४ वैशाख २०८१ मंगलबार
राजनीति

संघीय फोरम–नयाँ शक्ति एकीकरण

काठमाडौं - उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबीच सोमबार एकीकरण भएको छ। राजधानीमा आयोजित कार्यक्रममा यादव र भट्टराईले दुई पार्टी एकीकरण भई समाजवादी पार्टी नेपाल गठन गरिएको घोषणा गरे। एकीकृत पार्टीमा भट्टराई पहिलो वरियतामा, यादव दोस्रो, अशोक राई तेस्रो र राजेन्द्र श्रेष्ठ चौथो वरीयतामा छन्।

सहमतिअनुसार भट्टराई पार्टी संघीय परिषद्को अध्यक्ष र यादव केन्द्रीय समितिको अध्यक्ष बनेका छन्। केन्द्रीय समितिभन्दा माथि संघीय परिषद् हुनेछ। पार्टीमा सबैभन्दा शक्तिशाली महाधिवेशन, त्यसपछि संघीय परिषद् र त्यसपछि केन्द्रीय समिति रहनेगरी अधिकार बाँडफाँट गरिएको छ। एकीकृत पार्टीमा राई वरिष्ठ नेता र श्रेष्ठ सहअध्यक्षका रुपमा रहने भएका छन्। त्यस्तै नवराज सुवेदी, पर्शुराम खापुङ, युवराज कार्की, रकम चेम्जोङ, रेणु यादव, लालबाबु राउत, हिसिला यमी र हेमराज राई उपाध्यक्ष रहेका छन्। महासचिवमा गंगानारायण श्रेष्ठ, रणध्वज कदङ्वा र रामसाह यादव छन्। सचिवमा मोहम्मद इस्तियाक राइ, दुर्गा सोव, पर्शुराम बस्नेत र प्रशान्त सिंह रहेका छन्। एकीकृत पार्टीको कोषाध्यक्ष विजय यादव छन्।

संघीय फोरमले अवलम्बन गर्दै आएको संघीय समाजवाद र नयाँ शक्ति पार्टीले अवलम्बन गरेको समुन्नत समाजवादको आधारमा समुन्नत संघीय समाजवादको सिद्धान्तबाट अघि बढ्ने सहमति भएको छ ।

पार्टी नीति संघीय समाजवाद
एकीकृत पार्टीको मूल सिद्धान्त संघीय समाजवाद हुने तय भएको छ। पार्टी एकीकरण घोषणा कार्यक्रममा प्रस्तुत गरिएको नौबुँदे आधारपत्रमा संघीय फोरमले अवलम्बन गर्दै आएको संघीय समाजवाद र नयाँ शक्ति पार्टीले अवलम्बन गरेको समुन्नत समाजवादको आधारमा समुन्नत संघीय समाजवादको सिद्धान्तबाट अघि बढ्ने सहमति गरिएको छ। साथै संविधान संशोधनमार्फत देशका प्रगतिशील रुपान्तरण, दिगो विकास, समतामूलक समृद्धिको बाटोमा अघि बढ्ने प्रतिबद्धता गरिएको छ।

आधार पत्रको पहिलो बुँदामा नेपालको राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र सामाजिक न्यायका लागि भएका सबै जनआन्दोलन, जनयुद्ध, मधेस जनविद्रोह तथा पहिचान र अधिकारका लागि भएका आन्दोलनमा जीवन उत्सर्ग गर्ने सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता, घाइते र सहिद परिवारप्रति उच्च सम्मान प्रकट गर्दछौं भनिएको छ।

