coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

वैकल्पिक शक्तिको बाटो

संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच एकीकरणसँगै मुलुकमा वैकल्पिक राजनीतिक शक्तिको सम्भावना देखिएको छ। प्रायः राजनीतिक दलहरू चुनावको समयमा एकीकृत हुने र चुनाव सकिएलगत्तै विभाजित हुने प्रवृत्ति नेपाली राजनीतिमा देखिँदै आएको हो। तर, यसपटक भने त्यसको ठीक विपरीत निर्वाचनपछिको समयमा दलहरू एकीकृत भएका छन्। यसले यी दुई पार्टीबीचको एकीकरण क्षणिक स्वार्थका लागि मात्र नभएको कुरालाई संकेत गर्छ। प्रतिनिधिसभाको चुनाव सकिएको करिब डेढ वर्षपछि यी दुई पार्टीबीच एकीकृत भएको छ। उपेन्द्र यादवले नेतृत्व गरेको संघीय समाजवादी फोरम र बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति पार्टीबीचको एकीकरणपछि समाजवादी पार्टी नेपाल गठन गरिएको हो। त्यसो त राजनीतिक दलहरूले आफूलाई विभिन्न हिसाबले समाजवादी दाबी गर्दै आएका छन्। तर, यो दलले आफ्नो नाम नै समाजवादी राखेको छ। अब नाम झैं यो दल साँच्चै समाजवादी चिन्तन, सोच र विचारका साथ अघि बढ्यो भने नेपाली राजनीतिको वैकल्पिक शक्ति बन्ने सम्भावना रहन्छ। एकीकृत पार्टीको मूल सिद्धान्त संघीय समाजवाद हुने जानकारी एकीकरण कार्यक्रममा नेताहरूले दिएका छन्। पार्टी एकीकरण घोषणा कार्यक्रममा प्रस्तुत नौ बुँदे आधारपत्रमा संघीय फोरमले अवलम्बन गर्दै आएको संघीय समाजवाद र नयाँ शक्ति पार्टीले अवलम्बन गरेको समुन्नत  समाजवादको आधारमा संघीय समाजवादको सिद्धान्तबाट अघि बढ्ने सहमति भएको छ। साथै संविधान संशोधनमार्फत देशको प्रगतिशील रूपान्तरण, दिगो विकास र समतामूलक समृद्धिको बाटोमा अघि बढ्ने प्रतिबद्धता जनाइएको छ।

एकीकृत पार्टीले राजनीतिक क्षेत्रमा जनताको सार्वभौमिकता, नागरिक स्वतन्त्रता, बहुलतायुक्त खुला समाज, बालिग मताधिकार, आवधिक निर्वाचन, विधिको शासन, प्रतिस्पर्धात्मक बहुदलीय व्यवस्था, संवैधानिक तथा कानुनी राज्य, मौलिक एवं मानव अधिकार, शक्ति पृथकीकरण, स्वतन्त्र न्यायपालिका तथा प्रेस स्वतन्त्रतालाई अवलम्बन गरेको छ। एकीकृत पार्टीका मौलिक विशेषताहरूमा संघीय शासन, समाजवादी व्यवस्था, सहभागितामूलक समावेशी लोकतन्त्र, राष्ट्रिय पहिचान, सामाजिक न्याय, समतामूलक समृद्धि, लोककल्याणकारी राज्य र सामाजिक सुरक्षा, सुशासन, सदाचार, समानुपातिक समावेशीकरण, स्वशासन र स्वायत्तता, सांस्कृतिक बहुलता, समानुपातिक निर्वाचन प्रणाली, पर्यावरणीय सन्तुलन, बहुलतायुक्त समाज र राष्ट्रिय एकता रहनेछन्। एकीकृत दलले यी सबै पक्ष राख्नुलाई सकारात्मक रूपमा लिन सकिन्छ। तर, यसरी राखिएका प्रावधानमा यो नवगठित दल कति अडिन्छ, त्यसले आम जनतामा विश्वास बढ्दै जान्छ। दल निर्माणका क्रममा दलहरूले दिने आश्वासन र त्यसको यथार्थ कार्यान्वयनबीच अहिलेसम्म ठूलो खाडल रहँदै आएको छ। नेपालको राजनीतिक विकासक्रममा दलहरूले महŒवपूर्ण भूमिका निर्वाह गरे पनि क्रान्ति वा आन्दोलनको सफलतापछि आफूलाई रूपान्तरण यात्रामा खरो उतार्न नसकेको महसुस सबैलाई भएको छ। त्यसमा पनि मौका पाइसकेपछि पनि आफूलाई इमानदार ढंगले प्रस्तुत गर्न नसक्दा सर्वसाधारणमा दलप्रतिको वितृष्णा पनि उत्तिकै बढ्ने गरेको पाइन्छ। यसकारण पनि नयाँ दलले आफूलाई आम जनताको विश्वास आर्जन गर्ने गरी अग्रसर गराउनुपर्ने देखिएको छ।

