coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

वर्षामा पनि रसुवागढी नाकाका दुवै सडक सञ्चालन गरिने

रसुवा - चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडक वर्षाको समयमा पनि नियमित सञ्चालनमा ल्याइने भएको छ। वर्षाको समयमा हुनसक्ने सम्भावित सडक अवरोधलाई हटाएर नियमित रूपमा यातायात सञ्चालन गरिने भएको हो।

हाल रसुवागढी नाका जोड्ने दुईवटा सडक सञ्चालनमा रहेका छन्। नाका जोड्ने दुईवटा सडकसहित जिल्लामा रहेका अन्य सडकमा नियमित रूपमा यातायात सञ्चालनका लागि स्थानीय सरकारले मुख्य जिम्मेवारी लिएका जिल्ला विपद् व्यवस्थापन समिति रसुवाले जनाएको छ।

यसअघि जिल्लामा रहेका जलविद्युत् आयोजनालाई मुख्य जिम्मेवार बनाइँदै आएकामा यो पटक जिल्लाका पाँचवटै गाउँपालिकाले जिम्मेवारी लिएका हुन्। जिल्लामा रहेका सडकलाई ६ भागमा वर्गीकरण गरेर काम बाँडफाँड गरिएको छ।
उत्तरगया गाउँपालिकाले चीन जोड्ने छोटो दूरीको बेत्रावती–मैलुङ–स्याफ्रु सडक खण्ड र शान्तिबजार–डाँडागाउँ–ठूलोगाउँ सडक खण्डको जिम्मेवारी लिएको छ। गाउँपालिकाले माथिल्लो त्रिशूली थ्री ए, माथिल्लो त्रिशूली थ्री बी, माथिल्लो त्रिशूली एक र गल्छी त्रिशूली मैलुङ स्याफ्रु रसुवागढी सडक आयोजनासँग समन्वय गर्ने छ।

बेत्रावती कालिकास्थान राम्चे ठाडे सडक खण्डका लागि कालिका र उत्तरगया गाउँपालिका दुवैले आपसी समन्वयमा काम गर्ने छन्। यसका लागि डिभिजन सडक कार्यालय नुवाकोटले सहयोग गर्ने समितिले जनाएको छ। ठाडे धुन्चे स्याफ्रुबेंसी रसुवागढी सडक खण्ड नियमित सुचारु गर्नका लागि चिलिमे जलविद्युत् आयोजना, लाङटाङ भोटेकोशी जलविद्युत् आयोजना र रसुवागढी जलविद्युत् आयोजनाको सहयोगमा गोसाइँकुण्ड गाउँपालिका र आमाछोदिङ्मो गाउँपालिकाले सडक सञ्चालनमा ल्याउने छन्।

बेत्रावती भोर्ले पारच्याङ यार्सा सडक खण्ड अवरोध भएमा नौकुण्ड गाउँपालिकाले सुचारु गर्ने छ। यसमा फलाखु खोला जलविद्युत् आयोजनाले सहयोग गर्ने छ। स्याफ्रुबेसी गत्लाङ मानचेत सडक खण्ड नियमित सञ्चालनका लागि आमाछोदिङ्मो र गोसाइँकुण्ड गाउँपालिका र रोङ्गा चिलिमे थाम्बुचेत सडक खण्ड विभिन्न जलविद्युत् आयोजनाको सहयोगमा आमाछोदिङ्मो गाउँपालिकाले सञ्चालनमा ल्याउने छ।

मनसुनबाट प्रभावित सडक क्षेत्रमा उपकरण सञ्चालनका लागि फ्युल बैंक स्थापना गरिने जिल्ला विपद् व्यवस्थापन समिति रसुवाका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिए।

समितिले जिल्लामा ब्लड बैंक स्थापनाका लागि कार्य अघि बढाउने, प्रत्येक गाउँपालिकामा हेलिप्याड निर्माण गर्ने, वर्षाको समयमा नियमित रूपमा सवारी सञ्चालन गर्नका लागि सडक अवरुद्ध भएमा तत्काल सुचारु गर्ने, खोज तथा उद्दारकर्ता समूह तयारी अवस्थामा राख्ने लगायत १३ बुँदे कार्ययोजना सार्वजनिक गरेको छ।

प्रकाशित: २४ वैशाख २०७६ ०१:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App