८ वैशाख २०८१ शनिबार
राजनीति

बेलायती महारानीको नक्कल गरियो : देउवा

फाइल तस्बिर

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले नीति तथा कार्यक्रम बेलायती महारानीको शैलीमा प्रस्तुत गर्न लगाएर राष्ट्रपतिलाई विवादमा ल्याएको बताएका छन्।

प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि आइतबार भएको छलफलमा भाग लिँदै देउवाले भने, ‘सरकाले राष्ट्रपतिलाई बेलायती महारानीको शैलीमा नीति तथा कार्यक्रम सम्बोधन गर्न लगाएर थप विवादमा पारेको छ। यो लोकतान्त्रिक गणतन्त्रका लागि शुभसंकेत होइन।’ राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा पटकपटक ‘मेरो सरकार’ शब्दावली प्रयोग गरेकी थिइन्। देउवाले सरकारकै कारण राष्ट्रपति पटकपटक विवादमा तानिएको बताए।

देउवाले सरकारको नीति तथा कार्यक्रम फेहरिस्तको खोक्रो सूचीमात्र भएको बताए। ‘एक वर्षको नीति र कार्यक्रम भनिएको छ तर यहाँ दुई वर्षका, चार वर्षका, पच्चीस वर्षका वा वर्षै नतोकिएका कार्यक्रमको बाहुल्यता छ। स्रोत, साधन र विधिको टुंगो नभएका हुनाले कैयन कार्यक्रम फगत नारामा सीमित हुने कुरामा शंका छैन,’ उनले भने, ‘सरकारले एक वर्षमा के गर्न सक्छौं भन्न सकेको छैन, अर्कोतिर पच्चीस वर्षसम्म लगातार दोहोरो अंकको आर्थिक वृद्धि हुने ढोल पिटेको छ।’

देउवाले सरकारकै कारण मेलम्ची खानेपानी र तामाकोसी जलविद्युत् जस्ता आयोजना अनिश्चित बनेको आरोप लगाए। सरकारको गत वर्षको नीति तथा कार्यक्रमले कुनै नतिजा दिन नसकेको समीक्षा गर्दै देउवाले अहिले ल्याएको नीति तथा कार्यक्रमले पनि केही नतिजा दिन नसक्ने ठोकुवा गरे। ‘गत वर्ष अब पाँच वर्षभित्र कोही पनि विदेश जानुनपर्ने भनियो तर, कति रोजगारी सिर्जना भयो, कति विदेश जानु परेन, सरकार अनविज्ञ छ,’ उनले भने, ‘ फेरि अहिले आएर आगामी वर्ष पाँच लाख रोजगारी सिर्जना गर्ने भनिएको छ।’

देउवाले शान्तिसुरक्षामा प्रश्न उठाउँदै निर्मला पन्तको हत्या र बलात्कार घटनासँग सम्बन्धित प्रमाण नष्ट गर्ने काममा स्वयं सरकार लागिपरेको आरोप लगाए। उनले सरकार परराष्ट्र मामिलामा अपरिपक्व देखिएको टिप्पणी गरे र ‘बिमस्टेक, होली वाइन र भेनेजुयला काण्ड यसका ज्वलन्त उदाहरण हुन’, उनले भने।

उनले सरकारले नागरिकलाई करको भारी बोकाएको तर सुविधा दिन नसकेको तथा भ्रष्टाचार र महंगी नियन्त्रण गर्न पनि नसकेको बताए। महालेखा परीक्षकको प्रतिवेदन तथा ट्रान्स्परेन्सी इन्टरनेसनलको प्रतिवेदनले पनि भ्रष्टाचार बढेको देखाएको उनले बताए। यसै प्रंसगमा उनले भने, ‘मेरो पालामा नेपाललाई अतिकम विकसितबाट विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने आवश्यक मापदण्ड पूरा भइसकेको थियो।’

