८ वैशाख २०८१ शनिबार
राजनीति

अध्यक्ष मण्डल हटाउँदै राजपा

काठमाडौं– कार्यकर्ताको व्यापकको विरोधपछि राष्ट्रिय जनता पार्टी (राजपा) ले अध्यक्ष मण्डल हटाउने गरी नयाँ विधान ल्याउने तयारी गरेको छ।

अध्यक्ष मण्डलका कारण निर्णय प्रक्रियामै समस्या देखिएको भन्दै कार्यकर्ताले अध्यक्ष मण्डल हटाउने तयारी गरेको हो।

गत बैशाख १३ गते पार्टी सहअध्यक्ष लक्ष्मणलाल कर्णको संयोजकत्वमा बनेको विधान मस्यौदा समितिले अध्यक्ष मण्डल हटाउने व्यवस्थासहित विधान ल्याउन लागेको हो।

पार्टीको सबै तहमा अध्यक्ष मण्डल हुँदा सधैँ विवाद हुने भन्दै कार्यकर्ताले विरोध गरेका थिए। विधान मस्यौदा समितिले महाधिवेशनपछि अध्यक्ष मण्डल हटाउने गरी गृहकार्य गरिरहेको विधान मस्यौदा समितिका सदस्य केशव झाले बताए।

‘हामीले अध्यक्ष मण्डल हटाउने सहमति गरी सक्यौं। अब आउने महाधिवेशनपछि पार्टी एकल अध्यक्ष प्रणालीअनुसार अघि बढ्छ’, उनले भने, ‘अहिले नै अध्यक्ष मण्डल हटाउने निर्णय गर्यौं भने त पार्टी नै विगठन हुने अवस्थामा पुग्छ।’

राजपाले विधान संशोधनका लागि यसअघि पनि समिति बनाएको थियो। उक्त समितिले पनि अध्यक्ष मण्डल हटाउने गरी विधान तयार गर्दै अध्यक्ष मण्डललाई बुझाएको थियो। तर अध्यक्ष मण्डलले भने मस्यौदा समितिले तयार गरेको विधान उल्ट्याएको थियो। उक्त समितिले तयार गरेको विधान मस्यौदामाथि अध्यक्ष मण्डलका सदस्यहरूले नै असहमति जनाएपछि पुनः विधान संशोधनका लागि समिति बनेको राजपा स्रोतले बतायो।

‘पहिलाको समिति तीन सदस्य थियो। त्यसमा सबै समूहबाट समेटिएका थिएनन्’, स्रोतले भन्यो, ‘त्यसमा अध्यक्ष मण्डलका नेताहरूले नै असहमति जनाएपछि अर्को समिति बनाएका हौं।’

१५ दिनको म्याद पाएको उक्त विधान मस्यौदा समितिले अझै केही दिन विधान संशोधनका लागि गृहकार्य गर्नेछ।

महाधिवेशनका लागि अझै एक वर्ष समय माग्ने

एकवर्षभित्र महाधिवेशन गर्ने प्रतिबद्धतासहित ६ वटा मधेस केन्द्रित दल मिलेर राजपा बनेको दुई वर्ष पूरा भयो। यसबीचमा राजपाले आफ्नो एकताको महाधिवेशन गर्न सकेको छैन। संगठन पनि भद्रगोल अवस्थामा छ।

समयमा महाधिवेशन गर्न नसकेको भन्दै राजपालाई निर्वाचन आयोगले चेतावनी पत्रसमेत काटिकसकेको छ। त्यसपछि विविध कारणले महाधिवेशन गर्न नसकेको भन्दै २०७६ बैशाखसम्मको समय मागेको थियो। त्यसपछि राजपाले बैशाखनमा महाधिवेशनको मिति पनि तोक्यो। तर आन्तरिक गुटबन्दीका कारण महाधिवेशन समयमा हुन सकेन।

राजपाले फेरि निर्वाचन आयोगसँग थप एक वर्षको समय माग्ने तयारी गरेको छ। त्यसका लागि पुरानो विधान नै संशोधन गर्नुपर्ने हुन्छ। विधान संशोधोन मस्यौदा समितिले अब थप एक वर्ष गरी तीन वर्षमा महाधिवेशन गर्ने संशोधन गरेर पुरानो विधानमा व्यवस्था गरिसकेको छ।

यसलाई अध्यक्ष मण्डलले अनुमोदन गर्नुपर्नेछ। त्यसका लागि बुधबार राजपा अध्यक्ष मण्डलको बैठक बस्ने पार्टी महासचिव तथा विधान मस्यौदा समितिका सदस्य झाले जानकारी दिए।

यस्तै, राजपाको पुरानो विधानमा पालिका (गाउँ तथा नगर) अधिवेशनका लागि प्रतिनिधि हुने व्यवस्था यसअघिको विधानमा थिएन। यसलाई पनि संशोधन गर्दै पालिकाको अधिवेशनका लागि वडाबाटै प्रतिनिधि आउनुपर्ने व्यवस्था गर्ने गरी पुरानो विधान संशोधन गरिएको झाले बताए।

राजपामा महाधिवेशन प्रतिनिधि हुन पनि अब वडाबाटै निर्वाचित भएर आउनुपर्नेछ। वडाबाट निर्वाचित प्रतिनिधिले क्षेत्रीय अधिवेशनमा भाग लिँदै महाधिवेशन प्रतिनिधि बन्ने झाले बताए।

 

 

प्रकाशित: २५ वैशाख २०७६ ०४:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App