coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इस्तानबुलको पुनर्निर्वाचनको बचाउ

इस्तानबुलमा पुनर्निर्वाचन गर्ने निर्णयको विरोधमा उत्रिएका विपक्षी सिएचपी समर्थक कार्यकर्ता। तस्बिर: एजेन्सी

इस्तानबुल – टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले इस्तानबुलमा हुन लागेको पुनर्निर्वाचनको बचाउ गरेका छन्। विपक्षीले हल्का मतले जित हासिल गरेको इस्तानबुल सहरको महानगरीय निर्वाचन मार्च ३१ मा सम्पन्न भएको थियो।

राष्ट्रपति एर्दोगानले इस्तानबुलको महानगरीय निर्वाचन ‘संगिठत अपराध र गम्भीर भ्रष्टाचारले प्रभावित भएकाले’ पुनर्निर्वाचन आवश्यक रहेकोमा जोड दिएको बिबिसीले उल्लेख गरेको छ। जित हासिल गरेर पनि पदमा पुग्न नपाएका विपक्षी नेता एकरेम इमामोग्लुले पुनर्निर्वाचन गराउने सरकारी निर्णय ‘धोखा’ भएको बताएका छन्।

इस्तानबुलमा पुनर्निर्वाचन गराउने सरकारी निर्णयले टर्कीको लोकतान्त्रिक निर्वाचनको विश्वसनीयतामाथि प्रश्न उठ्न सक्ने युरोपेली संसद्ले बताएको छ। सरकारले जुन २३ मा इस्तानबुलको मेयरका लागि पुनः निर्वाचन हुने भनेर निर्णय गरेलगत्तै सहरभर सोमबार प्रदर्शन भएको थियो। भाडाकुँडा बजाउँदै र सरकारविरोधी नारा लगाउँदै इस्तानबुलका कैयौं जिल्लामा सयौं प्रदर्शनकारीले प्रदर्शन गरेको बिबिसीले उल्लेख गरेको छ।

इस्तानबुलमा पुनर्निर्वाचन गराउने भन्ने देशको निर्वाचन आयोगको निर्णय राष्ट्रपति एर्दोगानको दबावप्रति वफादर हुँदै आएको प्रतिपक्षीले आरोप लगाएको छ। नयाँ निर्वाचन नभएसम्मका लागि इस्तानबुलका गभर्नर अली यर्लिकायालाई कार्यवाहक मेयरको जिम्मेवारी दिइएको बताइएको छ।

एर्दोगानले के भने ?
इस्तानबुलमा पुनर्निर्वाचन गर्ने निर्णय ‘देशका लागि उचित कदम भएको’ टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले आफ्नो दल एके पार्टीको संसदीय बैठकमा बताए। ‘लोकतन्त्र र कानुनको दायरामा बसेर समस्या समाधान गर्ने हाम्रो क्षमतालाई यस निर्णय हामीले उचित कदम थप मबजुत बनाएको छ,’ उनले बताए।

उनले इस्तानबुलमा यसअघि भएको निर्वाचन अवैधानिक भएको भन्दै पुनर्निर्वाचनले लोकतन्त्रलाई मजबुत बनाउने हाम्रो उद्देश्यका लागि एउटा महत्वपूर्ण कदमको प्रतिनिधित्व गर्ने बताए। टर्कीको राजनीतिमा सर्वप्रथम सन् २००३ मा शक्तिमा उदाएका एर्दोगानले मार्च ३१ मा सम्पन्न निर्वाचनमा देशको राष्ट्रिय हितको चोरी भएको र चोरहरुलाई जिम्मेवार नबनाए ‘यसबारे जनताले आफूहरुसँग प्रश्न गर्ने’ पनि बताए।
पुनर्निर्वाचन किन हुँदैछ ?
एर्दोगानको दल एकेपीका निर्वाचन बोर्ड प्रतिनिधि रेसेप ओजेलले केही निर्वाचन अधिकृत सरकारी कर्मचारी नभएको र केही मतपत्रमा हस्ताक्षर गरेको नभेटिएका कारण इस्तानबुलमा पुनर्निर्वाचन हुन लागेको बताए। विपक्षी नेता ओनुरसल अदिगुजेलले भने पुनर्निर्वाचनले एके पार्टीलाई हराउनु गैरकानुनी भएको देखिएको बताए।

उनले पुनर्निर्वाचन ‘योजनाबद्ध तानाशाह’ भएको भन्दै ट्विटसमेत गरेका छन्। ‘जनताको जनमतलाई उल्ट्याउने र कानुनको अवमूल्यन गर्ने यो व्यवस्थाले न त प्रजातान्त्रि मूल्यलाई ध्यान दिएको छ न नै वैधानिकतालाई,’ उनले बताए।
त्यसैगरी विपक्षी सिएचपी पार्टीका इस्तानबुल मेयरका प्रत्याशी एक्रेम इमामोग्लुले सामाजिक सञ्जालमार्फत प्रसारण गरेको एउटा सम्बोधनमा निर्वाचन बोर्डको पुनर्निर्वाचन गराउने भन्ने निर्णयको निन्दा गरेका छन्। उनले निर्वाचन कार्यालय सत्तारुढ दलबाट प्रभावित भएको समेत उनको आरोप छ।

‘हामी हाम्रो सिद्धान्तमा कहिले पनि सौदाबाजी गर्दैनौं,’ समर्थकको भीडमा उनले बताए। ‘यो देश ८२ लाख राष्ट्रवादीले भरिएको छ र उनीहरुले लोकतन्त्रका लागि अन्तिमसम्म लड्ने छन्,’ उनले बताए। उनले सम्बोधन गर्दै गर्दा उनका समर्थक भने ठूलो स्वरमा नारा लगाउँदै आफूहरुले पुनः जित्ने भन्दै थिए।

टर्कीमा देशैभर गत मार्च ३१ मा महानगरीय निर्वाचन सम्पन्न भएको थियो। सो निर्वाचनलाई राष्ट्रपति एर्दोगानको जनमत संग्रहका रूपमा हेरिएको थियो। देशैभर एर्दोगानको एकेपी पार्टीले ५१ प्रतिशत जित हासिल गरे पनि विपक्षी सिएचपीले राजधानी अंकारा, इज्मिर र इस्तानबुलमा जित हासिल गरेको  दाबी ग¥यो। वर्तमान राष्ट्रपति एर्दोगान कुनै समय इस्तानबुलका मेयर रहेका थिए।

इस्तानबुलमा ८० लाखभन्दा बढी मतदाताले मतदान गरेका थिए र विपक्षी नेता इमामोग्लुले १४ हजारभन्दा कम मतान्तरमा जित हासिल गरेको घोषणा गरिएको थियो। विपक्षी उम्मेद्वारले जित हासिल गरेको विवरण बाहिरिएलगत्तै सत्तारुढ एकेपी पार्टीले अंकारा र इस्तानबुलको नतिजामाथि प्रश्न उठाउन थाल्यो। उसले निर्वाचनमा धाँधली भएको आरोप लगाए पनि विपक्षीले भने सत्तारुढ दलले एकेपीले नतिजा चोर्न खोजेको आरोप लगाएको छ।

कुनै समय आफूले नेतृत्व गरेको इस्तानबुलमा जसले जित हासिल गर्छ उसले समग्र टर्कीको शासन सत्ता सञ्चालन गर्ने एर्दोगानको बुझाईका कारण पनि उनले नतिजा आफ्नो पक्षमा पार्न खोजेको विश्लेषकहरुले बताएका छन्।

प्रकाशित: २५ वैशाख २०७६ ०३:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App