coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

स्वास्थ्यचौकीमा ‘सफ्टवेयर’बाट तथ्यांक संकलन

सफ्टवेयर उद्घाटन गर्दै बागलुङ नगर प्रमुख जनकराज पौडेल। तस्बिरः नागरिक

बागलुङ– जिल्लाको नारायणस्थानको स्वास्थ्यचौकीले स्थानीयको तथ्यांक अपडेट गर्न सफ्टवेयर सञ्चालनमा ल्याएको छ। बागलुङ नगरपालिका–१४ को नारायणस्थान स्वास्थ्यचौकीले यो प्रविधि प्रयोगमा ल्याएको हो। सफ्टवेयरले नारायणस्थानका चार हजार सात सयजनाकोे व्यक्तिगत स्वास्थ्य अवस्थाबारे तथ्यांक राख्ने बताइएको छ।

सफ्टवेयरमार्फत बालबालिकाले खोप लगाए/नलगाएको, पोेषणको अवस्था, गर्भवती तथा कुपोषित महिलाको अवस्था, परिवार नियोजनको अवस्था, मधुमेह, उच्च रक्तचाप, मिर्गाैला रोग, क्यान्सर, उमेरअनुसारको जनसंख्या आदिको विवरण तुरुन्तै निकाल्न सकिनेछ।

सफ्टवेयरले प्रत्येक महिला तथा पुरुषको स्वास्थ्य अवस्थाको जानकारी गराउने बताइएको छ। ८० हजार रुपैयाँ लागतमा निर्माण गरिएको सफ्टवेयरका लागि बागलुङ नगरपालिकाले ४० हजार रुपैयाँ र वडा कार्यालयले ४० हजार रुपैयाँ विनियोजन गरेको हो।

सफ्टवेयरको उद्घाटन गर्दै बागलुङ नगर प्रमुख जनकराज पौडेलले अब सबै क्षेत्र प्रविधिमैत्री भएर अगाडि बढ्नु जरुरी रहेको बताए। ‘स्वास्थ्य चौकीले स्थानीय स्तरमै सफ्टवेयर निर्माण गरी प्रत्येक जनताको स्वास्थ्य अवस्था जानकारी राख्नु एउटा नमुना काम भएको छ,’ उनले भने, ‘आगामी वर्षहरूमा यस प्रविधिलाई पालिकाका अन्य स्वास्थ्य संस्थाहरूमा समेत लागू गराउन हामीले प्रयास गर्नेछौं।’

बागलुङ नगरपालिका र मातहतका निकायको सेवा प्रवाहलाई पनि प्रविधिमैत्री बनाउँदै छिटोछरितो बनाउने प्रयासमा रहेको पौडेलले बताए। सामाजिक विकास समितिका संयोजक गणेश थापाले महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य आमा समूह, स्वास्थ्य चौकी, वडा कार्यालय, नगरपालिका सबैको चासो र अथक प्रयासमा सफ्टवेयर निर्माण गर्न सफल भएको बताए।

उनले ‘सफ्टवेर’को प्रभावकारी सञ्चालनका लागि स्वास्थ्य आमा समूह र स्वयंसेविका तथा स्वास्थ्य संस्थालाई प्रोत्साहन कार्यक्रम ल्याउने उल्लेख गरे। भर्चुअल टेक्नोलोजीका निर्देशक सविन शर्माले सफ्टवेरका विशेषताको बारेमा जानकारी गराए। सफ्टवेयरको बारेमा स्वास्थ्यचौकी प्रमुख ऋषिराम शर्माले जानकारी गराए।

नगर स्वास्थ्य शाखाका सिनियर अहेब सोमराज पाण्डेले स्वास्थ्य चौकी नगरकै नमुनाको रूपमा अगाडि बढेकाले स्वास्थ्य चौकीका हरेक गतिविधि पालिकाबाट सहयोग गरेको र आगामी वर्षमा पनि गरिने विश्वास दिलाए। कार्यक्रममा वडाका १६ वटा स्वास्थ्य आमा समूह र चार बालविकास केन्द्रलाई स्वास्थ्य सामग्री वितरण गरिएको छ। सामग्रीले पाँच वर्षमुनिका बालबालिकाको वृद्धि अनुगमन समुदाय स्तरबाट नै गर्न सकिने भएकाले वृद्धि अनुगमनको प्रतिशतलाई बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

स्वास्थ्यचौकी व्यवस्थापन समितिका सदस्य महिला स्वयंसेविका धनादेवी शर्माले स्वास्थ्य चौकीले जनताको स्वास्थ्यका लागि सफ्टवेयर बनाएकाले आफूहरूलाई काम गर्न सहज हुने धारणा व्यक्त गरिन्। समुदायस्तरमा राम्रो काम गरेकाले स्वास्थ्यचौकी व्यवस्थापन समितिले १६ जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान छ।

स्थानीयको स्वास्थ्य अवस्थाको दुरुस्त लागत राख्न र सेवा प्रवाहलाई सहज र सरल बनाउनका लागि सफ्वेयरको निर्माण गरिएको वडाध्यक्ष एवं स्वास्थ्यचौकी व्यवस्थापन समिति अध्यक्ष चक्रबहादुर खत्रीले बताए।

 

प्रकाशित: २५ वैशाख २०७६ ०८:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App