८ वैशाख २०८१ शनिबार
समाज

प्रधानमन्त्रीलाई गिज्याउने तुइन यात्रा

नलगाड नगरपालिका–१ ठुलाबगरमा तुइनबाट भेरी नदी पार गर्दै सर्वसारधाण । तस्बिरः नागरिक

जाजरकोट– नलगाड नगरपालिका–१ ठूलाबगरका पठवीर पुनले तुइनमा झुन्डिएर यात्रा गर्न थालेको वर्षौं भयो। वर्षातका बेला मात्र होइन अन्य बेलामा पनि भेरी नदी माथिको तुइनमा झुन्डिएर यात्रा गर्न उनको बाध्यता हो।

प्रधानमन्त्री केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्रीको पद समाल्दा ०७२ असोजमा देशमा भएका सबै तुइनहरु विस्थापन गर्ने घोषणा गरेको खबर सुनेर पठवीर निकै खुसी भएका थिए, अब पुल र गतिलो सडकमा यात्रा गर्न पाइने भयो भनेर।  

अाजै सरकारकाे नीति तथा कार्यक्रम बहुमतले पास भयाे। साे क्रममा प्रधानमन्त्री अाेलीले देशभरका तुइन विस्थापन गर्ने र त्यसकाे ठाउँमा झाेलुंगे पुल निर्माण गर्ने बताएका छन्।

आव २०७६/७७ का लागि नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल क्रममा उठेका जिज्ञासामा सांसदले राखेका थप जिज्ञासा सम्बोधन गर्दै उनले दार्चुलास्थित महाकाली नदीमाथि तुइन विस्थापन गरी झोलुङ्गे र पक्की पुल निर्माण गर्ने काम भइरहेको समेत जानकारी दिएका थिए।

तर, प्रधानमन्त्रीले वाचा गरेको तीन वर्षसम्म पनि तुइनकै सहाराले बजार, मेलापात र सदरमुकामसम्म जानुपर्ने भएपछि भने उनी निरास बनेका छन्। त्यसो त मंगलबार संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकभरको तुइन विस्थापन गरेर झोलुङ्गे पुल निर्माण गर्ने कार्यक्रमलाई तीव्रता दिइएको बताएका छन्।

तर पठवीर भन्छन् ‘कहिले होला तुइनबाट छुटकारा पाउने? को नेता र सरकारले  यो तुइन चल्ने ठाउँमा गतिलो पुल बनाइदेला? उनले प्रश्न गर्दै फेरि थपे। पठवीर मात्र होइन ठूलाबगरकै हस्तकली घर्तीको दुःखेसो पनि त्यस्तै छ। गाँउमा आउने कुनै कर्मचारी, नेता र सामाजिक कार्यकर्ताहरुसँग गुनासो पोख्दै हस्तकली भन्छिन्, ‘यो तुइनमा झुन्डिएर भेरी वारपार गर्ने दिन कहिले सकिएला? म सानै थिएँ यो भेरीमा झुन्डिएर यात्रा गर्दा म सानैं थिएँ, अहिले ४१ वर्षकी भएँ, अझै तुइन चढ्न छुटेको छैन, उनले भनिन्।

पठवीर र हस्तकली मात्र होइन ठुलाबगरका सयौं दलित र मगर समुदायका सर्वसाधारणका लागि जीवन मरणको विषय भएको छ दैनिक तुइनको यात्रा। ठुलाबगरका स्थानीयहरुलाई सदरमुकाम खलंगा, रिम्ना बजार, दल्लीबजार, पश्चिम रुकुमको राडीबजार जान तुइन नचढी सुखै छैन।

बजार, मेलापात र सदरमुकाममा जानलाई भेरी नदी पार गर्न सहज बाटो पुल नभएपछि आफुहरु तुइनको सहारा लिन बाध्य भएको उनीहरुको दुःखेसो छ। भेरी नदीमा लामो समयसम्म झोलुंगेको माग गर्दा पनि माग सुनुवाइ नभएपछि आफुहरु दैनिक रुपमा जोखिमपुर्ण यात्रा गर्न बाध्य भएको उनीहरु बताउँछन्।

स्थानीय गुलावी पुनले तुइन नचढे गाउँमै बन्धक जस्तो भइने गुनासो गरिन्। सरकारले तुइन हटाउँछ भन्न लागेको तीन वर्ष भयो अहिलेसम्म हामी तुइनकै भरमा छौं’ उनले भनिन्। स्कुले बालबालिकाहरु, जेष्ठ तथा अशक्त नागरिकहरु र भरियाहरु सबैले तुईनकै भरमा नदी वारपार गर्नु परेको पुनले बताइन्।

ठूलाबगर, खर्चा, दम्सीला, भित्रखोला, ओडारा, पालीलगायत गाउँका १ सय परिवार स्थानीय प्रविधिबाट निर्मित तुइनकै भरमा वर्षाैंदेखि नदी वारपार गर्न बाध्य भए पनि यसतर्फ  सरकारको ध्यान नगएको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले नागरिकन्युजलाई बताए।  विद्यार्थीहरु तुइनबाटै नदी वारपार गरेर स्कुल जाने गरेको डरलाग्दो दृश्यले पनि कसैलाई पनि छोएको छैन’ उनले भने।

नलगाड नगरपालिका १, माउरे ठुलाबगर र पश्चिम रुकुमको आठबिसकोट नगरपालिका १४, छोटेतरा पश्चिम रुकुमको पिपलचौर, छोटेतरा, छेपारे, चाख्लेमेलालगायत ठाउँका सयौं सर्वसाधारणहरु उक्त तुइनको सहयोगले जोखिमपुर्ण यात्रा गर्न बाध्य छन्। स्थानीय प्रविधिबाट काठले बनेको ढुंग्रोमा बसी फलामको डोरीमा झुण्डिएर एक सय मिटर चौडा भेरी नदी जोखिमपुर्ण ढंगले वारपार गर्न  सर्वसाधारणहरु बाध्य भएका छन्।

२० बर्षअघि बनेको उक्त तुइनकै भर दैनिक उपभोग्य बस्तुको आपुर्ती गर्न, औषधी उपचार गर्न र अन्य कामकाजका सदरमुकाम खलंगा आवतजावत गर्नुको विकल्प नै छैन्। जिल्लाको नलगाड नगरपालिका–१ को ठुलाबगर र वडा नं.८ मैदे, मालुवातरामा पनि तुइन सञ्चालनमा छन्। यस्तै जिल्लाको  शिवालय गाउँपालिकाको सालतरामा पनि स्थानीयले तुइनको माध्यमबाट छेडागाड खोला वारपार गर्ने गरेका छन्। तुइन बन्नु अघि ठुला खोला र नदीहरु डुंगा र चिन्नको सहायताले वारपार गर्ने गर्थे।

उता नलगाड नगरपालिकाका मेयर टेकबहादुर रावलले तुइन हटाएर पुल निर्माणको बजेट र योजना माग गर्दै संघीय सरकारलाई दुइ पटक आग्रह गरे पनि सुनुवाइ नभएको बताए। जनता निकै जोखिमपुर्ण यात्रा गर्न बाध्य छन् तर नगरको बजेट र पहुचले पुल बनाउन सम्भव छ्रैन्’ उनले भने। प्रधानमन्त्रीले सबै तुइन हटाउने भनेर घोषणा गर्नुभयो तर जनता तुइनको विकल्प प्रयोग गर्नै पाएका छ्रैनन्  मेयर रावलले भने।

प्रकाशित: २४ वैशाख २०७६ १३:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App