coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

बोरा बोकेर पढ्न जान्छन् विद्यार्थी

जलेश्वर–१० सारीस्थित अभिनन्दन आधारभूत विद्यालयको जर्जर अवस्था। तस्बिरः महेशकुमार दास/नागरिक

महोत्तरी– निजी र धेरै सामुदायिक विद्यालयले पनि आफ्नै पहलमा सुविधासम्पन्न कक्षाकोठा बनाइसकेका बेला महोत्तरी सदरमुकामकै एउटा आधारभूत विद्यालयका विद्यार्थी भने घरबाटै बोरा बोकेर पढ्न जान्छन्। स्कुलमा बस्ने सुविधा नहुँदा उनीहरू आफू बस्न घरबाटै केही न केही जोहो गरेर जान्छन्।

जलेश्वरको वडा नं. १२ सारीस्थित अभिनन्दन आधारभूत विद्यालयको अवस्था ज्यादै निम्छरो छ। यस्तो दयनीय अवस्था रहेको विद्यालयमा पढ्छन् दलित, गरिब र अति विपन्न समुदायका करिब १ सय विद्यार्थी। विद्यार्थीलाई धूलो माटोमै बसेर पढ्नुपर्ने बाध्यता छ। हेर्दै खण्डहर जस्तो, कोठामा न झ्याल छ न ढोका। परिसरभर जताततै इँटा रोडा छरिएको छ। छेउछाउमा घाँसपात उम्रेको छ। दुई वटा कोठामा झ्याल ढोका नभए पनि भुँइ भने पक्की छ । अर्को दुई वटा कोठा अहिले निर्माणाधीन छ।

पहिल्यैदेखिको दुई वटा कोठामध्ये एउटा कोठामा कार्यालय सञ्चालन गरिएको छ भने अर्काे एउटा कोठामा बालविकासको कक्षा सञ्चालन गरिन्छ। बाँकी रहेको एउटा कोठा कामै नलाग्ने अवस्थामा रहेकाले त्यो कोठामा पुराना इँटाहरू थुपारेर राखिएको छ।

कक्षा १ देखि कक्षा ५ सम्मका बालबालिकालाई अहिले पनि घरबाट जुट र प्लाष्टिकको बोरा लिएर पढ्न आउने बाध्यता छ। कक्षाकोठाभित्र टुटे फुटेको दुई वटा बेन्च र एउटा बेन्चमा इँटा हालेर बस्न लायक बनाएर राख्नुबाहेक अरु केही छैन। वर्षौंदेखि बालबालिकालाई पढाउने ब्ल्याकबोर्डसमेत थिएन। केही दिन पहिले मात्र सो विद्यालयको दुई वटा कक्षाकोठामा ब्ल्याकबोर्ड निर्माण भयो। अभावै अभावबीच कक्षा सञ्चालन गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको विद्यालयका प्राधानाध्यापक हैदर अन्सारी बताउँछन्।

विद्यालयमा शिक्षकको समेत अभाव रहेको पनि उनले सुनाए। दुई जना स्थायी शिक्षक, एक जना बालविकासको शिक्षक र एक जना कार्यालय सहयोगीको भरमा विद्यालयमा कक्षा ५ सम्मको कक्षा सञ्चालन गरिरहनु परेको अन्सारीले बताए।

भवन र शिक्षक अभाव रहेका कारण दुई वटा कक्षालाई एउटै कोठामा राखेर एकै जना शिक्षकले पढाउँदै आएका छन्। अस्तव्यस्त विद्यालयमा न कहिल्यै घण्टी लाग्छ न कहिल्यै प्रार्थना हुन्छ। विद्यालयको भौतिक संरचना र शिक्षक अभाव भएकै कारण चाहेर पनि पठन पाठनको अवस्था सुधार्न नसकिएको प्रअ अन्सारी बताउँछन्। उनी थप्छन्, ‘पठनपाठनको वातावरण भए पो विद्यार्थी संख्या बढछ।’

विद्यार्थी भर्ना अभियान सञ्चालन हुँदा विद्यार्थी भर्ना त हुन्छ तर पढ्ने वातावरण नै नहुँदा केही दिनमै विद्यार्थी विद्यालय आउन छाड्ने अन्सारीको भनाइ छ। विद्यालयमा विद्यार्थी टिकाउनै मुस्किल छ। अभिनन्दन आधारभूत विद्यालयमा अहिले ९६ जना मात्र विद्यार्थी छन्। कक्षा एकमा २२ जना, कक्षा २ मा २२ जना, कक्षा ३ मा ९ जना, कक्षा ४ मा १४ जना, कक्षा ५ मा १५ जना र बालविकासमा १५ जना विद्यार्थी मात्रै नियमित रुपमा आउने गरेको विद्यालय प्रशासनको भनाइ छ।

अभिभावक रामपदार्थ दासले अन्य ठाउँमा अंग्रेजीमा कक्षा सञ्चालन भइसकेको अवस्थामा आफ्नो विद्यालयमा अहिलेसम्म अंग्रेजी कक्षा सञ्चालन हुन नसक्नु ज्यादै नै दुःखद् रहेको अनुभव सुनाए। अहिले आएर विद्यालयमा खाजा कार्यक्रम सञ्चालनमा आएको सुनेर खुसी लागे पनि आफ्नो बालबालिकालाई चाउचाउ, बिस्कुटजस्ता जंक फुड खुवाइने गरेकोले सो कार्य तत्काल बन्द हुनुपर्ने माग उनको छ।

अभिभावक हसिना खातुनले अधिकांश गरिब र विपन्न समुदायको बालबालिका यस विद्यालयमा पढ्न आउने गरेकोले सबैले विद्यालयलाई हेला गर्ने गरेको गुनासो गरिन्। सरकारले स्कुल ड्रेस, किताब र छात्रवृत्ति दिए पनि सो अपुग रहेकोले थप सहयोग विद्यालयमा दिनुपर्ने आग्रह उनले गरिन्।

प्रकाशित: २५ वैशाख २०७६ ०६:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App