिय कमल राणा भने यतिबेला विस्मृतिको गर्तमा छिन्। उनले धेरै कुरा बिर्सिइसकेकी छन्। खासगरी छोरा अनुप शमशेर राणाको निधनपछि उनको स्मृति हराउन थालेको छ।

भीरकोटे राजाकी छोरी
अहिलेको स्याङ्जा जिल्लामा पर्ने भीरकोटका राजा तारकबहादुर शाह र रानी मदनदिव्येश्वरी शाहको दोस्रो सन्तानको रुपमा १९८५ सालमा पाल्पाको तानसेनमा उनी जन्मिएकी थिइन्। त्यहाँ उनी जम्मा तीन वर्ष मात्र बसिन्। त्यसपछि भने काठमाडौँ आइन्। त्यतिबेला राणाको रोलक्रम नमिलेर देश छाडेर जाने चलन बढेको थियो। उनका हजुरबुबा प्रताप शमशेर राणा लगायत हिराण्डय शमशेर, सुर्वण शमशेरहरु पनि निर्वासित भएका थिए। त्यही बेलामा उनीहरु दार्जलिङमा गएर बसे र त्यहीँ पढे।

कमल १३ वर्षकी हुँदा परिवारसहित नेपाल फर्किइन्। त्यतिबेला काठमाडौँमा मात्र गाडी चल्थे। त्यो पनि भीमफेदीबाट मान्छेलाई गाडी बोकाएर ल्याउनुपथ्र्याे। ‘हामी त भीमफेदीबाट आउँदा ताम्दानीमा चढेर आउनुप-यो,’ त्यो उनले भनिन्, ‘सडक थिएन, त्यही भएर गाडीमा आउने कुरा भएन।’

काठमाडौँमा गाडीहरु त थिए तर सीमित राणाजीहरुका मात्र!

काठमाडौँमा आएपछि उनी कुनै स्कुल गइनन् तर घरमै उनका बाबुले पढ्न जोड दिए। दिउँसो ११ बजे देखि २ बजेसम्म बुबा र एक जना श्रेष्ठ थरका शिक्षकले घरमै पढाउँथे। अहिले आफूलाई पढाउने श्रेष्ठ थरका शिक्षकको नाम बिर्सिइन्। ‘बुबादेखि हामी धेरै डराउँथ्यौँ,’ उनले भनिन्, ‘उहाँले त छोरी मान्छेको अक्षर राम्रो हुन्छ भनेर प्वाँखले ऐनामा लेख्न लगाउनुहुन्थ्यो।’

त्यो बेला काठमाडौँको कालीमाटीमा रहेको घर यतिबेला पनि उनलाई झल्झली याद आउँछ। त्यहाँको घरको वातावरण निकै शान्त र रमणीय रहेको उनलाई घरिघरि सम्झना आइरहन्छ।

१५ वर्षको उमेरमा विवाह  
कमल घरकी जेठी छोरी थिइन् र उनको विवाह गर्ने उमेर भइसकेको उनको पिता तारकबहादुर शाहलाई लाग्यो। त्यसैले त्यो बेला मागी विवाह गराइदिए। ‘उस बेलामा पिताजीले जोसँग विवाह गर्ने भन्नुभयो, उसैसँग गर्नुपथ्र्यो,’ उनी भन्छिन्, ‘मैले त मेरा श्रीमान्लाई कुरा छिनेको दिनमा मात्र देखेकी हुँ।’ यति भनेर उनी मुस्कुराइन्।

उनको विवाह तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेरकी माइली श्रीमती कृष्णकुमारी शमशेरका कान्छा छोरा मीन शमशेरसँग भएको हो। अहिले नेपाल कमर्स क्याम्पस रहेको मीनभवन उनीहरुकै घरको केही भाग हो। उनी विवाह गरेर भित्रिएको घर पनि त्यही हो। ‘म विवाह गरेर गएपछि त मेरा श्रीमान् र म मात्रै थियौँ त्यो घरमा,’ उनी भन्छिन्, ‘अरु सदस्यको घर अरु नै ठाउँमा थियो। कहिलेकाहीँ मात्र भेट हुन्थ्यो।’

जुद्ध शमशेरका ६ जना पत्नीबाट जो जति सन्तान भए, तीमध्ये एककी बुहारी थिइन् कमल राणा ! त्यसैले जुद्ध शमशेर कहिलेकाहीँ मात्र झुल्किन भ्याउँथे।

