५ वैशाख २०८१ बुधबार
अन्य

चेम्बरका नायक

मिलनसार र हँसिला राजेशकाजी श्रेष्ठ मुलुकको उद्योग व्यवसाय क्षेत्रको एक परिचित नाम हो। तीन दशकभन्दा धेरै समय व्यवसाय क्षेत्रमा बिताइसकेका श्रेष्ठ २२ वर्ष त नेपाल चेम्बर अफ कर्मसमा संलग्न छन्। चेम्बर अफ कमर्सको अध्यक्ष रहेका श्रेष्ठको मुख्य व्यवसाय भनेको होटल, ट्राभल तथा विभिन्न सामग्री आयातमा पनि संलग्न छन्।

शाही कालमा मुलुकको मन्त्रीसमेत बनेका श्रेष्ठले जिन्दगीको झन्डै ६ दशक लामो यात्रामा कमाएको सबैभन्दा ठूलो सम्पत्ति साथीभाइ ठान्छन्। मुलुकको विभिन्न आर्थिक नीति निर्माणमा योगदान दिएका, व्यापारमा दख्खल राख्ने नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष श्रेष्ठसँग नागरिक परिवारका लागि विश्वमणि पोखरेल र सन्तोष न्यौपानेले गरेको कुराकानीः

मुलुक संघीयतमा गएसँगै तल्लो तहदेखि माथिसम्म व्यापार व्यवसायको अवस्था कस्तो छ?
स्थानीय तहको अवस्थाको बारेमा सरकारलाई नै बुझ्न गाह्रो भइरहेको छ। कतिपय अवस्थामा स्थानीय तह र संघबीच ऐन कानुन बाझिएका पनि छन्। जस्तो कि, उद्योग दर्ता गर्दा स्थानीय तहले सिफारिस गरेपछि दर्ता गर्ने कि पहिले दर्ता गरेर स्थानीयको सिफारिस इआइए लिने भन्ने विवाद जस्तै छ।

स्थानीय तहका अधिकारीलाई ऐन, कानुन, कर, राजश्व लगायतका विषयमा तालिम वा प्रशिक्षण दिनुपर्छ। संघ र स्थानीयबीच सम्बन्धित विषयमा समन्वय गर्न जरुरी देखिएको छ।

संघ, प्रदेश र स्थानीय तहको बीचमा नीतिगत विषयमा स्पष्टता कति भइसकेको छ?
यो एक प्रक्रियाको कुरा हो। नीतिगत सुधारका विषय भइरहने विषय पनि हो। मुख्य विषय भनेको सिस्टम र नीतिगत स्थिरता हो। एउटा व्यक्ति आउँदा एक किसिमको नीति र अर्को आउँदा अर्को बनाउनु हुँदैन। नीतिमै स्पष्ट रुपमा उल्लेख भएको हुनुपर्छ, जसले गर्दा जुन व्यक्ति आए पनि फरक नपरोस्।

यस्ता विषयमा कोसिसहरु भइरहेका छन्। माथिल्लो तहमा काम गरौं, छिट्टै गरौं भन्ने सोच छ तर तल्लो स्तरलाई बुझाएर सँगै लैजान पनि आवश्यक छ।

भर्खर लगानी सम्मेलन सकिएको छ। सम्मेलनमा सहभागी भएका व्यक्तिहरु वा लगानीकर्ताको भावना कस्तो पाउनु भयो?

