८ वैशाख २०८१ शनिबार
विचार

आमाकाे उपदेश

अम्बिका जोशी
परलोक यात्राको अन्तिम    तयारीमा हुनुहुन्थ्यो, आमा। सायद नयाँ संसारबारेको उत्सुकता तथा आफूले ७ दशकभन्दा बढी बिताएको यो धरती एवं आफूभन्दा प्यारा सन्तति र आफन्त छाड्नुपर्ने बाध्यताबीचको असामञ्जस्यताले उहाँमा छटपटी प्रस्ट देखिन्थ्यो। म उहाँको छेवैमा बसेर यो सब हेर्न विवश थिएँ। यस्तै छटपटीमा समेत अत्यन्त प्रेमपूर्ण भावले घरिघरि मेरो हात समाउँदै मेरो सुन्दर भविष्यको कामना गरिरहनुभयो। आफ्नो पीडा नियन्त्रण गर्ने प्रयास गर्दै मेरो सुन्दर भविष्यका लागि अर्ती उपदेश दिइरहनुभयो। आफ्नो पीडा लुकाउने प्रयास गर्दै म आमालाई भनिरहन्थेँ– ‘आमा, हजुरलाई छिटै सन्चो हुन्छ। एकछिन आराम गर्नूस्।’ तर आमा आफ्नो यस लोकको बसाइँ टुंगिन लागेकामा स्पष्ट हुनुहुन्थ्यो सायद। मैले धेरैपटक एकछिन नबोल्न अनुरोध गर्दा एकपटक आमाले भन्नुभयो– ‘बाबु ! अब मलाई के सम्झाउँछस् ? मेरो भविष्य मलाई थाहा भइसक्यो। अब मेरो बोली धेरै कहाँ सुन्न पाउँछस् र ? मलाई बोल्न दे।’ म निःशब्द भएँ। मुटु फुलेर आयो। आँखा भरिएर आए। आफूलाई सम्हाल्न योभन्दा कठिन क्षण मैले कहिल्यै सामना गरेको थिइनँ।

आमाको सामीप्यमा रहँदा स–साना लाग्ने ती कुरा उहाँको अभावमा अति महत्वका लाग्दा रहेछन्।

आमा सधैँ भन्नुहुन्थ्यो– ‘सहनेका समुद्र जरा। सहने मान्छेलाई कसैले हल्लाउन सक्दैन।’ मलाई यसको अर्थ बुझ्न धेरै समय लाग्यो। साना÷ठूला सबै विषयमा प्रतिक्रिया जनाउने स्वभावले मानिसलाई स्थिर हुन दिँदैन। थिलोथिलो बनाउँछ। फेरि कतिपय कुरा सहनुको विकल्प पनि त हुँदो रहेनछ। आमाले समुद्र कहिल्यै देख्नुभएको थिएन तर यो उखान दोहो¥याइ रहनुहुन्थ्यो। कुनै दिन आमालाई समुद्री किनारसम्म लैजाने सौभाग्य प्राप्त भएको थियो मलाई। सो बखत आमासँग ठट्टा गर्दै भनेको थिएँ– ‘आमा  यही हो समुद्र। हजुरले सधँैंभरि मलाई सम्झाइरहने ती सहने मान्छेहरूका जरा कहाँसम्म होलान् ?’ आमा मुसुक्क हाँस्नुभयो। केही बोल्नुभएन।

मैले आफ्नो जीवनका सानाठूला धेरै अप्ठ्यारामा, चिन्तामा आमाको उक्त उपदेश अपनाउने कोसिस गरेको छु। त्यसैले होला, मलाई धेरै सहने बानी नै परिसकेको छ जस्तो लाग्छ। तर आज त्यो सम्भव भइरहेको थिएन। आफैँलाई सम्झाउने प्रयास असफल भइरहेको थियो। आमालाई सीधा हेर्नसमेत मलाई कठिन भइरहेको थियो। आमासँग बिताएका पल एक÷एक गर्दै अगाडि आउन थाले। म ३ वर्षको नहुँदै आफ्नो एक श्यामश्वेत फोटो छाडेर बुवा परलोक भइसक्नुभएको थियो। मलाई बुवाको रत्तिभर सम्झना छैन। बस्, त्यही फोटो हेरेर बुवाको बारेमा कल्पना गर्छु। त्यसैले पनि आमाप्रति मेरो प्रेम अलि बढी नै थियो कि ?