हप्ताको एकचोटी सिहंदरबार
कमल र मीन शमशेरको विवाह हुँदा नेपालका प्रधानमन्त्री जुद्ध शमशेर नै  थिए। जुद्ध शमशेर हप्ताको एक पटक सिंहदरबार जान्थे। आफ्ना ससूरा जुद्ध शमशेर नरम स्वरले बोल्ने, सवारीबाट आएपछि घरमा को–को छन् भनी सोधखोज गर्ने र सबैको ख्याल राख्ने स्वभावको रहेको उनी सम्झन्छिन्।

‘उहाँले हामीलाई कहिल्यै नराम्रो भन्नुभएन,’ कमल सम्झन्छिन्, ‘हामीहरु कहिलेकाहीँ उहाँको निवासमा पुग्दा बुहारीहरु आएका छन्, खानेकुरा पठाइदेओ भन्नुहुन्थ्यो। ससूराकहाँ जानु त हामीलाई पिकनिक मनाउन गएजस्तै हुन्थ्इो । हामी रातभरि खाना खाँदै क्यारमबोर्ड खेलेर बिताउँथ्यौँ।’

कहिलेकाहीँ त खेल्दैखाँदै रातभरि रमाइलो गर्दा छर्लङ्गै रात बित्ने गरेको हिजैजस्तो लाग्छ उनलाई।

विवाह गरेको ५ वर्षपछि मात्र उनले अनुप शमशेरलाई उनले जन्माइन्। एक मात्र सन्तान अनुपको हृदयाघातको कारण केही वर्षअघि निधन भइसकेको छ। उनकी बुहारी र दुई नातिनी छन्। नातिनीहरुको पनि विवाह भइसकेको छ।

कांग्रेसमा आउन प्रस्ताव
२००७ सालमा प्रजातन्त्र आएपछि कमललाई पनि राजनीतिले तान्यो। ‘वुमन भोलिन्टेयर संस्था’ २००९ सालमा खुल्यो। त्यो संस्थाको उनी महासचिव भइन्। यो संस्थाले त्यतिबेला महिलाहरुलाई घरमा मात्रै सीमित गर्न नहुने, पढाउनुपर्ने जस्ता माग राखेर उनी डेलिगेसनमा जान्थिन्। यसै क्रममा डब्लुएचओको सहकार्यमा महिलालाई नर्स तालिम दिएका थिए। यो काम निकै प्रभावकारी भयो।
२०१५ सालमा संसदीय चुनाव भएपछि नेपाली कांग्रेसले बहुमत ल्यायो। महत्त्वपूर्ण पदमा कांग्रेसकै बोलवाला भयो। उपल्लो सदनमा राजाबाट मनोनित आधा हुन्थे। राजा महेन्द्रले नै उनलाई विश्वसभाको सदस्य चुनिइन्। गोर्खा परिषद् लगायतले राणालाई विश्वसभाको उपाध्यक्षमा उठ्न भन्यो। उनी राजी भइन्। कांग्रेसबाट अध्यक्षमा निर्वाचित भइसकेका थिए।

एक दिन बिहानै राणाको घरमा कांग्रेस नेता विश्वबन्धु थापा आइपुगे। थापाले राणालाई फकाउन थाले। ‘थापाले त मलाई कांग्रेसमा लाग्नु उपाध्यक्ष पक्का हो भने,’ राणा भन्छिन्, ‘विश्वबन्धु आएर दिनभरि बसे, खाना–खाजा खाए। उनले मलाई फकाउन छाडेनन्। मैले पनि सिधै भनिदिएँ, चुनावमा जस्तोसुकै परिणाम आओस्, भोग्न तयार छु तर कांग्रेस बन्दिनँ।’
कमलले त्यति भनिदिएपछि विश्वबन्धु त्यतिबेला त फर्र्किए तर पछिसम्म पनि कांग्रेसमा लाग्न उनलाई जोड दिइरहे। एक दिन कुराकानीकै क्रममा थापाले तपाईंले हार्नु हुन्छ, कम्युनिस्टले तपाईंलाई भोट दिँदैनन् भनेर तर्साएछन् तर कमल भने टसकोमस भइनछन्।