यो सम्मेलनमा मुख्य तीन किसिमका व्यक्तिहरुको सहभागिता देखियो। पहिलो, यही उद्योग व्यवसाय गरिरहेकाहरु जसलाई यहाँको नीति नियम बारेमा स्पष्ट थाहा छ। यो वर्गले व्यवसाय गर्दा भोगिरहेको समस्या समाधान होऊन् भन्ने चाहन्छन्।

दोस्रो, केही लगानी गर्न चाहेर आएका व्यक्तिहरु छन्। हेरौं नेपालमा कस्तो छ, लगानी गर्न सकिन्छ कि भनेर आएका व्यक्तिहरु छन्। उनीहरुलाई आ–आफ्नो देशका दूतावास, कूटनीतिज्ञ, सरकारले बोलाएका व्यक्ति हुन्। उनीहरु केही ठाउँमा लगानी गर्न चाहन्छन्।

तेस्रो किसिमका सहभागी भनेको खाली नेपालको बारेमा बुझ्न आएका छन्। उनीहरु यहाँको ऐन, कानुन, वातावरणको बारेमा बुझ्न चाहन्छन्। चित्त बुझेमा लगानी ल्याउन सक्ने खालका लगानीकर्ता हुन् उनीहरु।

अहिले लगानी बोर्डमा थप बुझ्न, छलफल गर्न आउनेको संख्या वृद्धि भइरहेको छ। यो एक किसिमको राम्रो पक्ष हो। सम्पर्क गर्नेहरुलाई लगानी गर्न सक्ने बनाउन आवश्यक छ।

केही परियोजनामा धेरै जनाले लगानी गर्ने इच्छा पनि देखाइरहेका छन्। यस्तो स्थितिमा कसलाई दिँदा राम्रो हुन्छ भन्ने निक्र्यौल गर्न सक्नु पर्छ। इच्छा देखाएका सबै चुप लागेर पो बस्ने हुन कि! यस बारेमा पनि चनाखो हुन आवश्यक छ। उनीहरुलाई थप केही जानकारी आवश्यक छ कि, केही कुरा चित्त बुझेको छैन कि वा सुविधाको बारेमा केही जानकारी दिनु पर्छ कि! यी विषयमा हामीहरुले पहल गर्नुपर्छ।

लगानी सम्मेलन सोचेअनुरुप भएन भन्ने पनि छन्। कत्तिको सफल भयो यो सम्मेलन?
कुनै पनि विषयमा सतप्रतिशत खोजेर हुँदैन। लगानी पनि क्षेत्रअनुसार फरक पर्छ। हामीले मुख्य त हाइड्रो, पर्यटन कृषि र जडिबुटी र खनिजमा लगानी ल्याउने पहल गर्नुपर्छ भनेर हामीले सुझाव दिएका थियौं। हामीले सकेसम्म यहीँको कच्चा पदार्थ प्रयोग गर्ने उद्योग आए हुन्थ्यो भन्ने चाहन्छौं। हाम्रो भौगोलिक अवस्था लगायतका कारणले लगानीकर्ताले केही असुविधा हुन्छ कि भन्ने सोचिरहेका हुन्छन्।

यी क्षेत्रमा कस्तो आकर्षण देखियो त?
ऊर्जा, पर्यटन, कृषि लगायतका क्षेत्रमा लगानी गर्ने भन्ने देखियो। निजी क्षेत्रले पनि आफ्नो परियोजना प्रस्तुत गरेका थिए। ४० देखिबाट ७ सय प्रतिनिधि आएर जुन किसिमको एक माहोल बन्यो, यसले अर्को पटकलाई ब्रान्डिङ गरेको छ। आगामी दिनमा नेपालमा लगानी गर्न सक्ने क्षेत्र हो भन्ने प्रचार भएको छ। जति आउँछु भनेका छन्, तिनीहरुलाई फलोअप गर्नु सबैभन्दा महत्त्वपूर्ण विषय हो। प्रतिबद्धता गरेको लगानीको कसरी आउँछ भनेर सरकारले अझै राम्रो गृहकार्य गर्न आवश्यक छ।

लगानी सम्मेलनमा आएकाहरुलाई आगामी मे महिनासम्मको समय दिइएको छ। मे महिनासम्म आफ्ना प्रतिबद्धता र दर्ता गर्ने समयसीमा दिइएको छ।

