coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

जथाभावी सडक निर्माणले विपत्ति निम्त्याउने खतरा

फिक्कल गाउँपालिकाको सुम्नाम सुन्तले चन्डिभन्ज्याङबाट देखिएको पहाडको दृश्य। तस्बिर अनिल/नागरिक

सिन्धुली - जिल्लाका पहाडी क्षेत्रमा इन्जिनियरिङ अध्ययनबिना जथाभावी सडक निर्माण गर्दा प्राकृतिक विपत्ति निम्तिने खतरा बढ्न थालेको छ। महाभारत क्षेत्रमा सडकका लागि पहाड फोर्न स्थानीय तहले बजेट विनियोजन गरेका छन्। महाभारत क्षेत्रमा पर्ने पहाडमा सडक निर्माण गर्न जथाभावी ठूला उपकरण चलाउँदा प्राकृतिक विपत्तिको खतरा बढेको हो।

यस वर्ष सुनकोसी गाउँपालिकाको बन्दीपुरदेखि चालिसेसम्म पचास लाख रुपैयाँको बजेटमा सडक ट्र्याक खोल्न धमाधम काम भइरहेको छ। गोलञ्जोर, फिक्कल, तीनपाटन, मरिण, हरिहपुरगढी गाँउपालिकाको पहाडी भेगमा जथाभावी सडक निर्माण भएको स्थानीय बताउँछन्। बिपी राजमार्ग, मध्यपहाडी लोकमार्ग, निर्माणाधीन हेटौंडा–सिन्धुलीमाढी–चतरा (मदन भण्डारी) राजमार्गसँग जोड्न भने पहाडी क्षेत्रबाट भौगोलिक, वातावरणीय र इन्जििनियरिङ अध्ययनबिना जथाभाबी सडक निर्माण गरिँदै छ। सडकका ट्र्याक नखोल्दा हराभरा रहेका जंगल अहिले नांगो डाँडामा परिणत हुन थालेका छन्। पहिरोसँगै भूक्षयको क्रम पनि बढेको छ।

स्थानीय तहको कुल विकास बजेटको पचास प्रतिशतभन्दा बढी सडक निर्माणमा विनियोजन भएको सम्बन्धित तहले जनाएका छन्। ‘हाम्रो क्षेत्रमा नयाँ सडक निर्माण गर्न गाउँपालिका, प्रदेश र संघीय सरकारको बजेट छ,’ सुनकोसी गाउँपालिकाका उपाध्यक्ष दिर्बुसिंह मोक्तानले भने, ‘मध्यमार्गी सडक निर्माण गर्न गाँउपालिका र प्रदेश सकारको गरी ३७ लाख बजेट विनियोजन भएको छ।

बन्दीपुर–चालिसे–नागी जोड्ने सडकलाई संघीय सरकारबाट ५० लाख रुपैयाँ विनियोजन भएको छ।’ यसैगरी प्रदेश सरकारकै बजेटबाट कासीखण्ड–भोटेखोला सडकको ट्र्याक खोल्ने काम भइरहेको गाउँपालिकाले जनाएको छ। यस्तै फिक्कल गाउँपालिकाले कुट बजेटको करिब ३० प्रतिशत सडक निर्माणमा विनियोजन गरेको उपाध्यक्ष पार्वती सुनुवारले जानकारी दिइन्।

तीन तहका सरकारको बजेटले नयाँ ट्र्याक खोल्ने र पुरानालाई अघि बढाउने निर्णय भएको छ। गत वर्ष बनाएका सडक पहिरोका कारण सञ्चालनमा आउन नसकेपछि फेरि बनाउन लागिएको छ। दक्ष प्राविधिकबिनै डोजर र एक्स्काभेटर चलाएर सडक बनाउँदा बर्खामा पहिरो जाने निश्चित छ। सिन्धुली निर्वाचन क्षेत्र १ बाट संघीय प्रतिनिधिसभामा निर्वाचित गणेश पहाडी पहाडमा जथाभावी खनिएका सडकले अर्को विपत्ति निम्त्याउने खतरा बढेको बताउँछन्।

‘जनताको प्रतिनिधि भएर मैले यस्तो भन्दा स्थानीयले आश्चर्य मान्लान् तर पछिल्लो समय पहाडी क्षेत्रमा बिनाअध्ययन निर्माण भएका सडककै कारण अर्को प्राकृतिक विपत्ति नआउला भन्न सकिन्न,’ पहाडीले भने, ‘डोजर चालकलाई नै इन्जिनियर बनाएर बनाइएका अधिकांश सडक विपत्ति निम्त्याउने आधार बनेका छन्।’

सडकलगायत विकास निर्माणका संरचना भौगोलिक विविधता र संरचनालाई ध्यानमा राखेर इन्जिनियरको परामर्शमा बनाउनुपर्ने उनले बताए। महाभारत क्षेत्रमा जथाभावी सडक निर्माणले बनजंगल मासिँदा बर्खामा पहिरो जाने खतरा बढेको शिक्षक महासंघका अध्यक्ष केशव पहाडी बताउँछन्।

प्रकाशित: २५ वैशाख २०७६ ०१:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App