coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

एक वर्षमै उप्कियो कालोपत्रे

दाङको घोराहीदेखि रोल्पाको होलेरी जोड्ने सडक। कालोपत्रे गरेको एक वर्ष नपुग्दै सडक ठाउँठाउँमा भत्किएको छ।तस्बिरः दिनेश/नागरिक

रोल्पा– सहिदमार्गका नामले चिनिने दाङको घोराहीदेखि रोल्पाको होलेरीसम्म पुग्ने सडकमा गरिएको कालोपत्रे एक वर्ष नपुग्दै उप्किएको छ। साढे ३१ किलोमिटर उक्त पहाडी सडकको कालोपत्रे उप्किएपछि दर्जनौं स्थानमा खाल्डाखुल्डी पर्दा यात्रा कष्टकर बन्न पुगेको छ। शील प्यासेफिक ज्वाइन्ट भेन्चर कम्पनीले ४० करोड ८३ लाख रुपैयाँमा सो सडक कालोपत्रे गर्ने जिम्मा पाएको थियो।

‘यो सडकमा भारतीय एक्जिम बैंकको ऋण सहयोगमा कालोपत्रे गरिएको हे। हाम्रो कार्यालय मातहतको सडक भए पनि निर्माणसँगै सबै कुराको जिम्मा सडक सुधार विकास आयोजनाले लिएको छ’, सहिदमार्ग सडक योजनाका प्रमुख साधुशरण पूर्बेले भने, ‘कालोपत्रे गरिएको एक वर्षसम्म बिग्रिए–भत्के ठेकेदार कम्पनीले मर्मतको जिम्मा लिएको हुन्छ। यो सडक हामीलाई हस्तान्तरण भएको छैन। समग्रमा यो कालोपत्रेसँग म पनि सन्तुष्ट छैन।’

सडक सुधार विकास आयोजनाले भने सडक निर्माणको जिम्मा सहिदमार्ग सडक आयोजनाको भएको बताएको छ। ‘नीतिगत कुरा हो भने छलफल गरौं होइन भने योजनाको सबै जिम्मा उता (सहिदमार्ग सडक योजना) कै हो’, फोन सम्पर्कमा सडक सुधार विकास आयोजना प्रमुख सुनिलबाबु ढकालले भने, ‘सहिदमार्ग सडक योजना कार्यालयका साथीहरू पन्छिन मिल्दैन। सडकको जिम्मा र त्यसको जबाफ उहाँहरुले नै दिनुपर्छ।’

दर्जनौं स्थानमा कालोपत्रे उप्किएर खाल्डा परेपछि यो सडक कच्चीभन्दा पनि कमसल बन्न पुगेको छ। कार्यालयका अनुसार होलेरीस्थित सिमेन्ट कारखानालाई चाहिने कच्चा पदार्थ क्षमताभन्दा बढी बोकेर गुड्ने टिपरका कारण कमसल कालोपत्रे नटिकेको हो। सहिदमार्ग सडक योजना प्रमुख पूर्वे भन्छन, ‘दस टन क्षमताको यो सडकमा ३० टनसम्म ढुंगाा बोकेर टिपर हिँड्छन। अनि कसरी पिच टिक्छ। सिमेन्ट कारखानाले वैकल्पिक सडक नखन्ने हो भने सुधार हुँदैन।’

रोल्पा र दाङका सिडिओलाई ओभरलोड बोक्ने टिपरलाई नियन्त्रणमा लिएर कारबाही गर्न अनुरोध गर्दा चासो नदिएको पूर्बे बताउँछन्। ‘धेरै ठाउँमा मौखिक लिखित अनुरोध गरिएको छ। दैनिक दर्जनौं टिपर ओभरलोड बोकेर हिँडिरहेका छन् तर रोक्न् कसैले चासो दिँदैनन्।’ रुन्टीगढी गाउँपालिका होलेरीले पनि सडक सुधारमा कसैले चासो नदिएको जनाएको छ। ‘टिपर ओभरलोड बोकेर हिँडिरहेका छन्। स्थानीय प्रशासनले कुनै चासो दिँदैन,’

रुन्टीगढी गाउँपालिका अध्यक्ष बालाराम बुढाले भने, ‘अब स्थानीय तह नै अलि कडा हुनुपर्ने बेला भएको छ।’

सडक कालोपत्रे गरेको कम्पनीका ठाकुर कँडेलले सिमेन्ट कारखानाका टिपरका कारण कालोपत्रे उप्किरहँदा आफू दिक्क भएको बताए। ‘सिडिओको रोहबरमा भएको बैठकमा सिमेन्ट कारखानाका प्रतिनिधिले टिपरलाई ओभरलोड बोक्न नदिने भनेर कागज गरेका थिए तर त्यो कार्यान्वयन भएन। हामीले स्थानीय तहलाई पनि सडकमा क्षमताभन्दा बढी गाडी गुड्न रोकिदिनुस् भन्यौं तर सुनुवाइ भएन,’ कँडेल भन्छन्, ‘मन्त्रालयले यातायात व्यवस्थापन कार्यालयलाई अनुगमन गर्नु र ओभरलोड बोक्न नदिनु भनेर पत्राचार गरेको भए पनि कतैबाट सडक जोगाउन पहल गरिएन।’

ओभरलोडका टिपरकै कारण कालोपत्रे उप्किएको निर्माण कम्पनीको भनाइ छ। ‘१० टन क्षमताको सडकमा २५/३० टन बोकेर टिपर दौडेका छन्। हामीलाई दिइएको डिजाइन मापदण्डअनुसार सडक बनाएका छाैं। क्षमताभन्दा बढी भारका टिपर गुडेपछि कसरी टिक्छ सडक। टिक्न त टिक्दैन तै पनि अब अन्तिम एकपटक मर्मत गर्छौं’ निर्माण व्यवसायी कँडेलले भने।

सडक बनाइए पनि वातावरण जोगाउन कुनै काम गरिएको छैन। सडकको दुईतिर बिरुवा रोप्नुपर्ने भए पनि बजेट अभाव भन्दै रोपिएको छैन। दर्जनाैं स्थानमा पहिरो खसेर जोखिम बढेको छ। यो सडकलाई होलेरी, घर्तीगाउँ, थबाङ, हुँदै रुकुमसम्म पु-याउने योजना छ।

प्रकाशित: २५ वैशाख २०७६ ०४:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App