मुलुकमा लामो समयपछि राजनीतिक स्थिरता छ। आर्थिक पक्षबाट हेर्दा मुलुकको अवस्थालाई कसरी विश्लेषण गर्न सकिन्छ?
अहिलेको सरकारले धेरै ठाउँमा ऐन कानुन बनाउने, अनुशासन कायम गराउन लागेको छ। सरकारले एकै पटक सबै ठाउँ हात हालेको छ। यसले गर्दा हुने ठाउँमा भइरहेको छैन, नहुने ठाउँमा भइरहेको छ।

सबैले आफ्नो ठाउँमा काम गरिरहेको देखिन्छ। सबै जना खुसी पनि देखिँदैनन्। लगानीकर्ता सिधै बैंकसँग जोडिएका हुन्छन्। बैंक र लगानीकर्ताबीच सुरुमा जसरी समझदारी भएको हुन्छ,  त्यो पछि बढेर जान्छ। यसले गर्दा पनि लगानीकर्ता खुसी देखिँदैनन्।

अर्को, स्थानीय तहमा कर उठाउनेदेखि अन्य विषयमा पनि उद्योग व्यवसायी विश्वस्त हुन सकेका छैनन्। व्यावहारिक स्पष्टता हुन सकेको छैन। काम गर्न कठिनाइहरु छन्। करको विषयमा स्थानीय तह, प्रदेश, संघबीच समन्वय हुन सकेको छैन। कति ऐन कानुनमै दुविधा छ। अहिले एक किसिमको अन्योलको अवस्था छ।

तल्लो तहबाट सुधार गरेर उद्योग व्यवसायीलाई ढुक्क बनाउन सक्नुपर्छ। हाम्रो सोचाइ पनि अब आआफ्नो अनुशासनमा रहनु पर्छ भन्ने हो। खाली भाषण गरेर तर्साएर मात्र भएन, कुन–कुन ठाउँमा मिलाउने हो, कुन नीति नियम सुधार गर्नुपर्ने हो, कस्तो निर्देशिका जारी गर्ने हो भन्ने काम गर्न आवश्यक छ।

सबै ठाउँमा एकै पटक गर्छु भनेर सकिँदैन। सुधार गर्नुपर्ने ठाउँहरु धेरै छन्। एकपछि अर्को क्षेत्रमा सुधार गर्दै जानुपर्छ। समयावधि तोकेर काम गर्नुपर्छ। मुलुकको व्यवहारिक अवस्थालाई बुझेर काम गर्नुपर्छ।

लगानीको विषयमा उद्योग व्यवसायी पर्ख र हेरको अवस्थामा छन् कि जस्तो देखिन्छ नि?
पर्ख र हेर भन्ने विषय सधैँ हुने विषय हो। लगानी भइरहेको पनि छ तर अझ पनि व्यवस्था परिवर्तन हुँदा त्यसमा थप स्पष्टता आवश्यक हुन्छ।

पहिला हामी खुला थियौं अहिले केही कसिएका छौं। भारत पहिले मुठ्ठीमा कस्सिएको थियो र अहिले खुला भएको छ। अहिलेको विश्वव्यापीकरणमा संकुचित भन्दा पनि थप खुला हुन आवश्यक छ।

हाम्रो नीति नियम पहिला खुला थियौं तर अहिले साँघुरा भएका छन्। शंका उपशंका भएर हाम्रो ऐन कानुन संकुचित भएको देखिन्छ। संसार थप खुला हुने अनि हामी भने पुरानै अवस्था बस्नु भएन भन्ने मेरो विषय हो। अझ अगाडि जानुपर्छ, पछि हट्ने होइन।

खुला हुनुपर्छ भन्ने द्विविधा रहेको कहाँ हो? राजनीतिक दल, नीति, व्यवसाय वा अन्य क्षेत्रमा?
हामी संकुचित भएको हाम्रो सोचाइमा हो। हाम्रो सोचमा अलि बढी खुला हुनु आवश्यक छ। अहिले मुलुकमा जति पनि समस्या छन्, ती समाधान गर्ने विषयमा खुला रुपमा सोच राख्न आवश्यक छ। सरकारले निजी क्षेत्रलाई विश्वासमा लिन सक्नु प-यो। शंका उपशंकाले हेर्नु भएन। मुखले मात्र भनेर भएन व्यवहारिक रुपमा हुनुपर्छ।

निजी क्षेत्र सिधै ठोक्किने मन्त्रालय वा निकायहरु निजी क्षेत्र अनुकुल भएनन् भन्ने भनाइ छ। निजी क्षेत्र र सरकारबीचको सम्बन्ध कस्तो छ?
पहिला जस्तो अहिले मन्त्रालय पुगेर कुरा राख्नु पर्ने अवस्था छैन। हिजोआज मोबाइल, एसएमएसबाट पनि धेरै कुरा आदनप्रदान भइरहेका छन्। हामीलाई परेको अप्ठेराहरु पनि यसैबाट पनि समाधान भइरहेका छन्।

पहिलेको र अहिलेको निजी क्षेत्रको व्यवहार पनि फरक भइरहेको छ। सरकारले जति पनि प्रतिबद्धता गरेको छ, त्यो कार्यान्वयन नभएको अवस्था छ। कतिपय विषयहरु एक निकायले काम गरेपछि अर्कोले रोक्ने देखिन्छ। यस्ता विषयले पनि अलि अप्ठेरो पारिरहेको छ।

वैदेशिक व्यापारको अवस्थाका बारेमा तपाईंलाई धेरै जानकारी भएको नाताले अहिलेको अवस्थालाई कसरी लिनु भएको छ?
भारतसँगको धेरै व्यापार घाटा हुनुको कारण इन्धन नै हो। इन्धनको प्रयोगलाई जति सक्दो कम गर्नु नै व्यापार घाटा कम गर्दै जाने महत्त्वपूर्ण उपाय हो। यसको लागि बढीभन्दा बढी विद्युतीय यातायात र विद्युतीय सामग्रीका साधन प्रयोग गर्नेतर्फ जोड दिँदै जानुपर्छ।

हामीले लगाउने उद्योगको छनोटमा पनि ध्यान दिनुपर्छ। सबै कच्चा पदार्थ बाहिरबाट ल्याएर उद्योग सञ्चालन गर्दा व्यापार घाटा कम हुन सक्दैन। मुलुकभित्रै कच्चा पदार्थ उपलब्ध हुने उद्योगलाई प्राथमिकतामा राख्न आवश्यक छ। कृषि, पर्यटन, जडिबुडी, ऊर्जाजस्ता क्षेत्रमा आफ्नै कच्चा पदार्थ धेरै उपलब्ध भएका क्षेत्र हुन्।

चीन तर्फको नाकाहरु खोल्ने भनिएको छ। नाका खोल्दैमा फाइदा हुने होइन। हाम्रोतर्फका पूर्वाधारहरु बनाउन आवश्यक छ।

पहिले जस्तो हेन्डिक्राफ्ट मात्र निर्यात गरेर पनि हुँदैन। रसुवा, धादिङ, नुवाकोट लगायतका क्षेत्रबाट के निर्यात गर्न सकिन्छ त्यसमा पनि हेर्नुपर्छ। प्रोसेस गरेर निर्यात गर्न सक्ने खालको कृषि उत्पादन लगायतका वस्तुमा जोड दिनुपर्छ। तातोपानी, हुम्ला जस्ता क्षेत्रबाट के पठाउन सकिन्छ, हेर्नुपर्छ।

नेपालले चीन हुँदै तेस्रो मुलुकबाट सामान ल्याउन विभिन्न नाका खोल्न, बन्दरगाह प्रयोग गर्न दिन तयार छ। यो सुविधालाई प्रयोग गर्न हामीले गर्नुपर्छ?
चीनबाट हाम्रो सीमा क्षेत्रसम्म कुनै पनि सामान ल्याउन सस्तो छ तर त्यहाँबाट काठमाडौंसम्म ल्याउन धेरै महँगो छ। यसको लागि भौतिक पूर्वाधारबाहेक विद्यमान सिन्डिकेट हटाउन जरुरी छ। हवाइभाडामा समेत महँगो छ। कार्टेलिङ गरेर महँगो बनाउने प्रवृत्ति हटाउनु पर्छ।

भारतसँग आयात निर्यात धेरै भए पनि चीनसँग पनि सम्बन्धलाई बढावा दिन आवश्यक छ। कुनै पनि देशलाई एकाधिकार हुने वातावरण बनाउन भएन।

भारतसँग कुनै पनि काम गर्दा ‘विन विन’ अवस्थामा गर्नुपर्छ। सरकार, विपक्ष, राजनीतिक नेताहरुमा डर हटाउन आवश्यक छ। भारतसँग काम गर्दा अर्को तिरको डर, चीनसँग गर्दा भारतको डरलाई हटाउन सक्नुपर्छ । सबैलाई सन्तुलनमा राखेर काम गर्न सक्नुपर्छ।

हाम्रो उत्पादनमा लागत मूल्य बढी भएर प्रतिस्पर्धा गर्न सक्दैनौं भन्ने अवस्था छ । हाम्रो उत्पादन कसरी प्रतिस्पर्धी बनाउन सकिन्छ?
वस्तु उत्पादनमा केही सुधार भइरहेको छ। बाटो सुधार भइरहेका छन्। भोलि रेल पनि आउला। हाम्रोमा समुद्र छैन। यसले पनि लागत धेरै नै हुन्छ। सरकारले सहुलियतको व्यवस्था गर्नुपर्छ।

हामीले वैदेशिक व्यापारलाई सन्तुलन राख्ने आयातको कम्तीमा ४० प्रतिशत निर्यात गर्न सक्नु पर्छ। बाँकी ६० प्रतिशत विद्युत, कृषि, जडिबुटी, शिक्षा क्षेत्रबाट परिपूर्ति गर्न सक्नुपर्छ। पर्यटनसँग जोडिएका उद्योगहरुलाई जोड दिनुपर्छ।
तपाईं लामो समयदेखि व्यापारमा हुनुहुन्छ। मुलुकमा उत्पादनभन्दा उपभोग बढी छ। अहिलेको अवस्थामा व्यापारको अवस्था कस्तो छ?

मुलुकको परिस्थिति, भौगोलिक अवस्थाको वास्तविकतालाई मनन् गर्न जरुरी छ। मुलुकमा समुद्र नभएको र कच्चा पदार्थ उत्पादन हुन नसकेको अवस्थमा औद्योगिकीकरण गर्छौं भन्नु गाह्रो कुरा हो। हामीले गर्न सक्ने उद्योग के हो? हामीले प्रतिस्पर्धा गर्न सक्ने के हो? त्यो हेर्नुपर्छ। केही सामान आयात हुँदा उपभोक्तालाई सस्तो पर्छ भने आयात पनि गर्नुपर्छ।

विश्व बजारमा सामानहरु निकै सस्तो छन्। हामी भने महँगो तिर्न/खान बाध्य छौं। यसलाई कसरी सामाधान गर्ने?
यसमा कुन सामान ल्याउँदा सस्तो पर्छ र कुन सामान यहीँ उत्पादन गर्न सस्तो हुन्छ, यसमा ध्यान दिन जरुरी छ। जस्तो कि कुनै समय कुखुरा थाइल्यान्डबाट पनि आउँथ्यो। अहिले यहीँ उत्पादन भइरहेको छ। अन्डा भारतबाट आउँथ्यो। अहिले बन्द भइसक्यो।

भविष्यमा चामल पनि यसरी नै आयात बन्द गराउन सक्छौं। नसक्ने वस्तुमा उत्पादन नै गर्छु भनेर पनि हुँदैन।

नेपाल उद्योग वाणिज्य संघ र नेपाल चेम्बर अफ कमर्सले आ–आफ्नै तरिकाले काम गरिरहेका छन् । यि संस्थाको भिन्नता के हो?
भिन्नता खासै केही होइन। नेपाल चेम्बर सबैभन्दा पुरानो र नेपाल चेम्बरले उद्योग वाणिज्य महासंघ जन्माएको हो। जसरी सरकारले संघीय संरचना बनायो, त्यसैगरी नेपाल चेम्बर पनि जिल्लामा गएको छ। अहिले जिल्लाहरु पनि सदस्यहरु भएका छन्।

एफएनसिसिआई वा चेम्बर भनेको निजी क्षेत्रको हकहितको लागि एउटै उद्देश्य भएको संस्थाहरु हुन्। हामी हरेक काममा सहभागी छौं। हाम्रो मत एउटै छ। कहिलेकाहीँ केही विवाद जस्तो निस्कने गर्छ तर त्यो सामान्य हो। हामीबीच कुनै केही समस्या वा विवाद छैन। व्यक्तिगत रुपमा पनि मेरा केही समस्या वा विवाद छैनन् भन्ने लाग्छ।

आयातलाई नियन्त्रण गर्ने वा रोक्ने विषय आइरहेको छ। तपाईंको विचार?
आयात रोक्ने भन्ने विषय विश्व व्यापार संगठन (डब्लुटिओ)को सिद्धान्तसँग मिल्दैन तर नेपालमा बनिरहेको सामानलाई प्रोत्साहन गर्न त्यो सामान आयातमा केही नियन्त्रण गर्ने विधि अपनाउन सकिन्छ। मुलुकमै उत्पादन हुने र यहाँको भौगोलिक अवस्थाको उद्योगलाई प्रोत्साह हुने खालको हुनुपर्छ।

विलासिताका सामानहरुको आयातलाई रोक्नुपर्छ। शोखका  वस्तुहरु ल्याउन रोक्नु पर्छ। धेरै महँगा वस्तुको आयात रोक्ने अधिकार सरकारलाई छ। अर्कोतिर, राजश्व संकलन पनि हेर्नु पर्छ।

३० वर्ष अघिको माग र अहिलेको मागमा कति फरक छ?
हामीले व्यापार सुरु गर्दा र अहिलेको अवस्थामा धेरै फरक छ। पहिले कुनै सामान ल्याउँदा कहाँ बेच्ने भन्ने समस्या थियो। अहिले १० कन्टेनर आए पनि बिकिरहेका छन्।

बजार ठूलो भएको छ। क्रयशक्ति पनि बढेको छ। बजार विस्तार पूर्वदेखि पश्चिमको अर्को कुनासम्म फैलिएको छ। पहिले ठूला पसल भनेको काठमाडौमा मात्र थियो भने अहिले यो गाउँ–गाउँ विस्तार भइसकेको छ।

व्यवसाय कसरी सुरु गर्नु भयो?
२०३६ सालदेखि मैले व्यापारमा हात हालेको हुँ। मेरो बुबाले भारतमा व्यापार गर्नुहुन्थ्यो। मैले पनि भारतबाटै सुरु गरेँ। पछि काठमाडौं, ज्याठामा होटल पनि गरेँ। होटल गर्दागर्दै चेम्बरमा आएँ। चेम्बरमा गएपछि होटल पनि बिर्सें। चेम्बरमा हाइहाइ भयो। साथीभाइ कमाएँ। अध्यक्ष भएपछि फुर्सद पनि कम हुँदै गयो। बीचमा केही विवाद भयो। ८ वर्ष चेम्बरबाहिर बसें। पछि साथीहरुले आउनु प-यो भनेर बोलाउनु भयो। अहिलेसम्म जारी छ।

तपाईं त मन्त्री पनि हुनु भयो नि!
हो, राजाको समयमा नेपाल चेम्बरका तर्फबाट मन्त्री पनि भएँ। त्यो बेला मैले यो मन्त्री भन्दा चेम्बर नै ठीक छ भनेर सोचेको पनि थिएँ तर साथीहरुले गाली गरे। मन्त्री नै बन्नुपर्छ भनेर साथीहरुको सल्लाहपछि मन्त्री बनेको हुँ।

‘फरेन पोलिसी इन्स्टिच्युट,’ भारतबाट अनररी डक्टरको उपाधि पनि पाएको छु। भियतनामको अनरी कन्सुलेट पनि भएको छु।

व्यवसाय छ चलाइरहनु भएको छ, चेम्बर अफ कमर्सको अध्यक्ष पनि हुनुहुन्छ। विभिन्न ठाउँमा हिँडिरहनु हुन्छ। समय कसरी मिलाइरहनु भएको छ?
यो सबै आफ्नै विषय हो। समय भएसम्म सबै ठाउँ पुगिरहेको हुन्छु। नसक्ने भएमा आउन सक्दिनँ है भनेर स्पष्ट भनिदिन्छु। म समयको विषयमा नियमित छु। समयलाई ध्यान दिनुपर्छ भन्ने सोच्छु। म हरेक ठाउँमा तोकिएको समयभन्दा पाँच मिनेट अगाडि पुगेको हुन्छु।

बिहान–बेलुकाको समय कसरी बिताउनुहुन्छ?

बिहान साढे पाँच बजेतिर उठेर हेल्थ क्लब जान्छु। कहिले हिँड्छु । ८ बजेतिर फर्केर पूजापाठ गरेर बिहान बित्छ। कहिलेकाहीँ बिहानै मिटिङ पर्छ र सिधै त्यतै लाग्छु। बिहान केही समय मोबाइलमा पनि बित्छ। अनलाइनमै समाचार हेरेर केही समय जान्छ। त्यसपछि खाना आएर अफिस जान्छु।

साँझ सकभर घरमै खाना खान पाए हुन्थ्यो भन्ने लाग्छ। सकेसम्म भोजमा जान नपाए हुन्थ्यो भन्ने लाग्छ। पहिला निम्तो नआएर दुःख, अहिले निम्तो धेरै आएर दुःख छ। भोज गएँ भने सकभर ८ बजेसम्म घर फर्कन्छु। सहभागी हुन मात्रै कतिपय भोजमा त म घरमै खाएर पनि जान्छु। बेलुका साढे १० तिर म सुतिसकेको हुन्छु।

मैले जिन्दगीमा कमाएको भनेको साथीभाइ हो। सबैले सम्झन्छन्। सबैकहाँ जानुपर्ने हुन्छ। म स्कुल पढ्दादेखि धेरै साथी बनाउँथेँ। स्कुल पढ्दाताका कसैले सोधे साथीहरु  डाक्टर, इन्जिनियर बन्छु भन्थे तर म त्यो बेलादेखि नै साथीभाइ कमाउँछु भन्थें।

मेरा अहिले गनेर नसकिने साथीहरु छन्। मेरो मोबाइलमा मात्र पाँच हजार जना छन्। कतिले त मलाई अपरेटर बनाउँछन्, नम्बर मागेर। के म तिम्रो अपरेटर हो भनेर पनि जिस्काउँछु। मेरो स्कुल र कलेजका साथीहरुको छुट्टाछुट्टै समूह छ । मेरो विवाहमा साथीभाइहरु धेरै भएर दुई दिन भोज गर्नु परेको थियो।

परिवारमा को–को हुनुहुन्छ?
मेरी श्रीमती रेमिना श्रेष्ठ छिन्। उनले घर सम्हाल्छिन्। घर सम्हाल्ने काम हामीले बाहिर गर्ने भन्दा ठूलो हुन्छ। एक छोरा रजुल र दुई छोरी छन्, रिया र नेहा। ज्वाइँ ईशखण्ड अमात्य हुनुहुन्छ। उहाँ पनि व्यापारमै हुनुहुन्छ। पहिलो छोरीपछि दोस्रो सन्तानका रुपमा एक छोरी र छोरा जुम्ल्याहा जन्मेका थिए।

प्रकाशित: २३ वैशाख २०७६ ०७:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App