४ वैशाख २०८१ मंगलबार
राजनीति

सरकारलाई दिउँसै सपना नदेख्न बालकृष्ण खाँडको सुझाव

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले सरकारलाई दिउँसै सपना देख्ने काम नगर्न सुझाव दिएका छन्। संघीय संसद प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुदै उनले गर्नै नसक्ने कार्यक्रमहरु ल्याएर सरकारले दिउँसै सपना देख्ने काम गरेको भन्दै त्यसो नगर्न सुझाव दिएका हुन्।

सुशासन र भ्रष्टाचारलाई नियन्त्रण गर्छु भन्दै प्राथमिकतामा राख्ने सरकारका अघि कयौं भ्रष्टाचारका काण्ड भईरहेको भन्दै उनले नियन्त्रण भन्दा पनि प्रधानमन्त्री भ्रष्टाचारीलाई जोगान लागेको आरोप लगाए। उनले भने ‘सुशासनमा शहीद मञ्च नै छैन। बालुवाटारै अर्कैले लगिसक्यो। एनसेलले कर नतिरेर कहाँ हिडिसक्यो। १२ अर्ब रुपैयाँ बढी तिरेर फोरजी ल्याईएको छ। वाइडवडी कहाँ छ, कहाँ छ? वाइडवडीसँग सम्बन्धित मन्त्रीलाई के भन्दिनुभयो भने प्रधानमन्त्रीले उहाँ निर्दोष हुनुहुन्थ्यो । प्रधानमन्त्रीलाई निर्दोष भन्ने अधिकार छ? न्यायीक फैसला गर्ने अधिकार छ? जसलाई न्यायीक फैसला गर्ने अधिकार नै छैन। उसले फलानोमा निर्दोष। बालुवाटार जग्गामा निर्दोष। वाइडवडीमा निर्दाेष।’

संविधानको मर्म विपरित राष्ट्रपतिले सम्बोधनका क्रममा पटक पटक ‘मेरो सरकार’ भनी सम्बोधन गरेकोमा पनि उनले आपत्ति जनाए। संविधानमा गरिएको व्यवस्थाको फेयरिस्त प्रस्तुत गर्दै उनले ‘मेरो सरकार’ भनी गरिएको सम्बोधन संविधान विपरित भएकाले संशोधन गर्नुपर्ने माग गरे। उनले भने ‘संविधानले नै नेपाल सरकारले गर्ने छ/गरिनेछ भनेर स्पष्ट लेखिएको छ। अब त्यहा ‘मेरो सरकार’ भन्न मिल्यो कि मिलेन? कुनै कविले महाकाव्य लेख्यो भने मिल्छ। कुनै कविले खण्डकाव्य लेख्यो भने मिल्छ। कुनै कविले निबन्ध लेख्यो भने मिल्छ। तर संविधानको आधारशिलामा उभिएको प्रधानमन्त्रीले, संविधानको जगमा उभिएको व्यवस्थापिकाले, संविधानमा उभिएको राष्ट्रपतिले ‘मेरो सरकार’ भन्न मिल्छ? यो संवैधानिक रुपमा घोर आपत्तिजनक छ। म यो आपत्ति गर्दछु। र संविधानमा भएको प्रबन्धलाई मानियोस् भन्ने आग्रह गर्दछु।’

प्रकाशित: २४ वैशाख २०७६ ०८:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App