७ वैशाख २०८१ शुक्रबार
समाज

प्रहरीविहीन सीमा प्रहरी चौकी

चीनको तिब्बतसँग जोडिएको मुगुको मुगु गाउँस्थित खाली सीमा प्रहरी चौकी। तस्बिर: सुमन/नागरिक

मुगु  - मुगम कामारोङ गाउँपालिका–२ स्थित सीमा प्रहरी चौकी गत मंसिरदेखि प्रहरीविहीन रहेको छ। जाडोका कारण मंसिरदेखि जिल्लामा ल्याइएका सुरक्षाकर्मीलाई फागुनसम्ममा फर्काइसक्नुपर्ने भए पनि हालसम्म फिर्ता नगरिएकाले सो चौकी प्रहरीविहीन भएको हो।

तिब्बतसँग जोडिएको नाक्च्यालाग्ना नाकामा सरकारले सीमा सुरक्षाका लागि नेपाल प्रहरीको सुरक्षा पोस्ट राख्दै आएको छ। सो प्रहरी चौकीमा प्रहरी नायब निरीक्षकको कमान्डमा १९ जनाको दरबन्दी रहेको छ। तर हाल चौकीमा ताला लगाइएको छ भने सीमा प्रहरी कार्यालय चौपाया र बच्चाको मनोरञ्जन गर्नेे स्थान बनेको छ। मुगु गाउँमा अत्यधिक हिमपात हुने र चिसो बढ्ने भएकाले मंसिरदेखि फागुनसम्म सुरक्षाकर्मीलाई जिल्लामा ल्याइने गरेको छ। विगतका वर्षमा फागुनमै सुरक्षाकर्मीलाई फर्काउने गरिएको भए पनि यसपटक वैशाख अन्तिम सातासम्म नपठाइएको भन्दै स्थानीयले गुनासो पोखेका छन्।

अन्तरदेशीय सीमासँग जोडिएको मुगु जिल्लाको एक मात्र सीमा प्रहरी चौकीमा मंसिरदेखि सुरक्षाकर्मी नहुँदा गाउँ, बस्ती र सीमामा समस्या आउने गरेको र समाधानमा अप्ठ्यारो भइरहेको स्थानीय बताउँछन्। हाल यार्सागुम्बा संकलनको समयमा जनमासको ठूलो जमघट हुने तथा शान्ति सुरक्षाको अवस्था बिग्रिनसक्ने भएकाले सीमा प्रहरी चौकीको व्यवस्थापन गरी सुरक्षाकर्मी खटाउन जिल्ला सुरक्षा समितिलाई अनुरोध गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास रिजालले बताए। उनका अनुसार गाउँमा सामान्य विवाद वा झैझगडा हुँदा सुरक्षाकर्मी गुहार्न एक दिनको बाटो हिँडी अर्को प्रहरी चौकी पुलु पुग्नुपर्ने बाध्यता रहेको छ। कुनै घटना भएमा अपराधी फरार भइसकेपछि मात्र पुलुबाट प्रहरी घटनास्थलमा पुग्ने गरेको अधिकृत रिजालले जानकारी दिए।

जिल्लाबाट छिटोभन्दा छिटो सुरक्षाकर्मी खटाइदिन अनुरोध गरेको मुगुम कामारोङ गाँउपालिका–२ का वडाअध्यक्ष कार्मा तामाङ (लामा) बताउँछन्। यता जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख लालबहादुर ऐरले भने यही वैशाखभित्रै प्रहरीलाई चौकीमा खटाउन व्यवस्था मिलाइरहेको जानकारी दिए।

प्रकाशित: २५ वैशाख २०७६ ०१:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App