‘बरु विश्वेश्वर बाबुले अध्यक्ष हाम्रो भइहाल्यो, उपाध्यक्षमा छाडिदिऊँ भन्नुभएको थियो,’ राणा भन्छिन्, ‘विश्वबन्धुले ब्रह्मशमशेरलाई उठाएरै छाडे।’ विश्वसभाको उपाध्यक्षको चुनाव भयो। उनलाई कम्युनिस्टका एक मात्र सदस्य स्वयम्भुलाल श्रेष्ठले भोट दिएछन् र जितिन्। ‘त्यतिबेला कसले भोट दियो, कसले दिएन सबै थाहा हुन्थ्यो,’ राणा भन्छिन्, ‘संसद्मा हात उठाउने चलन थियो । अहिले जस्तो गोप्य पनि हुँदैनथियो। ढाँट्न पनि पाउँदैनथेँ।’

उदार विश्वेश्वर बाबु
‘ऊ यो किताब हेर्नु त,’ नजिकैको टेबलमा पत्रकार जगत नेपालले लेखेको ‘पहिलो संसद्ः बिपी महेन्द्र टकराव’ पुस्तक थियो। ‘यो पुस्तक पढिरहेकी छु,’ राणाले भनिन्, ‘आफ्नै आँखाअगाडि भएका ती घटना पढ्दा त्यही  दुनियाँमा पुगेजस्तो लाग्ने रहेछ।’

२०१६ सालमा उनी महासभाको उपाध्यक्ष चुनिइन्। त्यतिबेला उनी ३१ वर्षकी भइसकेकी थिइन् तर विश्वबन्धुले आफ्नो खोइरो खन्न भने छाडेनन् भनी कमलले गुनासो गरिन्। थापाले राणाको उमेरमा प्रश्न उठाएछन्, ३० वर्ष पुगेकै छैन भनेर हल्लीखल्ली मच्चाएछन्। प्रधानमन्त्री बिपी कोइरालाले कुरा बुझेछन्। पछि विश्वबन्धुलाई राणाकै अगाडि कोइरालाले झाँको झारेछन्। ‘बिपीले विश्वबन्धुलाई त्यो उमेरको कुरालाई लात मार्देऊ विश्वबन्धु, यो संसद् हो कसको उमेर कति कसको छोराछोरी कति भनेर चासो र चियो गर्ने ठाउँ होइन, आफ्नो काममा मात्र चासो दिनू भनेर झपार्नुभयो।’
कमल राणा भन्छिन्, ‘त्यसपछि थापाले उमेरको कुरा उठाएनन्।’

थापाले त उमेरको कुरा उठाएनन् तर ब्रह्मशमशेरले पनि विवाद गर्न भने छाडेनछन्। एकदिन भनेछन्, ‘कमल, तिमी त मेरो छोरी सरहको होइन्? कसरी ३० पुग्यौँ?’ कमलले सिधै भनिदिइछन्, ‘तपाईंलाई आफ्नै छोरीको उमेर त थाहा छैन, मेरो उमेर कसरी थाहा पाउनुहोला?’

त्यो बेला आफ्नो उमेरबारे किन त्यसरी विवाद उठाएका होलान् भन्ने सम्झँदा पनि उनलाई उदेक लाग्छ। उनलाई लाग्छ, ‘त्यो बेला संसद्को महासभामा एउटी महिला चुनिएको कुरा उनीहरुलाई मन परिरहेको थिएन।’

बिहान कलेज, दिउँसो संसद्
उनको विवाह सानैमा भयो। २०१५ सालमा प्राइभेट एसएलसी गरेकी उनी विश्वसभाको उपाध्यक्ष भएपछि मात्र नेसनल कलेजमा भर्ना भइन्। त्यतिबेला नेसनल कलेजका संस्थापक शंकरदेव पन्त थिए । यही कलेज पछि अहिले कमर्स क्याम्पस बन्न पुग्यो।

उनी बिहान कलेजमा र दिउँसो संसद् भवन जान्थिन्। एकदिन ब्रह्मशमशेरले कमललाई भनेछन्। ‘झण्डा भएको गाडी लिएर जान्छ्यौ होइन कलेज?’ खिस्सी गरेको सैह्य नभएपछि राणाले भनिदिइछन्, ‘तिमी भएको भए भट्टी जान्थ्यौ होला म त सरस्वतीको मन्दिर गएँ त के बिराएँ?’ यसपछि नाजवाफ भएका ब्रह्मशमशेरले केही बोलेनन्। ‘गणेशमानजी पनि त्यहीँ हुनुहुन्थ्यो, उहाँले यो भनाभन सुनेपछि फिस्स हाँसिदिनुभयो,’ राणा भन्छिन्, ‘त्यसपछि भने मलाई ब्रह्मशमशेरले खिस्सी गरेनन्।’

