६ वैशाख २०८१ बिहीबार
राजनीति

शिक्षाको लगानीले प्रतिफल दिएन : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारी बाग्लुङ अमलाचौरस्थित पृथ्वी हिरण्य माविको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा। तस्बिर ः नागरिक।

बाग्लुङ – राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षामा गरेको लगानीले सही प्रतिफल नदिएको बताएकी छिन्। बाग्लुङ–१२ अमलाचौरमा रहेको पृथ्वी हिरण्य माविको नवनिर्मित भवन सोमबार उद्घाटन गर्दै भण्डारीले शिक्षा खर्च गरेअनुसार प्रतिफल नआएको बताएकी हुन्। ‘सरकारले शिक्षामा निकै ठूलो लगानी गर्छ, हरेक वर्षको बजेटमा सबैभन्दा बढी खर्च शिक्षामा नै हुन्छ,’ राष्ट्रपति भण्डारीले भनिन्, ‘राज्यको लगानीले मात्र प्रतिफल देखिएन। अब समुदाय र सरोकारवाला सबैले दायित्व निर्वाह गर्नुपर्ने बेला आएको छ।’

उद्योगय महासंघका उपाध्यक्ष चन्द्र ढकाल र व्यवसायी हेमराज ढकालले सहयोग गरेको पाँच करोड २८ लाख रुपैयाँबाट निर्मित आधुनिक विद्यालय भवन उद्घाटनपछि राष्ट्रपति भण्डारीले भनिन्, ‘सरकारले भन्दा निकै कम खर्चमा निजी क्षेत्रले सञ्चालन गरेका विद्यालयबाट राम्रो नतिजा आउँछ तर सरकारको लगानीले राम्रो उपलब्धि दिन सकेन। सरकारको लगानी हो भनेर समुदायले अपनत्व नलिएकाले शिक्षामा अपेक्षित सुधार हुन नसकेको हो।’ सबै नेपालीका छोराछोरीलाई शिक्षा र स्वास्थ्यको सहज पहुँच पु¥याउन संघीयदेखि स्थानीय तहसम्मको सरकार सक्रिय रहेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले भनिन् ‘बालबालिका मुलुकको भविष्य भएकाले उनीहरूको शिक्षा र स्वास्थ्यमा विशेष लगानी हुनुपर्छ।’

‘अब हरेक विद्यालय र घरमा करेसाबारी बनाउनुपर्छ, करेसामा तरकारी फलाएर सबैले स्वस्थ खाने वातावरण बनाऔं,’ राष्ट्रपतिले भनिन्। नवनिर्मित भवनसँगै निर्माण गरिएको ढकालका पिता हिरण्यको अर्धकदको सालिकसमेत राष्ट्रपति भण्डारीले अनावरण गरेकी थिइन्। २०७२ को भूकम्पले चिरा परेको पृथ्वी माविको नाम पुनर्निर्माणपछि सहयोगी चन्द्र ढकाल र हेमराज ढकालका पिता हिरण्यप्रसादको नाम थपेर ‘पृथ्वी हिरण्य मावि’ राखिएको प्रधानाध्यापक प्रेमप्रसाद चापागाईले बताए।

प्रकाशित: २४ वैशाख २०७६ ०३:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App