coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

ट्यांकर व्यवसायी फेरि आन्दोलित

काठमाडौं – नेपाल आयल निगमले किन्न स्वीकृति दिएका ट्यांकरलाई इन्धन लोडिङ अनुमति नदिएको भन्दै दुई साताअघि निगम प्रधान कार्यालयमा धर्ना सुरु गरेका व्यवसायीले स्थगित धर्ना मंगलबारबाट फेरि सुरु गरेका छन्।

वैशाख १२ गते धर्ना सुरु गरेका उनीहरुले निगम अधिकारीहरुको आश्वासनपछि विरोधका कार्यक्रम स्थगित गरेका थिए।
यसअघि धर्ना सुरु गरेकै साँझ निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेल, प्रवक्ता वीरेन्द्र गोइत लगायतसँग भएको छलफलमा तालुक मन्त्रालय (उद्योग, वाणिज्य तथा आपूर्ति) का सचिव स्वदेश फर्केपछि अनुमति दिने आश्वासन पाएपछि धर्ना स्थगित गरेको एकजना व्यवसायी नरेन्द्रराज सेढाईंले बताए।

सचिव फर्किसकेपछि पनि काम नभएपछि मंगलबारबाट पुनः धर्ना सुरु गरेको उनले जानकारी दिए। निगमकै स्वीकृतिमा गरेको लाखौं लगानी डुब्न लागेपछि धर्ना बस्नुको विकल्प नभएको सेढाईं बताउँछन्। ढुवानी अनुमति नपाएसम्म धर्ना जारी रहने अर्का व्यवसायी श्रीकृष्ण खनालले बताए। घरजग्गा नै लिलामी हुने अवस्था आइसकेकाले अनुमतिको लागि दबाब दिन धर्ना सुरु गरेको उनको अर्का व्यवसायी आशिष पौडेलले बताए। निगमका अधिकारीहरुले संसदीय समितिले निर्देशनलाई अवज्ञा गरी ढिलासुस्ती गरिरहेकोले दबाब दिनुपरेको सेढाईंको भनाइ छ।

निगमले २०७४ जेठमा १६ जना व्यवसायीलाई पेट्रोलियम पदार्थ ढुवानी गर्ने नयाँ ट्यांकर किन्न स्वीकृति दिएको थियो। एउटा ट्यांकर तयार गर्ने स्वीकृतिबापत ३५ हजार रुपैयाँका दरले बुझाएका व्यवसायीले त्यसलगत्तै चेचिस मगाएर सोही वर्ष साउनमा ट्यांकर तयार पारिसकेका थिए। निगमले स्वीकृति दिएपछि १६ जना व्यवसायीले १४ करोड रुपैयाँ हाराहारी लगानी गरेर २२ वटा ट्यांकर किनेका थिए।

निगमको इन्धन ढुवानी गर्न इच्छुक व्यवसायीले निगमबाट स्वीकृति लिएर ट्यांकर किन्नुपर्छ। त्यसरी स्वीकृति लिएर तयार भएका ट्यांकर ढुवानीका लागि योग्य भए, नभएको जाँच गरेपछि निगमले अनुमति दिन्छ। निगमले आफ्नो स्वीकृति अनुसार तयार भएका ट्यांकरको क्यालिब्रेसन, इपी कोट लगायत जाँच गरेर ढुवानीका लागि योग्य भएको प्रमाणित गरिसके पनि ढुवानी अनुमति दिएको छैन। व्यवसायीका अनुसार निगमले ती ट्यांकरको क्यालिब्रेसन र इपी कोट दुईपटक जाँच गरिरहेको छ। एकपटक तयार हुनेबित्तिकै र पछिल्लोपटक गत मंसिरमा जाँच गरेको व्यवसायीले बताए।

निगमले लोडिङ अनुमति नदिँदा ६० लाख रुपैयाँ खर्चेर तयार पारेको ट्यांकर थन्किएर बसेको व्यवसायीको गुनासो छ। निगमले अनुमति नदिएका कारण ट्यांकर चलाएर आम्दानी गर्न नपाउँदा लगानी डुब्ने अवस्था आएको व्यवसायी बताउँछन्।

निगमको स्वीकृतिमा तयार भएकामध्ये दुईवटा ट्यांकर बैंकले तानिसकेको व्यवसायी पौडेलले जानकारी दिए। उनका अनुसार साँवा–ब्याज तिर्न नसक्दा चरण सिंह र मोहन सिंहको एक–एकवटा ट्यांकर कर्जा दिने बैंकले तानिसकेको छ।
दुई वर्षमा १९ लाख रुपैयाँ बैंकलाई किस्ता तिरेको तर ६० लाखभन्दा बढी लगानीबाट एक सुकै आम्दानी गर्न नपाएको पौडेलले बताए। निगमका अधिकारीहरुले बिनाकारण आफूहरुलाई अल्झाएको उनीहरुको गुनासो छ।

निगमले संसदीय समितिको निर्देशनलाई समेत अवज्ञा गरेको देखिएको छ। संघीय संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले गत मंसिर १० गते उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई प्रक्रिया पूरा गरी तयार भएका ट्यांकरलाई सञ्चालन अनुमति दिन निर्देशन दिएको थियो। सोही बमोजिम मन्त्रालयले निगमलाई मंसिर १० गते पत्र लेखे पनि निगमले टेरेको छैन।

निगम अधिकारीले लोडिङ अनुमति नदिनुको कारण पनि बताउन नसकेको व्यवसायीको भनाइ छ। ‘यसकारण हुँदैन पनि भन्दैनन्, अनुमति पनि दिँदैनन्,’ धर्नामा बसेका अर्का व्यवसायी नरेन्द्रराज सेढाईंले भने। धर्ना बसेका व्यवसायीसँगै स्वीकृति लिएर तयार भएका दुईवटा ट्यांकरले भने लोडिङ अनुमति लिएर काम इन्धन ढुवानी गरिरहेका छन्। ना७ख ५७८५ र ५७८६ नम्बरका ट्यांकरले तेल ढुवानी गरिरहेको निगम स्रोतले जानकारी दिएको छ।

स्रोतका अनुसार शिवकुमार मण्डल वाणिज्य तथा आपूर्तिमन्त्री भएका बेला उनकै ठाडो आदेशमा निगमले ती दुई ट्यांकरलाई ढुवानी अनुमति दिएको थियो। पहुँच नहुने र टेबुलमुनिबाट पैसा नदिनेलाई निगमका अधिकारीले अड्काएको व्यवसायीको आरोप छ। निगमका केही अधिकारीले पेट्रोलियम ढुवानी व्यवसायी महासंघको दबाब र प्रलोभनमा अनुमति नदिएको व्यवसायी दाबी गर्छन्।

प्रकाशित: २५ वैशाख २०७६ ०२:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App