उनले मास्टर्स भने त्रिभुवन विश्वविद्यालयबाट २०२३ सालमा गरेकी हुन्। उनी क्याम्पस पढ्न जाँदा उनकी बहिनीले पनि पढ्न सघाउँथिन्। ‘मेरी बहिनी मभन्दा १० वर्ष कान्छी थिइन्,’ कमल भन्छिन्, ‘धन्न उनैले पढाएर मैले पढाइलाई पार लगाएँ। नत्र मलाई गाह्रो हुन्थ्यो होला।’

कमलले राजनीतिशास्त्रमा स्नातकोत्तर गरिन्। उनकी बहिनीले भने मनोविज्ञान पढाउँथिन्।

५० वर्ष धकेलिएको मुलुक
त्यतिबेला संसदमा के के गर्नुभयो त? हाम्रो प्रश्न पूरा नहुँदै उनले भनिन्, ‘तपाईंलाई थाहा छ? त्यतिबेला नै हामीले पैतृक सम्पत्तिमा समान हक भनेका थियौँ। आमाको नामबाट नागरिकता पाउने कुरा गरेका थियौँ। विश्वेश्वर बाबुले प्रतिनिधिसभाबाट पारित गराउने भन्नुभएको थियो तर हाम्रो दुर्भाग्य पुस १ गतेको परिर्वतनले सबै कुरा उड्यो।’

‘बिपी बाबु यति उदार हुनुहुन्थ्यो कि उहाँमा दुई तिहाइको घमण्ड रत्तिभर थिएन,’ उनले ती दिन सम्झँदै भनिन्, ‘महिला हुन् कि दलित हुन्, सबै समान हुन् भन्ने उहाँको धारणा थियो। मलाई अझै पनि लाग्छ, २०१७ सालको परिर्वतन नभएको भए मुलुक धेरै अगाडि बढिसक्थ्यो।’

२०१७ सालको राजनीतिक परिवर्तनपछि उनी फुर्सदमै रहिन्। २०२८ सालमा राष्ट्रिय पञ्चायतको चुनाव हुने भएपछि भने उनी सक्रिय भइन्। ‘महिला संगठनबाट जितेर आएँ,’ राणा भन्छिन्, ‘जुम्ला–हुम्लादेखिको भोट ल्याउनु पथ्र्यो । समयमा चुनाव नभएर १५/१६ जना हाम्रै घरमा बसेका थिए।’
राष्ट्रिय पञ्चायतको सदस्य जितेपछि उनले अर्काे महत्त्वपूर्ण निर्णय गराएको बताइन्। सरकारी विद्यालयमा एक जना महिला शिक्षिका अनिवार्य गर्नुपर्ने निर्णय गराइन् । यो कामले आफूलाई निकै सन्तोष दिने गरेको राणा बताउँछिन्।

नफेरिएको महिला अवस्था
अहिलेको र पहिलेको महिलाको अवस्थामा के फरक पाउनुहुन्छ? ९३ वर्ष पुगेकी उनी हिजोआज कम कान सुन्छिन्। उनलाई यो प्रश्न दोहो-याएर सोध्नुप-यो। ‘केको परिर्वतन हुनु नि? दृष्टिकोण अझै फेरिएको छैन,’ कमलाले भनिन्, ‘म एउटा उदाहरण दिन्छु। प्रभा बस्नेत सचिव थिइन्। उनलाई अरु स्टाफले दिदी भनेछन्। एकदिन त प्रभाले भनिदिइछन्, यही ठाउँमा पुरुष बसे सचिवज्यु अनि महिला बसे दिदी?’

महिलाहरुलाई अझै पनि मान्छेको दर्जा नदिएको उनले बताइन्। ‘अहिल नै त के परिर्वतन होला र?’ राणा भन्छिन्, ‘अझ सयौँ वर्ष लाग्ला सबै समान हुन त!’

२०४७ सालपछि पनि सोचाइमा परिर्वतन नआएको राणाले बताइन्। पुरुषवादी सोच नहटेको र महिलालाई जिम्मेवारी दिन अविश्वास गर्ने गरिएको उनले प्रत्यक्ष अनुभव गरेको बताइन्।

ऋषिकेश दाइ
उनका दाजु ऋषिकेश शाह हुन्। पञ्चायतका बेलाका चर्चित मन्त्री र अलि सचेत व्यक्ति भएकाले दाजु र बहिनीबीच राजनीतिका कुरा हुने राणाले बताइन्। ‘आमालाई राजनीति फिट्टिक्कै मन नपर्ने, हाम्रो भने सधैँभरि त्यही कुरा भइरहने हुन्थ्यो। बुबा पनि सधैँ सक्रिय हुनुहुन्थ्यो।’

