coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

जसले अलैंची रोप्दा राजकाज मुद्दा खेप्नुपर्‍यो

खोटाङ – ‘अलैंचीका पिता’कारुपमा सम्मानित खोटाङको बाँझेच्यानडाँडा–९ मबु, डाँडाखर्कका किसान पर्खनबहादुर राईको निधन भएको छ। परम्परागत कृषि प्रणालीलाई परिमार्जन गर्दै जिल्लामा आधुनिक र व्यवसायीक कृषि खेतीको सुरुवातमा योगदान पुर्‍याएका राईको ९१ वर्षको उमेरमा निधन भएको हो। बुबा अम्बरबहादुर राई र आमा जमुना राईको कोखबाट १९८२ साल कार्तिक १३ गते जन्मिएका पर्खनबहादुरको शनिबार आफ्नै निबासमा निधन भएको नाती संग्राम राईले बताए। पर्खनबहादुर नौ दिदीका एक्लो भाई हुन्।

बुढौली अवस्थामा पुगेपछि राई बिगत तीन/चार वर्ष यता ओछ्यानमै थलिएका थिए। उनको आईतबार परम्परा अनुशार गाउँमै दाहसंस्कार गरिएको पारिवारले जनाएको छ। उनको मृत्युले जिल्लाले कृषि क्षेत्रको अभिभाबक गुमाएको छ।

जिल्लामा पहिलोपल्ट अलैँची, चिया, बिभिन्न प्रजातीका फूल खेती तथा माछा पालन गरेर उनले प्रसिद्धि कमाएका हुन्। अलैंची र चिया रोप्न, माछा पाल्न नपाइने जमानामा व्यवसायीक कृषि खेती गर्ने जमर्को गरेकामा उनले राजकाजी मुद्दा खेपेका थिए। रातका समयमा लाल्टीन बालेर कुलो खनेको, बगैँचा हेरचाह गर्ने गरेको, कोदो, मकै गोडमेल गर्ने पर्खनबहादुरको जाँगरको विषयमा अहिले पनि जिल्लामा चर्चा हुने गरेको छ । पहिलोपल्ट अलैंचीको व्यवसायीक खेती सुरु गरेकै कारण उनलाई ‘अलैंचीका पिता’कारुपमा सम्मान गर्ने गरिएको हो।

खोटाङमा पहिलोपल्ट अलैँची रोपेकामा राईमाथि बि.सं. १९९५ सालमा,  चिया रोपेकामा १९९७ सालमा र पोखरी बनाएर माछा पालन गरेकामा १९९९ सालमा राजाकाजी मुद्दा परेको थियो। राजाकाजी मुद्दामा मुक्त हुनकालागि उनले भोजपुर गोस्वाराका तत्कालिन बडाहाकिम भक्तबहादुर खड्काको भट्मास कुट्नु परेको थियो। उनले आफ्नो जोवन अलैंची, सुन्तला, नासपाती, आरु, चिया, हलुवाबेदजस्ता फलफूल रोप्न र गोडमेल गर्नमै बिताए । उनले लगाएको लप्सी, ओखर, फलाँट, हात्तीपाईले, सल्ला, बोहोरीका बिरुवा हुर्केर अहिले डाँडाखर्क बन बनेको छ । उनको मेहनत देखेर नेपाल सरकारले राईलाई २०४४ सालमा चितवन, पोखरा, जनकपुर, हेटौडा, बीरगञ्जलगायतका ठाउँमा कृषि राष्ट्रिय भ्रमण गराएको थियो । त्यसको लगत्तैको जापान, थाईल्यान्ड र भारत भ्रमण भने श्रीमती पञ्चहिराको मृत्युका कारण छुटेको थियो।

खोटाङ, भोजपुर, उदयपुर र सोलुखुम्बु क्षेत्रमा उन्नतखेती गर्न र गराउन अग्रणी भूमीका खेलेको भन्दै खोटाङ सेवा समाज काठमाडौंले २०६४ सालमा पर्खनबहादुरलाई नमूना र सफल कृषककारुपमा अभिनन्दन गरेको थियो । २०६३ सालमा कृषि तथा सहकारी मन्त्रालयले राईलाई नेपालकै अलैंचीका पिताकारुपमा पुरस्कृत गरेको थियो भने, २०६५ मा जिल्ला विकास समिति खोटाङले पनि नमूना र अगुवा कृषककोरुपमा राईलाई अभिनन्दन गरेको थियो।

प्रकाशित: ७ कार्तिक २०७३ ०८:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App