coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कार्यान्वयन गर्ने आधार नदेखिएको प्रतिपक्षीको आरोप

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको आलोचना गरेको छ। उसले नीति तथा कार्यक्रममा ल्याइका योजना कार्यान्यनका लागि आधार नभएको भन्दै खोक्रो आश्वासन दिएर सरकारले जनता झुक्याएको आरोप लगाएकोे छ। प्रतिनिधिसभामा सोमबार नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्षी दल कांग्रेसका महामन्त्री शशांक कोइरालाले गत वर्ष कुनै रोजगारी सिर्जना गर्न नसकेको सरकारले यो वर्ष ५ लाख रोजगारी सिर्जना गर्ने कुरा खोक्रो आवश्वान मात्र भएको दाबी गरे।

आगामी वर्षभित्र तीन करोड नेपालीको स्वास्थ्य बिमा गर्ने, सबै वडामा प्राथमिक स्वास्थ्य केन्द्र पु¥याउने र स्थानीय तहका केन्द्रमा कालोपत्रे बाटोलगायतका कुरा सम्भव नभएको उनले बताए। ‘कुरा कर्णप्रिय सुनिए पनि यसका लागि समय लाग्ने कुरा घाम जतिकै छर्लङ्ग छ,’ उनले भने। आगामी चार वर्षभित्र दोहोरो अंकको आर्थिक वृद्धिका आधार पटक्कै नभएको भन्दै उनले आगामी एक वर्षभित्र भूकम्प प्रभावितलाई निजी आवास उपलब्ध गराउने र एक हजार मेगावाट विद्युत् उत्पादन गर्ने कुरा वस्तुनिष्ठ नदेखिँने दाबी गरे।

उनले भने ‘मेरो सरकार’ भन्ने शब्दावलीले पुरानै अधिनायकवादी शासकको मनोवृत्तिको झल्को दिएको छ। ‘वर्तमान सरकार कुनै व्यक्तिको सरकार होइन, न त राष्ट्रपतिज्यूले भन्नु भए जस्तो उहाँकै सरकार हो,’ उनले भने। वीरगंज–काठमाडौं र रसुवागढी–काठमाडौं रेल मार्गको डिपिआर दुई वर्षभित्र तयार गर्ने कुराको कुनै सैद्धान्तिक आधार नभएको उनले बताए। वाइड वडीका भ्रष्टाचारी कहाँ छन् र सरकारी जग्गा कसरी तपाईकै पार्टीका नेताको नाममा पुग्यो भन्दै उनले निर्मला पन्तको दिवंगत आत्माले अझै किन शान्ति पाउन सकेको छैन भन्ने प्रश्न गरे।

कोइरालाको प्रश्नको जवाफमा सत्तारुढ दल नेकपाका महासचिव विष्णु पौडेलले बालुवाटारस्थित ललितानिवासको जग्गा अतिक्रमणबारे आफू दोषी भए कारबाही भोग्न तयार रहेको बताए। संसद्को छलफलमा भाग लिँदै उनले भने, ‘ललितानिवासको जग्गाको विषयमा मलाई र अन्य नेतालाई जोडेर आएको छ। यसबारे छानबिन गरियोस्, मेरो त्यहाँ कुनै संलग्नता छैन। दोषी देखिए जुन सुकै कारबाही भोग्न तयार छु।’

उनले नीति तथा कार्यक्रमको बचाउ गर्दै यो समग्रमा सबै विषय समेटेर आएको बताए। नेकपाका सांसद कृष्णभक्त पोखरेलले नीति तथा कार्यक्रम समग्रमा ठीक भए पनि धुरीबाट घोषणा गरेर लागू नहुने बताउँदै समग्रमा नीति तथा कार्यक्रम राम्रो रहेको जिकिर गरे। नीति कार्यक्रम असफल भए नेकपालाई मात्र होइन कसैलाई पनि इतिहासले नछोड्ने उनको भनाइ थियो।

नेकपा सांसद् रेखा शर्माले पनि नीति तथा कार्यक्रम कार्यन्वयनमा चुनौती देखिएको बताइन्। उनले अपांग, घाइतेलाई राहतको विषयमा नीति कार्यक्रमले केही नबोलेको उनले बताइन्। राष्ट्रिय जनता पार्टीका अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुरले राज्य पहिला भन्दा अहिले निरंकुश भएको बताए। पहिला सिंहदरबार निरंकुशताको प्रतिक थियो भने अहिले सिंहदरबारमा जीवित निरंकुशता देखिएको उनले बताए।

