८ वैशाख २०८१ शनिबार
अर्थ

एबिसीमा हिउँले पुरिएका होटल ठड्याइँदै

आधारशिविरमा होटल बनाउनका लागि हेलिकप्टरमा निर्माण सामग्री ढुवानी गरिँदै र अन्नपूर्ण आधारशिविरमा हिमपातले पुरिएका होटलबाट निकालिएका सामग्री । तस्बिर/नागरिक

पोखरा - अधिक हिमपातपछि पुरिएका अन्नपूर्ण आधार शिविर (एबिसी)का होटल बल्ल ठड्याउन थालिएको छ। हेलिकप्टरबाट निर्माण सामाग्री ओसारेर होटल निर्माण गर्न थालिएको हो। त्यसका लागि व्यवसायीले महँगो भाडा खर्च गरिरहेका छन्। सिजनको अधिक हिमपातले झण्डै दुई महिनादेखि त्यहाँका होटल बन्द छन्। आधार शिविर पुगेका पाहुनाले बास बस्न समेत पाएका छैनन्। एबिसीका होटल व्यवसायी जेबी गुरुङले हेलिकप्टरबाट सामान ओसारेर होटल बनाउन थालेको बताए। ‘हिमपातले होटल पुरिँदा गरिखाने व्यावसाय नै बन्द भयो। सधैंका लागि बन्द गरेर पनि भएन,’ गुरुङले भने, ‘त्यही भएर सिजन सकिने बेला भए पनि होटल ठड्याउन थालेका छौं।’

उनका अनुसार छड, जस्तापाता, काठका ढोका, प्लाइउड जस्ता निर्माण सामग्री हेलिकप्टरबाट ढुवानी गरिएको छ। ‘होटल बनाउन कति खर्च लाग्छ भन्ने नै यकिन भएको छैन,’ उनले भने, ‘धमाधम निर्माण सामग्री ढुवानी भइरहेको छ। मोटरबाटो नपुगेको र बोकेर लैजाँदा पनि समस्या हुने भएपछि हेलिकप्टरको विकल्प भएन।’ उनले आधार शिविरको हिउँ अझै पनि पूर्णरुपमा नपग्लिएको बताए। ‘हिउँ खोस्रेर फ्याँकेर भए पनि होटल ठड्याउनै प¥यो,’ उनले भने, ‘होटल नहुँदा व्यवसायी त मर्कामा छन् नै पर्यटकलाई पनि सहज हुँदैन।’

होटल भत्किँदा करोडौं नोक्सान भएको उनले बताए। चारवटा होटल निकै नै कठिनका साथ बनेका थिए। निर्माण सामग्री आधार शिविर पु¥याएर होटल बनेकोले क्षति ठूलो भएको उनले बताए। ‘धेरै सामान नोक्सान भएका छन्। कति सामान पुनः प्रयोग गर्न मिल्छ भन्ने नै यकिन छैन, हिउँले सबै पुरिएकोे छ,’ उनले भने। गुरुङका अनुुसार एबिसीका अन्नपूर्ण सेन्चुरी, स्नोल्यान्ड, अन्नपूर्ण गेस्टहाउस र प्याराडाइज होटल सबैको पुनर्निर्माण सुरु भएको छ। हिउँले पुरिएका ती होटलको केही पर्खाल समेत भत्किएको छ। मौसम अनुकूल भएको बेला पारेर निर्माण सामग्री ढुवानी गरेको गुरुङले जानकारी दिए। एक साताअघि आधार शिविरसम्मको पदयात्रा सकेर फर्केका व्यवसायी विपिनराज सापकोटाका अनुसार होटल नहुँदा केही पर्यटक टेन्ट टाँगेर सुत्ने गरे पनि अधिकांश केही दुरी तलको माछापुच्छे« आधार शिविरका होटलमा बास बस्ने र घुम्न मात्र एबिसीसम्म उक्लिने गरेका छन्। एबिसीमा बास बस्ने होटल नभएपछि यतिबेला त्यहाँ पुगेका पर्यटक तलै बस्ने र हाइकिङको रुपमा एबिसी पुगेर फेरि एमबिसी झर्ने गरेका छन्। उनका अनुुसार अन्नपूर्ण गेस्टहाउसका तीनवटा कोठा मात्र यतिबेला तयार छन्। अरु सबै होटल भत्केका छन्। हिउँ खोतलेर पुरिएका र पुनः प्रयोगमा आउन सक्ने सामान निकाल्ने काम भइरहेको सापकोटाले बताए। माछापुच्छ्रे आधार शिविरबाट दुई घन्टा उक्लेपछि एबिसी पुगिन्छ। माछापुच्छ«े आधार शिवरमा पाँचवटा होटल छन्।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले हिउँ पग्लिन समय लागेकोले अझै होटल बनाउन समय लाग्ने बताए। ‘हिउँ नै पग्लेको छैन। तैपनि व्यवसायीले पोखराबाट हेलिकप्टरमा निर्माण सामग्री ढुवानी गरेर थुपारेका छन्,’ कुँवरले भने, ‘हिउँ खोस्रेपछि बल्ल निर्माण सुरु हुन्छ।’ हिउँ पग्लिन समय लाग्दा होटल बनाउन नसकेको उनले बताए। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)भित्र पर्ने आधार शिविरमा २०३८ देखि होटल सञ्चालन गर्न थालिएको थियो। सुरुमा सामान्य गोठको रुपमा रहेका ती भवनलाई २०५० को दशकतिर बल्ल होटलमा परिवर्तन गरेर व्यावसायिकता दिइएको थियो। विदेशी पदयात्री बढेपछि बास बस्न र खानका लागि व्यवस्थित रुपमा बल्ल त्यहाँ होटल सञ्चालनमा आएका थिए। पदयात्री बढेर बास बस्न समस्या हुन थालेपछि व्यवसायीले मुस्किलले सामान ढुवानी गरेर आधारशिविरमा होटल सञ्चालन गरेका थिए। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का अनुसार एबिसीमा वर्षमा ३५ हजार हाराहारीमा विदेशी पर्यटक पुग्ने गरेका छन्।

प्रकाशित: २३ वैशाख २०७६ ०५:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App