६ वैशाख २०८१ बिहीबार
अन्य

त्रियुगा बसपार्क सुविधा सम्पन्न हुँदै

स्तरोन्नति गर्न लागिएको गाईघाटस्थित त्रियुगा बसपार्क। तस्बिरः महेश्वर/नागरिक

संघीय सरकारमार्फत २७ करोड लागतमा स्तरोन्नति
उदयपुर– उदयपुर सदरमुकाम गाईघाटस्थित साविक त्रियुगा बसपार्कलाई आधुनिक र सुविधा सम्पन्न बनाउन स्तरोन्नति गर्न लागिएको छ। संघीय सरकारको लगानीमा सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय सप्तरीले आधुनिक उपकरणयुक्त, सुविधायुक्त भवन, यात्रुमैत्री प्रतीक्षालय, व्यवस्थित र हरियालीसहितको आकर्षक  बसपार्क बनाउन लागेको हो।

आधुनिक बसपार्क निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेर चालु वर्ष नै काम थाल्न लागेको सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय सप्तरीले जनाएको छ। आयोजना कार्यालय राजविराजका कार्यालय प्रमुख (डिई) रमेश थिङका अनुसार बसपार्क स्तरोन्नति निर्माणमा २७ करोड लागतको वहुवर्षीय योजना सञ्चालन गरिने छ। त्यसको प्राविधिक इस्टिमेट तयार भइसकेको र चालु आर्थिक वर्ष १ करोड ५० लाख खर्च गर्न टेण्डर आह्वान भइसकेको छ।

टेण्डरमार्फत ठेकेदार कम्पनी किटान गरी कामको जिम्मा दिने प्रक्रिया अघि बढिसकेको डिई थिङले बताएका छन्। उनका अनुसार बसपार्क निर्माणको टेण्डर आह्वान भइसकेको तर, ठेकेदार चयन गर्न भने बाँकी छ। यसैसाता टेण्डर खोलेर ठेकेदारको टुंगो लगाउँदै जेठ लागेलगत्तै निर्माण प्रक्रिया अघि बढाइने उनले बताएका छन्।

गाईघाटमा ०४५ सालदेखि यातायात सेवा सुरु भए पनि बसपार्क अभावमा बजारका सडकमै पार्किङ गर्नुपर्ने समस्याबाट विगत दशकयता नगरपालिकाको १२ नं. वडास्थित त्रियुगा नदीको पक्की पुलसँगै जोडिएको ४ बिघा क्षेत्रफल जमिनमा बसपार्क सारिएको हो। नदी किनारको ऐलानी जमिन पुरेर सञ्चालनमा ल्याइएको बसपार्क भौतिक पूर्वाधार अभावमा अहिलेसम्म काम चलाऊ मात्र छ। गत वर्ष १ करोड रुपैयाँको लागतमा फलामे यात्रु प्रतीक्षालय (सेड) र पश्चिम दक्षिणतर्फ नाला निर्माण गरिएबाहेक अन्य आवश्यक केही संरचना छैन।

तत्कालीन हिमाली यातायात व्यवसायी संघ र त्रियुगा नगरपालिकाले बसपार्कस्थलमा निर्माण गरेको २ वटा सामान्य टहरामा बुकिङ काउन्टर खोलेर सार्वजनिक शौचालयबाहेक अन्य संरचना केही नभएको बसपार्कमा गत वर्ष डिभिजन कार्यालयद्वारा निर्मित सेड र नाला मात्र सरकारी लगानीका संरचना हुन्। सवारी चाप र जनघनत्व बढ्दै गएपछि बसपार्कलाई व्यवस्थित र आधुनिक बनाउन डिभिजन सहरी कार्यालयले कार्यक्रम अघि बढाउँदै बजेट प्रस्ताव गरेको थियो। सोहीअनुसार गत वर्ष नै डिपिआर बनाउन लागेको डिभिजनले चालु वर्षदेखि सघन सहरी तथा भवन निर्माण आयोजनामार्फत योजना अघि बढाएको हो।

दिनहुँ कम्तीमा ८ सयदेखि एक हजार हाराहारी ठूला–साना सवारी साधनको जमघट र आउजाउ हुने त्रियुगा बसपार्कलाई आधुनिक सहरमा हुनुपर्ने बसपार्कको स्वरुप दिन लागिएको हो। आधुनिक र सभ्य सहरको सूचकको रुपमा व्यवस्थित र सुविधासम्पन्न बसपार्क अनिवार्य शर्त रहेकाले स्तरोन्नति गर्न लागिएको आयोजना कार्यालयको भनाई छ। डिई थिङका अनुसार आधुनिक सहरको सूचकमध्ये सुविधायुक्त बसपार्क बन्नुपर्ने भएकाले बसपार्कको स्तरोन्नति निर्माण कार्य थालिएको हो। गाईघाट ‘स्मार्ट सिटी’ घोषित सहरमध्येको एक भएकाले आधुनिक र सुविधासम्पन्न बसपार्क अपरिहार्य रहेको उनी बताउँछन्।

स्मार्ट सिटी बनाउने योजनाअन्तर्गत ‘एक सहर एक पहिचान’ कार्यक्रमको कार्यान्वयन पनि यसै वर्षदेखि सुरु भइरहेको डिई थिङले बताए। एक सहर एक पहिचान कार्यक्रम पनि यसै वर्षदेखि कार्यान्वयन सुरु भएको छ। व्यवस्थित बसपार्क बनाउने योजना पनि सहर पहिचान कार्यक्रमसँगै जोडिएको कार्यालयको भनाइ छ।

आयोजना कार्यालयका फिल्ड इन्जिनियर ब्रह्मदेव चौधरीले चालु आर्थिक वर्षको कार्यक्रमअन्तर्गत बसपार्कमा आधारभूत भौतिक संरचना निर्माण थालिने छ। यात्रुलाई बस पर्खन फलामे सेडसहितको आधुनिक प्र्रतीक्षालय निर्माण गरिने छ भने फूलबारीसहितको हरियाली बगैंचा बनाइने छ। समय सूचक घडी राख्न घण्टाघर, टर्मिनल भवन, व्यवस्थित टिकट काउन्टर पनि निर्माण गरिने इन्जिनियर चौधरीले बताए। त्यस्तै बसलाई व्यवस्थित गर्ने पार्किङ सेड, सुरक्षित रुटआउट लाइन, माइकिङसहितको अडियो नागरिक ध्वनि, सुरक्षाकर्मी पोष्ट आदि संरचनाहरू निर्माण गरिने छ। ठूलठूला अन्य संरचनाहरू आगामी वर्ष निर्माण गरिने उनको भनाइ छ।

प्रकाशित: २५ वैशाख २०७६ ०६:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App