मुलुकमा वास्तवमै वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता महसुस भएको छ। तर, अहिलेकै अवस्थामा नवगठित दलले वैकल्पिक राजनीतिक शक्तिको रिक्त स्थान पूर्ति गर्न सम्भव छ ? यसको नेतृत्वमा जुन व्यक्ति छन्, तिनीहरू अहिलेसम्म पनि वर्तमान राजनीतिकै केन्द्रमा रहेका छन्। तैपनि उनीहरूमा राजनीतिलाई नयाँ ढंगले लैजानुपर्छ भन्ने सोच अवश्य नै पलाएको हुनुपर्छ। मुलुकमा कांग्रेस र कम्युनिस्टका दुई भिन्न धुरी देखिए पनि सत्तामा रहँदाको प्रवृत्ति उही छ। त्यो स्थितिलाई नयाँ दलले कसरी चिर्छ भन्ने प्रश्न पनि छ। आलोचकहरूले अहिले पनि यसलाई पत्याइसकेको अवस्था छैन। बेलाबेलामा वैकल्पिक राजनीतिक धारको प्रसंग मुलुकमा चल्ने गर्छ। तर, तदनुकूल राजनीति भने अघि बढेको महसुस भएको छैन। डा. बाबुराम भट्टराईजस्ता राजनीतिक सुझबुझ भएका, उपेन्द्र यादवजस्ता मधेसको राजनीतिमा चिनिएका र अशोक राई जस्ता पहाडको जनजाति राजनीतिसँग जोडिएका व्यक्तिको त्रिवेणी हो, अहिलेको यो नयाँ दल। यसले मुलुकको संघीय गणतान्त्रिक राजनीतिलाई यथार्थमै जनमुखी बनाएर अघि बढाउने प्रतिबद्धताका साथ अघि बढेमा सर्वसाधारणले अविश्वास गर्ने छैनन्। तर, वैकल्पिक राजनीति अघि बढाउन चाहने शक्तिले विश्वास आर्जन गर्न भने त्यति सजिलो छैन। अहिलेसम्म कांग्रेस र कम्युनिस्टलाई सत्ता शिखरमा पु¥याउँदै आएका जनता त्यसप्रति विश्वस्त हुनसक्ने वातावरण दिनु कम्ती चुनौतीको विषय छैन। त्यसमा पनि अहिलेको दुई तिहाइ बहुमतको सरकारले गरेका कामका आधारमा सर्वसाधारणमा अवश्य नै वितृष्णाको स्थिति छ। त्यसैले भरपर्दो शक्ति बनेर कुनै दल आउन खोजे पनि असम्भव छैन। नयाँ–नयाँ दलले विश्व राजनीतिमा चुनाव जितेर फेरि सरकार बनाएका उदाहरण छन्। फ्रान्सका वर्तमान राष्ट्रपति म्याक्रोको दल यस्तै नयाँ राजनीति बोकेर आएको हो। अतः नयाँ दलले आफ्नो राजनीतिमा आफूलाई कति परिस्कार गर्छ भन्नेमा सफलता÷असफलता निर्भर हुन्छ।

प्रकाशित: २४ वैशाख २०७६ ०४:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App