६ वैशाख २०८१ बिहीबार
राजनीति

संरचनाबिनै कांग्रेसको जागरण अभियान

काठमाडौं - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पार्टीभित्रको आन्तरिक विवादकाबीच राष्ट्रिय जागरण अभियानमा जुटेको छ। महाधिवेशन भएको तीन वर्ष बढि हुँदासमेत पार्टीका निकाय र संरचना गठन हुन नसकेका बेला कांग्रेसले देशव्यापाी अभियान थाल्न लागेको हो। पार्टी संगठनलाई चलायमान बनाउँदै सरकारविरुद्ध जनमत निर्माण गर्ने उद्देश्यसहित अभियान सञ्चालन गर्ने तयारी गरेपनि पार्टीका नेताहरू नै विभाजित छन्। केन्द्रदेखि वडा तहसम्म पार्टीका संरचनाबिनाको अभियानले उद्देश्य प्राप्ति गर्न कठिन हुने नेताहरूको बुझाइ छ। पार्टीका सबै निकाय र संरचना निर्माणपछि मात्र राष्ट्रिय जागरण अभियान सञ्चालन गर्नुपर्ने केन्द्रीय सदस्य प्रदीप पौडेलको बुझाइ छ। ‘पहिलो प्राथमिकता वडादेखि केन्द्रसम्मका संरचना बनाउनमा हुनुपथ्र्यो,’ पौडेलले भने, ‘अभियान चलाएर संरचना होइन संरचना बनाएर अभियान चलाउनु गर्नुपथ्र्यो तर बाटो उल्टो भयो।’

पार्टी सभापति शेरबहादुर देउवा र असन्तुष्ट पक्षबीच सहमति जुट्न नसक्दा कार्यसम्पादन समिति, संसदीय समितिका साथै विभाग गठन हुनसकेको छैन। गत पुसमा काठमाडौंमा सम्पन्न महासमिति बैठकबाट पारित विधानअनुसारका संरचना अहिले नै निर्माण गर्ने कि १४औं महाधिवेशनपछि भन्नेमा सभापति शेरबहादुर देउवा र असन्तुष्ट पक्षबीच विवाद तीव्र बन्न पुगेको हो। नयाँ संविधानअनुसार पार्टीका निर्वाचन र अनुशासन समितिका साथै उपसभापतिको नेतृत्वमा रहेको नीति तथा प्रशिक्षण प्रतिष्ठान विस्तार भएका छन्। तर, नेता रामचन्द्र पौडेलसहित असन्तुष्ट पक्षले सहमतिविपरीत संस्थापन पक्षले समितिहरू गठन गरेको आरोप लगाउँदै आएका छन्। उपसभापति नेतृत्वमा रहेको नीति तथा प्रशिक्षण प्रतिष्ठानका सदस्यहरूको शपथ कार्यक्रमसमेत नेता रामचन्द्र पौडेलले बहिस्कार गरेका छन्।

नयाँ विधानअनुसार कांग्रेसले पाँच सदसीय निर्वाचन समिति गठन गरे पनि पार्टीको विभाग, कार्यसम्पादन समितिसहितका संरचना कुन विधान अनुसार गठन गर्ने भन्नेमा संस्थापन र असन्तुष्ट पक्षविच मतभेद छ। सभापति देउवासहित संस्थापन पक्ष नयाँ विधानअनुसार समिति र पार्टीका निकाय गठन गर्दै जानुपर्ने पक्षमा छन् भने असन्तुष्ट पक्ष विभाग र कार्यसम्पादन समिति पुरानै विधानअनुसार गठनको पक्षमा देखिएका छन्। दुई पक्षबीच सहमति जुट्न नसक्दा विभाग,कार्यसम्पादन समिति गठन हुन सकेको छैन भने पार्टीका प्रदेश समिति गठनका विषयमा नेताबीच मतभेद छ।

नयाँ संविधानअनुसार संघ, प्रदेश र स्थानीय तहका संरचना परिर्वतन भइसकेका छन्। तर, त्यसअनुसार कांग्रेसका नयाँ संरचना निर्माण हुन सकेको छैन। संविधान जारी भएपछि नै १३औं महाधिवेशन गरे पनि कांग्रेस सांगठनिक स्वरूप पुरानै संरचनाअनुसार छन्। जसले प्रदेश कार्यसमिति देखि वडा तहसम्मका समिति गठन हुन सकेका छैनन्। नेताहरुबीच संख्या र विधानमा सहमति जुट्न नसक्दा पटकपटक केन्द्रीय समिति बैठक बोलाएर पनि स्थगित हुँदै आएको छ। उनीहरूबीच सहमति जुट्न नसक्दा केही भ्रातृ संगठनको विधानसमेत पार्टी केन्द्रीय समितिबाट पारित हुनसकेको छैन भने नेपाल विद्यार्थी संघ माघदेखि नेतृत्वविहीन बनेको छ। पार्टीको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघ माघ २ गतेदेखि नेतृत्वविहीन छ भने नेपाल तरुण दलको केन्द्रीय समितिले अझै पूर्णता पाउन सकेको छैन। तरुण दलमा अध्यक्षसहित चारजना मात्र पदाधिकारी छन् भने नेपाल दलित संघ, किसान संघसहितका संगठनले आफ्नो अवधि गुजारी सकेका छन्।

