८ वैशाख २०८१ शनिबार
समाज

ट्रयाक खोलेको ३४ वर्षपछि कालोपत्रे

धादिङ - निर्माणाधिन धादिङबेंसी–सल्यानटार आरुघाट सडकखण्ड ट्र्याक खोलेको ३४ वर्षपछि स्तरोन्नतिसहित कालोपत्रे सुरु गरिएको छ। धादिङलाई गोरखासँग जोड्ने एक मात्र महत्त्वपूर्ण सडकको रूपमा चिनिएको योे सडकको धादिङबेंसी र टारीबेंसी दुवै तर्फबाट कालोपत्रेको काम सुरु गरिएको हो। सडक बन्न ढिलाइ हुँदा बर्खामा हिलो र हिउँदमा धुलोको समस्याले जनजीवन प्रभावित हुँदै आएको थियो।

जिल्ला सदरमुकाम धादिङबेंसीबाट सल्यानटार जोड्ने २६ किलोमिटर लम्बाईको सडक आगामी असार मसान्तसम्ममा स्तरोन्नतिसहित कालोपत्रे सक्ने लक्ष्य रहेको छ। दुई वर्षभित्र सम्पन्न गर्ने योजनासहित २०७३ पुस १४ गते यो सडक–खण्ड निर्माणका लागि सम्झौता भएको थियो। तोकिएको समयमा निर्माण सम्पन्न गर्न नसकेपछि २०७६ असार मसान्तभित्र निर्माण कार्य सक्ने गरी म्याद थप गरिएको थियो। ७० करोड ११ लाख ७३ हजार रूपैयाँ लागत स्टिमेट रहेको यो सडक–खण्ड लामा कन्स्ट्रक्सनले कालोपत्रे गर्ने जिम्मा लिएको छ। २६ किलोमिटर कालोपत्रे गर्न दुई खण्डमा छुट्याएर कालोपत्रेको काम सुरु गरिएको धादिङबेंसी आरुघाट गोरखा सडक आयोजना प्रमुख नवीनमान श्रेष्ठले बताए। ‘पहिलो चरणको कालोपत्रे गर्ने काम हुँदै छ,’ आयोजना प्रमुख श्रेष्ठले भने, ‘केही बाधा–अवरोध भएन भने निर्धारित समयमा नै काम सक्ने लक्ष्य लिएका छौं।’

२०४२ सालदेखि जिटिजेडको सहयोगमा हरियाली मार्गको रूपमा निर्माण सुरु गरेपछि धादिङबेंसी–सल्यानटार सडकको ट्र्याक खन्न सुरु गरिएको थियो। सडकको ट्र्याक निर्माण भएपछि मर्मत सम्भारका लागि एक करोड हाराहारीमा खर्च भइरहे पनि सडकको अवस्थामा भने सुधार आउन सकेको थिएन।
सडक कालोपत्रे भएसंगै धादिङबेंसीदेखि सल्यानटारसम्म पैंतालीस मिनेटमा नै पुग्न सकिन्छ। सो सडक खण्डको ६० प्रतिशत काम सम्पन्न भइसकेको निर्माण कम्पनीले जनाएको छ। प्रत्येक दिन सरदर एक किलो मिटर सडक स्तरोन्नति गर्ने काम भइरहेको छ।

सडक–खण्डअन्र्तगत नीलकण्ठ नगरपालिकाको मुरली–भन्ज्याङ, पाल्पा र ज्यामरुङ सडक छेउछाउको मुआब्जा अझै टुङ्गिएको छैन। सडक छेउछाउमा रहेका तीन सय कित्ता जमिनको मुआब्जा दिन बाँकी नै रहेको आयोजनाले जानकारी दिएको छ। सडकले अतिक्रमण गरेको जग्गाको सूचना निकालेर मुआब्जा वितरण गरिने आयोजनाले जनाएको छ।
हरेक वर्षादमा हिलो र घाम लागेका बेला धुलोका कारण हैरानी बेहोर्दै आएका सडक छेउछाउका स्थानीय र सो सडक भएर यात्रा गर्ने यात्रुहरू अब हिलो र धुलोको समस्याबाट मुक्त हुने भएका छन्।

सडक निर्माणको कामलाई तीव्रता दिई नागरिकको समस्या चाडो समाधान गर्न स्थानीयले पटकपटक आग्रह गरे पनि कामका ढिलासुस्ती भइरहेको थियो। ढुङगा, गिट्टीलगायत निर्माण सामग्री ल्याउन कठिनाइ भएको र पानी परेका कारण निर्माणमा ढिलाइ भएको ठेकेदार कम्पनीले बताउँदै आएका थिए।

सडक कालोपत्रे गर्न सुरु भएपछि छेउछाउका स्थानीय पनि खुसी भएका छन्। वर्षायाममा जोखिमयुक्त यात्रा र हिलाम्मे बाटो ‘रेलमार्ग’जस्तै बन्ने गरेकोमा कालोपत्रेपछि सहज हुने नीलकण्ठ नगरपालिका–८ का नवराज ढुवाडीले बताए। ‘सम्झौताअनुसार ढिलो भए पनि कालोपत्रे गर्ने काम सुरु भएको छ,’ उनले भने, ‘अब चाहिँ सडकमा सहज तरिकाले हिड्न पाउँछौँ कि ?’यो सडक हुँदै धादिङको उत्तरी क्षेत्र र गोरखाका विभिन्न ठाउँमा आवतजावतका लागि सहज हुनेछ भने सामान ओसार्न सहज हुने स्थानीयको भनाइ छ। सडक निर्माणमा ढिलासुस्ती हुँदा वर्षायाम सुरु नहुँदै स्थानीयले वर्षौदेखि सास्ती भोगिरहेका थिए। भूकम्पपछि घर बनाउने निर्माण सामग्री लैजान साह्रै गाह्रो र महँगो मूल्य तिर्नुपरेको थियो। सडक स्तरोन्नति भएपछि सल्यानटार, आगिन्चोक, ज्यामरुङलगायत दर्जनौं गाउँका कृषि उत्पादनहरू बजारसम्म ल्याउन सहज हुनेछ। धादिङ जिल्लाको सदरमुकाम धादिङबेंसी, पृथ्वी राजमार्गको ७० किलोमिटर र कालुपाण्डे मार्गको १८ किलोमिटरबाहेक जिल्लाको कुनै पनि सडकखण्ड कालोपत्रे छैनन्। ग्रामीण क्षेत्रमा जाने सडकहरू कच्ची छन् भने बनेका सडकहरू पनि स्तरोन्नति नहुँदा स्थानीयले सास्ती व्यहोर्नु परिरहेको छ।

प्रकाशित: २४ वैशाख २०७६ ००:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App