८ वैशाख २०८१ शनिबार
समाज

खाडीचौर–चरिकोट सडक दैनिक चार घन्टा बन्द

लामा कन्स्ट्रक्सनले ठेक्का पाएको यो खण्डमा चार महिनादेखी भित्ता काट्ने, वाल लगाउनेलगायत सडक पूर्वाधारको काम सुरु भएको आयोजनाले जनाएको छ। लामोसाँघु–जिरी सडकअन्तर्गत खाडीचौर–चरिकोट खण्ड। तस्बिर : रमेश /नागरिक

दोलखा - लामोसाँघु–जिरी सडकको चरिकोट खाडीचौर खण्ड आइतबारदेखि दैनिक चार घन्टा बन्द भएको छ। पहिलो प्याकेजको खाडीचौर–मुडे खण्डको ठेकेदार कम्पनीले आइतबारबाट सुरु गरेको कालोपत्रेको कामलाई प्रभावित नहोस् भनेर सडक विस्तार आयोजनाले दैनिक चार घन्टा सडक आवागमन बन्द गराएको हो।

लामोसाँघु–जिरी सडक विस्तार आयोजनाका प्रमुख धर्मेन्द्रकुमार झाका अनुसार आइतबारबाट प्रत्येक दिन दैनिक चार घन्टा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सडकमा आवागमन रोकिनेछ। पहिलो चरणमा १५ दिनका लागि उक्त समयमा यातायात आवागमन रोकिने झाले बताए। ‘पहिलो चरणको १५ दिन सकिएपछि ठेकेदारको कामको रफ्तार र सवारी चापलाई हेरेर कुनै समय निर्धारण गर्छौं,’ उनले भने। अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको खाडीचौर बजारदेखि दोलखाको सदरमुकाम चरिकोट हुँदै पर्यटकीय नगरी जिरी बजार पुग्ने लामोसाँघु–जिरी सडकको स्तरोन्नति गर्न एक्जिम बैंकको लगानीमा सरकारले पहिलो चरणमा खाडीचौर–चरिकोट खण्डलाई बिस्तार गर्न चार वर्षअघि ठेक्का निकालेको थियो।

खाडीचौरदेखि मुडेको ओल्लो मोडसम्मको २५ किलोमिटर र मुडेदेखि चरिकोटसम्मको ३० किलोमिटर गरेर दुई प्याकेजमा निकालिएको ठेक्का दुई वर्षभित्र सक्नुपर्ने भए ेदारको लापरबाहीले अलपत्र पर्दै आएको थियो। अघिल्लो वर्ष दुवै प्याकेजका ठेकेदार पुनः काममा फर्किएपछि सडक सुधार, स्तरोन्नत्ती, ग्रेड, ग्राभेल, बेस ओच्छाउने लगायतका काम दुवै प्याकेजका ठेकेदारले सुरु गरेका थिए। खाडीचौरदेखि मुडेसम्मको पहिलो खण्डमा काम गरिरहेको ठेकेदारले १३ किलोमिटर क्षेत्रसम्म ग्राभेल ओछ्याउने काम सकेको छ। चार किलोमिटरसम्म कालोपत्रेका लागि तयारी पारिएको छ। मौसमले साथ दिए पहिलो प्याकेजका ठेकेदारले २५ किलोमिटर खण्डमध्ये १३ किलोमिटर कालोपत्रे सक्ने अनुमान आयोजनाका अधिकारीको छ। यो खण्डका ठेकेदारको म्याद तिन सातापछि सकिँदै छ।

दोस्रो प्याकेजको मुडे–चरिकोट खण्डमा भने काम रोकिएको छ। ठेकेदार कम्पनी म्याद थपको प्रक्रियामा रहेका कारण काम भने केही दिन देखी रोकिएको अधिकारीहरुले बताएका छन्। उसले कालोपत्रे गर्न अलकत्रा, चिप्सलगायत सामग्री भने तयारी हालतमा राखेको छ। ‘आफ्नै कारणले रोकिएको हुन सक्छ,’ आयोजना प्रमुख झाले भने, ‘केही दिनभित्र कालोपत्रे सुरु गर्छौं भनेका छन्।’ दुवै प्याकेजका ठेकेदारलाई पुँजी अभाव रहेका कारण काममा द्रुत गति दिन सकेका छैनन्। वर्षात् मुखैमा आइसकेका कारण काममा गति दिनुपर्ने भए पनि यो ठेक्कामा लामो समय देखी ढिलाइ गर्दै आएका दुवै ठेकेदार कम्पनीले पुँजी अभावका कारण जनशक्ति र उपकरण चाहिने जति परिचालन गर्न सकेका छैनन्। ‘यही रफ्तारले जान सक्यो र मौसमले साथ दियो भने पहिलो प्याकेजले वर्षातगाडि १३÷१४ र दोस्रो प्याकेजले १५ किलोमिटर जति कालोपत्रे गर्न सक्छन् भन्ने आँकलन गर्न सकिन्छ,’ सडक विस्तारमा खटिएका आयोजनाका एक कर्मचारीले भने। एक्जिम बैंकको लगानीमा विस्तार भइरहेको लामोसाँघु–जिरीअन्तर्गत चरिकोटदेखी जिरीसम्मको खण्डको पनि विस्तार सुरु भएको छ।

प्रकाशित: २३ वैशाख २०७६ ०१:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App