coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

शरिर काँप्ने रोग नेपालमा पत्ता नलाग्ने भएपछि विरामी घर फर्काइयो

पूरैशरिर काँप्ने रोगले थलिएका ७० वर्षीय डम्बरबहादुर समाल र सँगै अन्य विरामी अर्को शैयामा । तस्बिरः महेश्वर/नागरिक

उदयपुर– परिवार (खलकै) शरिर काँप्ने व्यथाले च्यापेर अस्पताल लगिएका उदयपुरका विरामीहरुको रोग नेपालमा पत्ता नलाग्ने ठहरसहित घर फर्काइएको छ। हप्ता दिनअघि घरैबाट उद्धार गरी उदयपुर जिल्ला अस्पतालमा प्रारम्भिक उपचारपछि विराटनगरस्थित न्युरो अस्पताल लगिएका रौतामाई गाउँपालिका ६ नामन्तका समाल मगर परिवारका आधा दर्जन बढी विरामीलाई रोग पत्ता नलागेको भन्दै घर फर्काइएको हो।

न्युरो अस्पतालका नशा रोग विशेषज्ञ टोलीले उनीहरुको स्वास्थ्य जाँच गर्दा रोक पत्ता नलागेको र नेपालमा पत्ता नलाग्ने भन्दै सबै विरामीलाई फिर्ता पठाएको विरामी भलबहादुर समालले बताए। उनका अनुसार डाक्टर टोलीले रोग विराटनगरमा मात्र होईन, काठमाडौंमा पनि पत्ता नलाग्ने भन्दै उपचारार्थ लगिएका ७ जना विरामीलाई घर फर्काइएको छ।

विषेशज्ञ टिमले विरामी सबैको रगत, दिसापिसाव, खकार, मुटु, मृगौला, नशालगायत भित्री बाहिरी सबै अङ्गको परीक्षण गरेको भलबहादुरले बताए। उनका अनुसार चिकित्सक टोलीले उनी र अर्का विरामी पुष्प समालको टाउकोको सिटीस्क्यान पनि गराएका थिए। अन्यको भने टाउको हल्लिएर थाम्नै नसक्ने भएकाले सिटीस्क्यान गर्नै नमिलेको उनको भनाई छ। तर, दुई जनामा गरिएको सिटीक्यानको रिपोर्टले रोग पत्ता नलागेको डाक्टरलाई उद्धृत गर्दै समालले बताए।

‘हामी सबैलाई शरिरको भित्री बाहिरी अङ्ग सबैको चेकजाँच डाक्टरहरुले गरे, मेरो र पुष्पको अलि कम हल्लिने भएकाले टाउकोको सिटीस्क्यान पनि गरियो’ उनले भने ‘तर, रिपोर्टले केही देखाएन भनेर फर्काईदिए।’ सबै विरामीलाई एक महिनालाई पुग्ने औषधी दिएर घर फर्काइएको उनले बताए। ‘अहिलेलाई यो औषधी खाँदै गर्नु, हामी पछि बोलाउँछौं भनेर पठाए’ उनले भने।

२० वर्ष कटेपछि शरिरै काँप्ने अज्ञात रोगबाट पीडित समाल परिवारका विरामीलाई गत १६ गते थप उपचारार्थ न्युरो लगिएको थियो। एक दशकदेखि हात, गोडा काँप्ने, टाउको हल्लिने र केहीपछि पूरै शरिर काँपेर खान, बस्न, हिँडडुल गर्न नसक्ने बनाउँदै अन्तिममा बोली बन्द हुने रोगले दुर्गबहादुर समालको गत चैतमै मृत्यु भइसकेको छ। ३९ वर्षीय दुर्गबहादुरको चैत २९ गते मृत्यु भएपछि बाँकी विरामीहरुको उपचार गर्न रोग पत्ता लगाउन स्थानीयले माग गरे अनुसार उनीहरुलाई उद्धार गरी १५ गते जिल्ला अस्पताल ल्याइएको थियो।

