बुटवल—नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले मुलुकमा अहिले संविधान असफल बनाउने कोसिस भइरहेको बताएका छन्।
संविधान संशोधनका नाममा मधेस र पहाडलाई अलग गराउने र बहुराष्ट्र बनाउने प्रयास भइरहेको छ। त्यस्तो प्रयासलाई एमालेले पूरा हुन दिँदैन। हिमाल, पहाड र तराई मिलाउने गरी संविधान संशोधनको प्रस्ताव आए त्यसलाई सघाउन एमाले तयार छ।
प्रेस चौतारी रुपन्देहीले मणिग्राममा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले संविधान संशोधनका नाममा मधेस र पहाडलाई अलग गराउने र बहुराष्ट्र बनाउने प्रयास भइरहेको भन्दै त्यस्तो प्रयासलाई एमालेले पूरा हुन नदिइने दृढता व्यक्त गरे। 'हिमाल, पहाड र तराई मिलाउने गरी संविधान संशोधनको प्रस्ताव आए त्यसलाई सघाउन एमाले तयार छ', उनले भने।
नेता गौतमले वर्तमान सरकार निर्वाचन गराउने दिशामा अघि नबढेको आरोप लगाउँदै संविधान कार्यान्वयनका लागि २०७४ माघ ७ गतेसम्म तीन तहको निर्वाचन हुनैपर्नेमा जोड दिए।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीले राजनीतिक पार्टीमाथि अराजनीतिक काम गरेकाले महाभियोग प्रस्तावको बाटो लिनुपरेको बताउँदै नेता गौतमले भने, 'राजनीतिक पार्टीप्रति पूर्वाग्रही ढङ्गबाट संविधान र कानुन विपरीत प्रतिशोध साँध्ने षडयन्त्र गरेकाले कार्कीप्रति दलहरुको विश्वास डगमगाएको हो।'
प्रकाशित: ७ कार्तिक २०७३ ०५:५३ आइतबार