कांग्रेस सांसद सीतादेवी यादवले नीति तथा कार्यक्रम गाइजात्रे पुस्तिका जस्तो भएको बताइन्। कांग्रेसका नेता प्रदीप गिरीले मेरो सरकार शब्द त्यति खतरनाक नभएको भन्दै उनले कुन सन्दर्भमा प्रयोग भयो भन्ने कुराले अर्थ राख्ने बताए। हामीले खोजेको व्यवस्था के हो भन्दै उनले जनताले राष्ट्रपति वा प्रधानमन्त्रीमा सादगीपन र सरलताको अपेक्षा गरेको बताए।

कांग्रेसका नेता गगन थापाले ‘मेरो सरकार’ भन्ने राष्ट्रपतिसमक्ष ६ वटा प्रश्न गरेका थिए। उनले राष्ट्रपतिलाई तपाईको सरकारले संसद्लाई आदेश दियो, अदालतलाई तर्सायो, संवैधानिक आयोगलाई गिज्यायो। के यो वर्ष पनि यही नीतिलाई निरन्तरता दिनेछ भन्ने प्रश्न गरे। त्यस्तै चालु वर्षमा तपाईंको सरकारले नागरिकको आधारभूत स्वतन्त्रता खोस्न कानुन बनाउने प्रयास गरेको भन्दै के यो वर्ष पनि तपाईंको सरकारले यही नीतिलाई निरन्तरता दिनेछ भन्ने प्रश्न गरे। उनले राष्ट्रपतिलाई राजाको भद्दा नक्कल गर्न सरकारले उक्साएको, संघीयता कार्यान्वयनका निम्ति बनाउनैपर्ने कानुन नबनाएको, कर्मचारी नपठाएको र स्रोतसाधान मुठ्ठी कसेर राखेको बताए। मुख्यमन्त्रीलाई अञ्चलाधीश जस्तो, स्थानीय तहलाई विभाग जस्तो व्यवहार गरेको भन्दै सरकारले यही नीतिलाई निरन्तरता दिन्छ कि दिँदैन भन्ने प्रश्न गरे।

उनले भने, ‘भ्रष्टाचार गर्दै गर्दिनँ। हुन पनि दिन्न। भयो भने विद्या नस्ट भनेर कसम खायो। तर, एकसे एक काण्डमा प्रधानमन्त्रीले अनुसन्धानलाई प्रभावित गर्ने गरी पहिल्यै फैसला सुनाउनुभयो, यो दोषी यो निर्दोषी भनेर। के यो वर्ष पनि तपाईंको सरकारले यही नीतिलाई निरन्तरता दिनेछ ?’ सरकारले ‘समृद्ध नेपाल सुखी नेपालीको नारा होइन’ अब ‘समृद्ध दमक सुखी केपी ओली’ भन्ने नारा लगाओस् भन्दै उनले सरकारको नीति तथा कार्यक्रम अलमल्एिको निबन्धजस्तो भएकाले आफ्नो कुनै टिप्पणी नभएको बताए।

राष्ट्रियसभामा पनि नीति कार्यक्रमको विरोध
राष्ट्रियसभामा सोमबारबाट सुरु भएको छलफलमा भाग लिने प्रतिपक्षका सांसद्ले नीति तथा कार्यक्रमको विरोध गरेका छन्। कांग्रेस सांसद् राधेश्याम अधिकारीले सरकारले ल्याएको नीति तथा कार्यक्रम संविधानले दिएको अधिकारविपरीत भएको बताए। नीति कार्यक्रममा ‘मेरो सरकार’ भन्ने शब्दको प्रयोग भएकाले त्यस शब्द एकाएक किन ल्याइयो भन्ने प्रश्न गर्दै भने ‘विगतमा यो सरकार भनेर हुने अहिले मेरो सरकार किन भनियो ?’

कांग्रेस सांसद सुरेन्द्रराज पाण्डेले राजतन्त्रका बेला मात्र ‘मेरो सरकार’ भन्ने सुनिएको बताए। सांसद रामनारायण बिडारीले नीतिमा उल्लेख ‘मेरो सरकार’का सम्बन्धमा अनावश्यक विवाद गरिएको बताए। यो सरकार बनेपछि चीन र भारतसँग राम्रो सम्बन्ध विस्तार भएको उनले बताए। सांसद बद्रीप्रसाद पाण्डे, खिमलाल भट्टराईलगायतले पनि सो छलफलमा भाग लिएका थिए।

प्रकाशित: २४ वैशाख २०७६ ०२:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App