७ वैशाख २०८१ शुक्रबार
राजनीति

समितिमै अल्झियो नाम र स्थायी राजधानी

बुटवल - प्रदेश ५ मा नाम र स्थायी राजधानीको विषय फेरि विशेष समितिमै अल्झिएको छ। विशेष समितिकै सदस्यबीच प्राप्त सुझावका आधारमा नाम र राजधानी सिफारिस गर्ने वा नगर्ने भन्ने विषयमा मत बाझिएपछि राजधानी तोक्ने प्रक्रिया लम्ब्याइएको हो। समितिका सदस्यकै मत बाझिएपछि आइतबारको बैठकले फेरि विज्ञ समिति गठन गरी सुझाव लिने निर्णय गरिएको छ।

समितिको कार्यविधिमा पनि विज्ञसँग परामर्श गरिने उल्लेख भएकाले कार्यविधिअनुरूप यस्तो निर्णय गरेको विशेष समितिका सभापति दीपेन्द्रकुमार पुनले बताए। समितिका एकजना सदस्यले भने जिल्लाबाट सुझाव लिएर पर्केलगत्तै विज्ञको सुझाव लिनुपर्नेमा प्रक्रिया लम्ब्याउँन प्रतिवेदन बनेपछि विज्ञ खोजिएको बताए। ‘प्रक्रिया लम्ब्याएर बिलम्व गर्ने नियत सत्तापक्षका सांसदमा देखियो,’ ती सांसदले भने।

यसअघि विशेष समितिका सदस्यको ६ वटा टोलीले १२ वटै जिल्लाबाट सुझाव सकंलन गरेको थियो। ती सुझाव एकीकृत गरी प्रारम्भिक प्रतिवेदन तयार गर्न उपसमिति बनाइएको थियो। उपसमितिले शनिबार नै समितिलाई प्रतिवेदन बुझायो। आइतबार विशेष समितिको पूर्ण बैठकले प्रतिवेदनमाथि छलफल गरी त्यसलाई अन्तिम रूप दिने र प्रदेशसभामा पेस गर्ने निर्णय गरेको थियो। तर आइतबार समितिले फेरि विज्ञको परामर्श लिने निर्णय गरेसँगै नाम र राजधानीका लागि अर्को हिउँद कुर्नुपर्ने सम्भावना देखिएको हो।

प्रदेशको हिँउदे अधिवेशन आइतबार सकिएको छ। अर्को महिनादेखि बर्खे अधिवेशन सुरु हुनेछ। जुन अधिवेशन नीति तथा कार्यक्रम र बजेटमा केन्द्रित रहने भएकाले नाम र राजधानीको विषयले प्रवेश पाउने सम्भावना देखिँदैन। ‘नाम र राजधानीका लागि अर्को हिउँद कुर्नुको विकल्प देखिएन,’ समितिकै एक सदस्यले भने। विज्ञको सुझावका लागि संसद् सचिवालयले सरकारी विज्ञ टोली उपलब्ध गराउने बताइएको छ। मौसमविद्, भूर्गभविद्, सुरक्षाविद्लगायतका सरकारी विज्ञसँग आवश्यक परामर्श लिएर सोहीअनुरूप अन्तिम प्रतिवेदन तयार गरी छिट्टै सदनमा पेस गरिने विशेष समितिका सभापति पुनले बताए।

नाममा लुम्बिनीलाई बहुमत, रुपन्देही र दाङको तानातान यथावत्

१२ जिल्लाबाट प्राप्त सुझाव एकिकृत गरी उपसमितिले बनाएको प्रतिवेदनमा प्रदेशको नाम लुम्बिनी राख्न सिफारिस गरिएको छ। सुझाव संकलनका क्रममा बुद्धभूमि, स्वर्गद्धारी मगरात र थरुहट राख्नुपर्ने माग पनि उठेकाले सूचीमा ती नाम पनि राखिएको छ। सहभागीमध्ये ७० प्रतिशत बढीले लुम्बिनी राख्न सुझाव दिएकाले सिफारिस गरीएको समितिका एकजना सदस्यले बताए।

तर उपसमितिको प्रतिवेदनले राजधानीका सम्बन्धमा दाङ र रुपन्देहीबीचको तानातानलाइ भने चिर्न सकेन। प्रतिवेदनमा एक नम्बरमा दाङ , दोस्रोमा रुपन्देही र तेस्रोमा कपिलवस्तु राखिएको छ। तर, यो नाम मतका आधारमा नभई अंग्रेजी अल्फाबेटका आधारमा राखिएको समितिका सभापति पुनले जानकारी दिए। त्यसबाहेक सहभागीले अर्घाखाँची, पाल्पा, प्युठान र बाँकेमा राजधानी हुनुपर्ने सुझाव पनि दिएका थिए। १२ जिल्लाबाट १३ सय १२ वटा सुझाव संकलन गरिएको थियो। त्यसमध्ये दाङका पक्षमा ५ सय ३० र रुपन्देहीको पक्षमा ३ सय ५० सुझाव आएको छ। समितिका एकजना सदस्यका अनुसार दाङ, बाँके र बर्दियामा सुझाव दिनेको संख्या धेरै रहेको र रुपन्देही, नवलपरासी, पाल्पा गुल्मीमा सुझाव फाराम भर्नेकै संख्या कम भएकाले दाङको पक्षमा धेरै मत देखिएको हो।

गत वर्षको साउनमा प्रदेशको नाम र स्थायी राजधानीका लागि सुझाव संकलन गर्न विशेष समिति गठन गरिएको थियो। समितिको तीनपटक थपिएको म्याद अर्को महिना सकिँदैछ।

प्रकाशित: २३ वैशाख २०७६ ०१:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App