अर्का केन्द्रीय सदस्य श्यमकुमार घिमिरे पार्टीभित्रको अन्तरविरोध र गुटगत स्वार्थका कारण सांगठनिक संरचना समयमा निर्माण हुन नसकेको सुनाउँछन्। पार्टीभन्दा व्यक्तिगत र गुटगत स्वार्थ हाबी भएको आरोप लगाउँदै उनले थपे, ‘पार्टीभित्र गुट खोज्नुपर्ने हो तर गुट र व्यक्तिगत स्वार्थभित्र पार्टी खोज्न थाल्यांै त्यसले समयमा निर्णय लिन र संरचना निर्माण गर्न चुकिरहेका छौं।’ पार्टीले सञ्चालन गर्न लागेको जागरण अभियानले केन्द्रदेखि वडासम्मलाई क्रियाशील बनाउने सहयोग पुग्ने दाबी गर्दै उनले भने, ‘त्यसले मात्र पार्टीसामु देखिएका चुनौतीको सामना गर्न सक्ने बनाउन अन्तरबिरोध कम गरेर गुटभन्दा माथि उठ्नुपर्छ र सैद्धान्तिक स्पष्टता लिन सक्नुपर्छ।’

केही नहुनुभन्दा जागरण अभियानले पार्टीलाई केही क्रियाशील गराउने सुनाउँदै केन्द्रीय सदस्य पौडेलले आन्तरिक विवाद समाधान गर्नमा सहयोगी बन्नेमा आशंका व्यक्ति गरे। ‘संरचना निर्माण नहुँदा र आन्तरिक विवाद कायमै रहँदा केन्द्रले दिएको कार्य पूरा गर्न कठिन छ,’ उनले भने, ‘पार्टीका संरचना बनाउनुभन्दा नियमित अधिवेशन टार्ने र तदर्थ समिति गठनका लागि वाध्यात्मक अवस्था बनाउन खोजिएको त होइन भन्ने आशंका जन्माएको छ।’ कांग्रेसले यसअघि पनि विभिन्न नाम दिएर अभियान सञ्चालन गर्दै आएको थियो। तर, केन्द्रले खटाएका प्रतिनिधि सम्बन्धित जिल्लामा नपुग्ने, गएकाले पनि वास्तविक विवरण केन्द्रलाई उपलब्ध नगराउने र केन्द्रमा प्राप्त भएका प्रतिवेदन र रिर्पोट कार्यान्वयनमा आएका छैनन्। यद्यपि कांग्रेसले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टी पराजयपछि पहिलोपटक तीन चरणको अभियान गर्न लागेको हो। वैशाख ११ गतेबाटै अभियान सुरु गर्ने तयारी गरे पनि पार्टी नेता रामकृष्ण ताम्राकारको निधनका कारण दुई साता पर सारेको कांग्रेसले पार्टी पदाधिकारीलाई प्रदेशस्तरीय सभालाई सम्बोधन गराउनेगरी तयारी गरेको छ। सोअनुसार प्रदेश १ को सुनसरीमा उपसभापति विजयकुमार गच्छेदार, प्रदेश २ को धनुषामा नेता रामचन्द्र पौडेल, प्रदेश ३ को काठमाडौंमा सभापति शेरबहादुर देउवा, गण्डाकी प्रदेशको पोखरामा महामन्त्री पूर्णबहादुर खड्का, प्रदेश ५ को रुपन्देहीमा महामन्त्री डा. शशांक कोइराला, कर्णाली प्रदेशको सुर्खेतमा कोषाध्यक्ष सीतादेवी यादव र सुदूरपश्चिम प्रदेशको धनगढीमा उपसभापति विलेन्द्र निधिले जागरण अभियानको उद्घाटन गर्नेछन्।

केन्द्रीय कार्यसमितिमा रहेका सांसदलाई पहिलो चरणअन्र्तगतको अभियानमा प्रतिनिधि नखटाउने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार पत्रकार सम्मेलन गर्दै केन्द्रीय कार्यसमितिमा रहेका सांसदलाई जागरण अभियानमा प्रतिनिधिका रूपमा नखटाउने जानकारी दिँदै उनले भने, ‘संसद् अधिवेशनमा बढी क्रियाशील रहनुपर्ने भएकाले केन्द्रीय सदस्य एवम् सांसदलाई प्रतिनिधिका रूपमा जिल्ला पठाउने पूर्व निर्णय परिवर्तन गरिएको हो।’

प्रकाशित: २४ वैशाख २०७६ ०२:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App