उनले दाजु ऋषिकेश शाहसँगको एउटा रमाइलो कुरा सुनाइन्। भएछ के भने, पञ्चायत कालमा नै अन्य ठाउँका राजा नरहने व्यवस्था भएछ। ऋषिकेशले लौ हामीले त यस्तो निणर्य ग-यौँ भनेछन्। ऋषिकेश पनि त्यही कमिटीमा थिए। ‘अरुहरुले आफ्नै सत्ता हल्लाएर आएछौ त भनेर उल्याएछन्,’ राणा भन्छिन्, ‘आफ्नो राजा हुने पद गुमाए पनि दाजु भने खुसी हुनुहुन्थ्यो।’

कहिले नरिसाउने श्रीमान्
उपरथी भएर अवकाश पाएका कमलका पति मीन शमशेरको निधन भएको निकै भइसकेको छ। उनी राजनीति गर्दा गाउँगाउँमा डुल्थिन्। त्यसो हुँदा पनि मीन शमशेरले कहिल्यै उनलाई गाउँ डुल्न र राजनीति गर्न बाधा गरेनन्। ‘उहाँले त मलाई जे काममा पनि सपोर्ट गर्नुभयो,’ उनले भनिन्, ‘महिला सगंठनमा लागेको बेलामा त आधा रातसम्म काममै हुन्थेँ। उहाँको त्यो सपोर्ट नभएको भए आफूले काम गर्नै सक्थिनँ नि!’

जिल्ला–जिल्लाको भ्रमण गर्दा उनले आफू गोडा र घोडामा डुलेको बताइन्। यसरी आफू ४६ जिल्लाको भ्रमण गर्न पाएकामा यतिबेला सन्तोष लागेको उनी बताउँछिन्। ‘आफैँ जन्मेको जिल्ला पाल्पामा पनि गएँ,’ राणाले भनिन्, ‘त्यहीँ पढाएर बस्ने मन थियो तर मिल्दै मिलेन।’

युवाले सधैँ सक्रिय हुनुपर्ने राणाले बताउँछिन्। छोरा अनुपविक्रमको २०५५ सालमा निधन भएपछि भने उनी शोकले त्यत्तिकै सिद्धिनु भन्दा सक्रिय हुनु राम्रो ठानेर राप्रपाबाट राजनीति गर्न थालिन्। केही समय उनी गुर्खाज फाइनान्सको चेयरम्यान पनि रहिन्।

टेबल टेनिस मोह
राणालाई सानैदेखि खेलमा रुचि थियो। उनले घरपरिवारसँग टेबल टेनिस खेलिन्। उनको यो खेल यात्रा परिवारसँग मात्र सीमित रहेन। कलकत्ता गएर सिकिन् पनि। राष्ट्रिय खेलाडी भएर चीनमा पहिलो पटक नेपालको प्रतिनिधित्व पनि गरिन्। तर त्यो बेला आफूले खेल जित्न नसकेको र खिन्न भएको सुनाइन्।

हिजोआज उनी ९३ वर्षको उमेरमा पनि दैनिक ७ बजे उठ्छिन्। ८ बजेसम्म ब्रेकफास्ट  लिइसक्छिन्। त्यसपछि उनी केहीबेर पूजापाठ गर्छिन्। समय काट्नका लागि केहीबेर पुस्तक पढ्छिन्। धन्न यतिञ्जेलसम्म आफ्ना आँखाले धोका नदिइसकेकोमा उनी कृतज्ञ छिन्। यसपछि मात्र उनी कोही भेटघाटका लागि आएकाहरुसँग भेट र कुराकानीमा व्यस्त हुन्छिन्।

हामीले राणालाई सोध्यौँ, अहिलेको व्यवस्था कस्तो लाग्दैछ? ‘त्यो त समयअनुसार परिर्वतन हुने हो,’ राणाले भनिन्, ‘मलाई त राम्रै लाग्दैछ।’

यस्तोमा उनले केही सोचेजस्तै गरी भनिन्, ‘मैले राजनीति गर्ने भए पूर्व राजा ज्ञानेन्द्रलाई  चुनाव लड्न सुझाव दिएकी थिएँ। किनभने जनताको सेवा गर्न चाहने मान्छे चुनावबाट डराउनु हुँदैन।’








यसमा तपाईको मत

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad