coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

स्क्वासको पूर्वाधारका लागि डेढ करोड प्रस्ताव

पोखरा रंगशालाभित्र स्क्वासको भौतिक संरचना, जहाँ एउटा कोर्ट छ। नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला तथा पुरुषको इभेन्ट सञ्चालन गर्न कोर्ट तयार गर्नुपर्ने आवश्यकता छ। तस्बिरः धन/नागरिक

पोखरा–रातो घरबाट सुरु भएको स्क्वास खेलको दुई दशक बित्यो। पस्र्याङस्थित राम कोइरालाको निजी घरबाट सुरु भएको स्क्वासले दुई दशक फड्को मार्दा आम सर्वसाधारणको पहुँचभित्र बल्ल पुगेको छ। घरभित्रै सीमित रहेको खेल स्क्वास पोखरा रंगशाला परिसरभित्र छिरेपछि मात्र सर्वसाधारणप्रति चासो र अभिरुचि बढ्दै गएको हो।

यद्यपि सातौं र आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पश्चिमाञ्चल र गण्डकी प्रदेशले दुई स्वर्ण पदक जित्दै इतिहास कोरिरहँदा नवौं राष्ट्रिय खेलकुदमा भने क्लिन स्विप गर्ने योजनामा छ। निजी घरभित्र सीमित खेलाडीले मात्र खेल्दै आएका थिए।

सर्वसाधारणलाई त्यसबारे जानकारी नै थिएन। दुई वर्षअघि मात्र निजी लगानीमै स्क्वासको भौतिक संरचना निर्माणसँगै बनाइएको एउटा कोर्टले आम सर्वसाधारणको चासो बढाइदिएको छ। त्यही एउटा कोर्टमा गण्डकी प्रदेशस्तरीय छनोट खेल टुंग्याउँदै आठौंं राष्ट्रिय खेलुकद प्रतियोगितामा खेलाडी पठाइएको थियो।

गण्डकी प्रदेशको पोखरामा मात्र स्क्वासको भौतिक संरचना निर्माण गरिएको छ। पोखराभन्दा बाहिरी क्षेत्रमा भने यो खेलको विस्तार हुन सकेको छैन।


‘पोखरामा स्क्वास खेलको विकास पस्र्याङको रातो घरबाटै सुरु भएको हो। हिजो कोर्ट सीमित घेराभित्र मात्र थियो। निजी लगानीमै रंगशालाभित्र भौतिक संरचना तयार भएपछि सबैले चासो दिन थालेका छन्,’ स्क्वास -याकेट एसोसिएसन कास्कीका अध्यक्ष पुष्पराज श्रेष्ठले भने, ‘रंगशालाभित्र भएपछि स्क्वासको प्रचारप्रसार बढेको छ । नयाँ खेलाडीले खेल्न चासो दिएका छन्।’ उनले अब विद्यालयस्तरदेखि नै स्क्वास खेलको प्रचारप्रसार गर्दै सुरुवात गर्ने बताए। ‘अभियान चलाएका छैनौं तर सोच भने छ,’ उनको भनाइ थियो।

नेपालमा स्क्वास खेल फराकिलो बन्न सकेको छैन। गण्डकी प्रदेशका अन्य जिल्लामा पुग्न सकेको छैन। पोखरामा मात्र स्क्वासको भौतिक संरचना निर्माण गरिएको छ। पोखराभन्दा बाहिरी क्षेत्रमा भने यो खेलको विस्तार हुन सकेको छैन।

काठमाडौंमा पनि यस खेलको संरचना निर्माण गरिएको छ। केही क्षेत्रले आफ्नो व्यक्तिगत पहलमा निर्माण गरे पनि प्रभावकारी बन्न सकेको छैन। ‘बाहिर कोर्ट छैन। त्यसैले प्रचारप्रसार हुन सकेको छैन,’ उनले सुनाए, ‘अब विस्तारै स्क्वासले गति लिनेमा विश्वास छ।’

पोखरा रंगशालाभित्र टेनिस कोर्टभित्रको जग्गामा स्क्वासको संरचना बनाइएको छ। संरचनाभित्र एउटा मात्र कोर्ट छ। दुई वटा कोर्ट बनाउनुपर्ने आवश्यकता छ।

दुईवटा कोर्ट निर्माण गरे नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई पर्याप्त हुने संघका अध्यक्ष श्रेष्ठको भनाइ थियो। ‘संघकै सदस्य साथीभाइसँग सहयोग मागेर डेढ करोड खर्चमा संरचना तयार पा-यौं,’ उनले भने, ‘अब आधुनिक सामानहरू राखेर कोर्ट तयार पार्न दुई करोड खर्च हुन्छ।’ उनका अनुसार अहिले केवल खेल्ने शैलीको मात्र कोर्ट तयार पारिएको छ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि स्क्वासको संरचना निर्माण गर्न पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराले राष्ट्रिय खेलकुद परिषद्सँग एक करोड ५० लाख बजेट मागको प्रस्ताव गरेको छ। ‘प्रस्ताव गरेको बजेट आए दुईवटा कोर्ट तयार हुन्छ भन्ने विश्वास खेलकुदले लिएको छ,’ पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले भने, ‘दुई वटा कोर्ट तयार पार्नुपर्नेछ। भइरहेको एउट कोर्टलाई व्यवस्थित पार्केटिङ गर्नुपर्छ।’ निर्माण गरिएको संरचनाभित्र शौचालय एवं चेन्जिङ रुम छ। त्यसलाई फिनिसिङ गर्नुपर्ने संघले जनाएको छ।

क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष श्रेष्ठका अनुसार तीन वटा कोर्ट तयार भए पनि राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन गर्न सहज हुनेछ। पूर्वाधारकै अभावमा नेपालगन्जमा आयोजित आठौं राष्ट्रिय खेलुकद प्रतियोगिताअन्तर्गतको स्क्वास खेल भने काठमाडौंंमा आयोजना गरिएको थियो। स्क्वासका महिला तथा पुरुष खेलहरू पोखरामै आयोजना गर्ने तयारीसहित डेढ करोडको बजेट प्रस्ताव गरिएको हो। बजेट आएको अवस्थामा काम सुरु गरिने तयारीमा संघ र खेलकुद विकास समिति छन्।

पोखरामा सुरु भएको दुई दशक बिते पनि सर्वसाधारणका लागि यो खेल नौलो नै हो। स्क्वास ‘क्यालोरी बर्न’ हुने खेलमा पर्छ। यो इन्डोर गेम हो। सानो ठाँउ भए पनि कोर्ट बनाउन पुग्छ। एक्लै खेल्न पनि मिल्छ। विदेशमा होटलभित्रै स्क्वासका कोर्ट हुन्छन्।

स्क्वास खेलको विकास र विस्तार एवं भौतिक पूर्वाधार बनाउन राष्ट्रिय खेलकुद परिषद्ले भने सहयोग गरेको अवस्था छैन। पोखरामा २०६० सालदेखि नै केसी कप स्क्वास प्रतियोगिता आयोजना हुँदै आएको थियो। तर प्रतियोगिताले केही समय निरन्तरता पाउन सकेन। रातो घरबाटै सुरु भएको स्क्वास प्रतियोगिता अब पोखरा रंगशाला परिसरभित्रको स्क्वास -याकेट एसोसिएसनकै कोर्टमा सञ्चालन हुनेछ।

प्रकाशित: २३ वैशाख २०७६ ०७:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App