आमाले धेरैपटक धेरैलाई सुनाएको प्रसंग सम्झेँ। म ६–७ वर्षको थिएँ हुँला। मैले आमालाई अनायास सोधेछु– ‘हजुर सबैभन्दा धेरै माया कसलाई गर्नुहुन्छ ?’ बिनारोकावट मलाई सुम्सुम्याउँदै आमाले भन्नुभयो– ‘आफ्नो छोरालाई। अरू कसलाई गरुँला र !’ मैले तुरुन्त प्रतिक्रिया जनाउँदै भनेँ– ‘खुब मलाई गर्नुहोला नि ! दाइलाई गर्नुहुन्छ। चिनी चियापत्ति त दाइले ल्याउनुहुन्छ। म पनि ठूलो भएर आमालाई चिनी चियापत्ति किनेर ल्याउँछु है।’ आमाले यो कुरा धेरैलाई गर्वसाथ नसुनाउनुभएको भए मेरो मानसपटलमा कहिल्यै जीवित हुने थिएन होला। हो, म जान्ने भएदेखि हाम्रो घरको एकमात्र भरोसा दाइ हुनुहुन्थ्यो। जागिरको सिलसिलामा प्रायः घरबाहिर रहनुहुने उहाँ घर आउने खबर मात्रले पनि सम्पूर्ण परिवारमा अनन्त खुसी सञ्चार हुन्थ्यो। उहाँ घर आउँदा अन्य कुराका अतिरिक्त चिनी नबोकी आउनुभएको मलाई थाहा छैन। आमालाई चिया असाध्यै मनपर्ने तर मेरो गाउँमा सहज रूपमा उपलब्ध नहुने कारण होला, दाइले चिनी ल्याउन कहिल्यै बिर्सनुभएन। त्यसकारण मेरा नजरमा चिनी सबैभन्दा महŒवपूर्ण थियो। पल्टिरहनुभएकी आमालाई हेरेँ र सोचेँ– मैले आमालाई सोचेजस्तो चिनी चियापत्ति व्यवस्था गर्न सकिनँ। यो जिम्मा दाइहरूले लिइरहनुभयो अन्तिमसम्म। तर आमाले कहिल्यै गुनासो गर्नुभएन। फगत माया गरिरहनुभयो निःस्वार्थ। कामना गरिरहनुभयो मेरो प्रगतिको। मेरो खुसीको।

बाहिर निस्किएँ। अँध्यारो रातमा तारा टिलपिल गरिरहेका थिए। आमाकै कारण ती तारासँग पनि मेरो सामीप्यता थियो। म स्कुल पढ्दा आमाले मलाई राति अबेरसम्म कहिल्यै बस्न दिनुभएन। कहिल्यै बिहान ढिलासम्म सुत्न दिनुभएन। हिउँद महिनामा आमाले सप्तऋषि तारा झुल्केसँगै मलाई उठाउनुहुन्थ्यो। सानो टुकी बालेर मलाई पढ्न लगाउनुहुन्थ्यो बिहान सबेरै। कुन महिनामा कति संख्यामा सप्तऋषि तारा आकाशमा देखिए, कति उज्यालो हुन्छ भन्नेमा मसमेत अभ्यस्त भइसकेको थिएँ। समयक्रममा सप्तऋषि तारा हेर्ने बानी हटिसकेको थियो। आज हेर्न खोजेँ ं। देखिनँ। अझै आकाशमा तारा देख्दा आमाको याद गाढा बनेर आउँछ।

आमा बिरामी भएदेखि नै घरमा आफन्तजन सधैंँ साथमा रहनुभयो। मेरो काइँली आमा हुनुहुन्थ्यो नजिकै। मेरो हात उहाँको हातमा राखिदिनुभयो र भन्नुभयो– ‘दिदी, अब मेरा छोराछोरी तपाईँको जिम्मामा छाडेर जाँदै छु। यिनीहरूलाई आमा नभएको महसुस कहिल्यै हुन नदिनू।’ उहाँले आँसु खसाल्दै ‘हुन्छ’ को भाव प्रकट गर्नुभयो। शब्द व्यक्त गर्न सक्नुभएन। केही समयपछि आमाले मेरो हात दाइहरूको हातमा राखिदिँदै भन्नुभयो–  ‘यसलाई केही आउँदैन, यसको हेरविचार गर्नू।’ आमाले अन्तिम पलसम्म मेरो चिन्ता गरिरहनुभयो। मलाई सानो बालक नै देखिरहनुभयो। पारिवारिक मेलमिलाप र शान्तिका लागि कामना गर्दै कहिल्यै आपसमा झगडा नगर्न सम्झाइरहनुभयो।  ‘तेरो दाइ श्रीराम हो। उसलाई सधैँं आदर गर्नू’– आमाको उपदेश थियो।

केही वर्षअघि म कामको सिलसिलामा देशबाहिर जाने तयारी गर्दै थिएँ। मेरो कामबारे आमासँग केही कुरा गरेको थिएँ। म जाने दिन आमा सँगै हुनुहुन्थेन। मैले त्रिभुवन विमानस्थलबाट फोन गरेँ। आमाले आशीर्वादसँगै सचेत गराउनुभयो– ‘बाबु, ७ समुद्रपारि जाँदैछस्। आफ्नो ख्याल गर्नू। आफ्नो जिम्मेवारी सकेर फर्किँदा गयो ठीकै भयो भन्ने वातावरण नबनाउनू। सकेसम्म सबैले सम्झिने गरी असल काम गर्नू।’ मैले हरसम्भव आमाको उपदेश मनन गर्ने कोसिस गरेँ। आमाले जहिल्यै नैतिकवान बन्न उत्प्रेरित गरिरहनुभयो। ‘आफू भलो त जगत् भलो’– आमाले प्रायः प्रयोग गर्ने उखान थियो। अन्तिमसम्म पनि आमाले इमान्दारिता पढाइरहनुभयो।

‘आज आमालाई तेल लगाइदिनू’– कसैले भन्नुभयो। मलाई फेरि आमाको ममता भरिएको आदेश याद आयो। हाम्रो समाजमा तेल र आमाको सम्बन्ध प्रगाढ छ। आफ्ना छोराछोरी सानो हुँदा दैनिकजसो तेलले मालिस गरिदिने प्रचलनै छ। म कसरी अपवाद हुन सक्थेँ र !  मेरो हकमा भने आमाले म घर छाडेर हिँडेपछि पनि तेल लगाउन सम्झाइरहनुभयो। जाडो महिनामा फोनमा कुरा हुँदा आमाले कहिल्यै सोध्न नछुटाउने एउटा प्रश्न हुन्थ्यो– ‘तेल लगाउँछस् कि नाइँ ?’ मसँग बनिबनाउ उत्तर हुन्थ्यो– ‘आमा, आजभोलि त म सधैँं तेल लगाउँछु।’ आमाले विश्वास गर्नुहँुदैनथ्यो र भन्नुहुन्थ्यो–  ‘लगाउलास् तँ अल्छी ! के पो गर्छस्। ठूलो भैसकिस् अब म केही भन्दिनँ।’ तर कहिले सम्झाउन छोड्नुहुन्थेन। मैले आमाको गोडामा तेल लगाइदिएको केही समयपछि उहाँ अलि शान्त हुनुभयो। सोचेँ– केही सहज भयो। मेरो भ्रम रहेछ। यो त उहाँले अन्तिम श्वास लिनुअघिको सन्नाटा रहेछ। बेलुनको हावा फुस्केसरह आमाको अन्तिम श्वास गएको हेरिरह्यौँ विवश बनेर। शरीर बिछ्यौनामै थियो तर जीवन थिएन। संसार चकमन्न लाग्यो। ममत्वको एक विशाल सगरमाथा अलप भयो आँखाअगाडि नै। अवर्णनीय पीडा महसुस भयो तर सहनुको विकल्प थिएन।

आमाको मुख हेर्ने दिनको सेरोफेरोमा सम्झना झन् गाढा बनेर आउँछ। आमाको सामीप्यमा रहँदा स–साना लाग्ने ती कुरा उहाँको अभावमा अति महŒवका लाग्दा रहेछन्। फोटोमा हेर्दा अझै पनि आमा बोल्नुहुन्छ कि जस्तो लाग्छ, मलाई सम्झाउनुहुन्छ कि जस्तो लाग्छ ! पीडा हुन्छ। तर सहनुको विकल्प हुँदोरहेनछ। आमालाई सम्झन्छु– सहनेका समुद्र जरा।

प्रकाशित: २३ वैशाख २०७६ ०३:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App