प्रदेश सांसद नारायण बुर्जामगरले गाउँका एउटै परिवारका दर्जन व्यक्तिमा शरिर काँप्ने रोग लागेको भन्दै उपचार गर्न प्रदेशसभामा सरकारको ध्यानाकर्षण गराएपछि स्वास्थ्य निर्देशनालय प्रदेश कार्यालयले निर्देश गरेअनुसार घरमै पुगेर उद्धार गरी उपचारार्थ ल्याइएको वरिष्ठ जिल्ला जनस्वास्थ्य अधिकृत रमेश खकुरेलले बताए। उनका अनुसार ९ विरामी सबैलाई ल्याउन भनेर गाडी घरसम्मै पठाइएकोमा एकजना आउन नसकेको र अर्का एक घरबाहिर रहेकाले बाँकी ७ जनालाई मात्र ल्याइएको हो।

एउटै बाउका छोराहरु डम्बरबहादुर समाल, ६४ वर्षीय तुलबहादुर, बहिनीहरु ६१ वर्षीया नानुमाया, ४० वर्षीया हीरा र ३० वर्षीया ललितालाई एउटै रोग लागेको छ। त्यस्तै भतिजहरु २९ वर्षीय भलबहादुर र २७ वर्षीय पुष्पलाई पनि उस्तै व्यथा लागेको छ। भलबहादुरलाई ७ वर्षअघि वैदेशिक रोजगारीको क्रममा कतारमा रहँदै रोगले छोएको हो भने पुष्पलाई २ वर्षअघि मात्र व्यथा लागेको हो। विरामी सात जनामध्ये ७० वर्षीय डम्बरबहादुरको अवस्था गम्भीर छ। पूरै शरीर हल्लिने भएकाले निमेशभर पनि उठेर बस्न नसक्ने अवस्थामा पुगेका उनको बोली बन्द भईसकेको छ। तुलबहादुर, नानुमाया र हिरा खाना खान, हिडडुल गर्न मुस्किल अवस्थामा छन् भने ललिता र पुष्पका हात हल्लिन थालेका छन्।

२० वर्ष काटेपछि सुरुमा हात, खुट्टा हल्लने, त्यसपछि टाउको अनि पूरै शरिर काँप्ने रोगले गाँजेको समाल परिवार ३ पुस्ता अगाडिका खड्गबहादुर समालको सन्तान दरसन्तानमा लागेको स्थानीय मनोज समाल बताउँछन्। १० वर्षदेखि सुरु भएको व्यथा निको पार्न भने अस्पताल र औषधीको साटो धाँमीझाँक्रीको सहयोग लिदै आएको उनले बताए। मोहनका अनुसार समाल परिवारमा मात्र देखा परेकाले धामीझाँक्री बोलाएर जोखना देखाउँदा कुलदेवता बिग्रेको भनेपछि पितृ पुजा गर्दै रोग निको हुने आसामा एक जनाको ज्यान गएपछि उपचारको प्रयास थालिएको हो।

मगरको बस्ती नामन्तामा यस्तो व्यथा भने समाल परिवार त्यो पनि खड्गबहादुरको सन्तानमा मात्र देखिएकाले सबैको ठम्याई कुलपितृ बिग्रेको भन्दै धामी लगाउँदै आएको प्रदेश सांसद बुर्जामगरले बताए। उनले दशकअघि नै रोगले च्यापेको भए पनि एक जनाको मृत्यु भएपछि मात्र हल्ला खल्ला भएर आफुसम्म आईपुगेपछि अस्पताल ल्याउन पहल गरेको बताए। उनले डाक्टरहरुले यसलाई ‘न्युरोलोजिकल डीजेनेरोटिभ डिसअर्डर’ भन्ने रोग हुनसक्ने भन्दै उपचार गर्न सकिने बताए पनि विराटनगर लैजाँदा नेपालमै रोग पत्ता नलाग्ने भनेपछि घर फर्काइएको बताए।

एक महिनाका लागि दिएको औषधीले देखिने प्रतिक्रियापछि उपचार कता गर्ने भन्ने विषयमा टुंगो लाग्ने उनले बताए।

सबै विरामी गरिब परिवारका भएकाले उपचार खर्चसमेत नभएर चन्दा उठाएर १२ हजार ५ सय उपलब्ध गराएको सांसद मगरले बताए। विरामीहरुलाई घरबाट गाईघाट हुँदै विराटनगरसम्म लैजान जिल्ला जनस्वास्थ्य कार्यालयले गाडीको व्यवस्था मिलाएको तथा विराटनगरदेखि घर फर्काउन रौतामाई गाउँपालिकाले सहयोग गरेको जनाइएको छ।

प्रकाशित: २३ वैशाख २०७६ ०८:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App