एकीकृत पार्टीले राजनीतिक क्षेत्रमा जनताको सार्वभौमिकता, नागरिक स्वतन्त्रता, बहुलतायुक्त खुला समाज, बालिग मताधिकार, आवधिक निर्वाचन, विधिको शासन, प्रतिस्पर्धात्मक बहुदलीय व्यवस्था, संवैधानिक तथा कानुनी राज्य, मौलिक एवं मानव अधिकार, शक्ति पृथकीकरण, स्वतन्त्र न्यायपालिका तथा प्रेस स्वतन्त्रताप्रति प्रतिबद्धता व्यक्त गरेको छ। यसैगरी एकीकृत पार्टीका मौलिक विशेषतामा संघीय शासन, समाजवादी व्यवस्था, सहभागितामूलक समावेशी लोकतन्त्र, राष्ट्रिय पहिचान, सामाजिक न्याय, समतामूलक समृद्धि, लोककल्याणकारी राज्य र सामाजिक सुरक्षा, सुशासन, सदाचार, समाननुपातिक समावेशीकरण, स्वशासन र स्वायत्तता, सांस्कृतिक बहुलता, समानुपातिक निर्वाचन प्रणाली, पर्यावरणीय सन्तुलन, बहुलतायुक्त समाज र राष्ट्रिय एकतालाई राखिएको छ। पार्टीले संविधानसभाद्वारा गठित उच्चस्तरीय राज्य पुनर्संरचना सुझाव आयोगले दिएको प्रतिवेदनका आधारमा संविधान संशोधन गरी ११ प्रदेश रचना गर्नुपर्नेमा मान्यता लिएको छ।

तत्काल सरकार नछाड्ने संकेत
नवगठित समाजवादी पार्टी नेपालले तत्काल सरकार नछाड्ने संकेत गरेको छ। सहमतिअनुसार संविधान संशोधनलगायतका माग पूरा गर्न सरकारलाई अल्टिमेटम दिने, त्यसपछि पनि माग पूरा नभए सरकार छाड्ने सहमति भएको छ। यस्तो निर्णय यसअघि नै तत्कालिन संघीय समाजवादी पार्टीले गरेको थियो। ‘माग पूरा गर्न सरकारलाई अल्टिमेटम दिनुको आसय तत्काल सरकार छाड्दैनौं भन्ने हो’, एकीकरणपूर्वको संघीय समाजवादी फोरम नेपालका एक केन्द्रीय नेताले भने। यसअघि भट्टराईले पार्टी एकीकरणका लागि फोरमले सरकार छाड्नुपर्ने सर्त राखेका थिए। पछि माग पूरा नभए सरकार छाड्ने निर्णयमा सहमति भएको हो। घोषणासभामा भट्टराईले संविधान संशोधनको माग पूरा गर्न नवगठित पार्टीले आन्दोलनको आँधीबेहरी ल्याउने बताए।

राजपालाई एकीकरणका निम्ति आग्रह
कार्यक्रममा अध्यक्ष यादवले राजपालाई अब पसल थापेर नबस्न आह्वान गरे भने भट्टराईले नयाँ राजनीतक शक्ति निर्माण अभियानमा सहभागी हुन आग्रह गरे।

घोषणा कार्यक्रममा नेपाली कांग्रेसका नेता दमननाथ ढुंगाना पनि सहभागी थिए। उनी मञ्चमै गई नवगठित पार्टीका नेताहरूसँग हात उठाएका थिए तर उनले आफू नवगठित पार्टीमा प्रवेश गरेको घोषणा भने गरेनन्। घुमाउरो किसिमबाट नवगठित पार्टीलाई समर्थन गर्दै उनले नेपालमा वैकल्पिक राजनीतिक शक्ति आवश्यक रहेको बताए।
नयाँ शक्तिसँग एकीकरण गर्नुुअघि अध्यक्ष यादवले राजपासँग पनि पार्टी एकीकरणको प्रयास गरेका थिए। उनले राजपाका नेताहरूसँग दुईतीन चरण अनौपचारिक संवाद गरेका थिए। राजपासँग औपचारिक संवाद हुनुअघि नै यादवले नयाँ शक्तिसँग पार्टी एकीकरण गरेका छन्।

नवगठित पार्टीका केन्द्रीय सदस्य शैलेन्द्र साहले मंगलबार केन्द्रीय समितिको बैठक बस्ने बताए। नवगठित पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्नेलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको उनले जानकारी दिए।

प्रकाशित: २४ वैशाख २०७६ ०१:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App