देउवाले सरकार संवैधानिक निकायमा व्यापक हस्तक्षेप र अधिकार शंकुचन गर्नेतर्फ केन्द्रित भएको आरोप पनि लगाए। यसबाट राज्यका महत्वपूर्ण अंगहबीचको शक्ति सन्तुलन खलबलिएको बताउँदै उनले भने, ‘सरकार प्रेस र अभिव्यक्ति स्वतन्त्रतामा नियोजित हमला गर्दैछ’, उनले भने, ‘वर्तमान सरकारको पूर्ण लोकतन्त्र भनेको नियन्त्रण, निषेध र निर्देशनमा आधारित अनुदार राजनीतिक व्यवस्था हो भन्ने उसका क्रियाकलापले स्पष्ट पार्दै लगेको छ।’

मुलुकमा हजारौं द्वन्द्वपीडित न्याय र राहतको पर्खाइमा रहेको तर सरकार चुप लागेर बसेको उनले बताए। शिक्षा क्षेत्रको मूल चुनौती सिकाइ र गुणस्तरमा सुधार ल्याउनु रहेको बताउँदै उनले भने, ‘तर समस्या समाधान गर्नेतर्फ नीति तथा कार्यक्रममा ठोस प्रस्ताव छैन।’ उनले राणाकालदेखि चलेका रेल र स्टिमरलाई नयाँ आविष्कारको रुपमा प्रचारित गरिएको बताए। नेपालमा पानीजहाज ल्याउन अझै धेरै गृहकार्य गर्न बाँकी रहेको उनको भनाइ थियो।

कांग्रेसका सांसद मिनेन्द्र रिजालले सरकारले राष्ट्रपतिलाई ‘मेरो सरकार’ भन्न लगाएर आमजनताको आलोचनाको पात्र बनाएको बताए। ‘संविधानले जनताको अधिकारको कुरा गरेको छ, मेरो सरकारको होइन’, उनले भने, ‘सरकारको नीति तथा कार्यक्रम गणतन्त्र विरोधी छ, संघीयताविपरीत छ, यसले लोकतन्त्रका आधारभूत संरचना कमजोर बनाएको छ।’ नेकपाका प्रमुख सचेतक देव गुरुङले भाषाको पदावलीलाई आधार बनाएर गणतन्त्रमाथि नै प्रश्न उठाउन नहुने बताए। ‘त्यतिसम्म आशंका नगर्न आग्रह गर्न चाहन्छु,’ रिजाललाई लक्षित गर्दै उनले भने।

राष्ट्रिय जनता पार्टीका सांसद राजेन्द्र महतोले शाही सम्बोधनको शैलीमा नीति तथा कार्यक्रम आएको बताए। नीति तथा कार्यक्रम झुटको खेती भएको उनले बताए। ‘जनतालाई ढाँटेर जनताको अधिकारमाथि दिनदहाडै डकैती भएको छ,’ उनले भने। उनले नीति तथा कार्यक्रमको बुँदा ७ मा राखिएको ‘संविधानको सर्वस्वीकार्यता र स्वामित्वमा अब विमति छैन’ भन्ने शब्दवली हटाउनुपर्ने बताए। उनले संविधानमा विमति छैन भन्ने कुरा आफ्नो पार्टीलाई मान्य नहुने बताए। ‘हामीले संविधान स्वीकार गरेको हो तर पूर्ण रुपले होइन, यसमा संशोधन हुनुपर्छ ’, उनले भने।

नेकपाका सांसद महेश बस्नेतले राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्र प्रस्तुत गर्दा ‘मेरो सरकार’ भनेकोमा आपत्ति जनाउनुको औचित्य नभएको बताए। उनले भने, ‘बिपी कोइरालाले चीनमा गएर मेरो सरकार भन्नुभएको थियो। नेपाल आउँदा उहाँको सरकार ‘कु’ भयो। त्यसैले कांग्रेस डराएको होला तर नडराउनु केपी ओलीले त्यस्तो ‘कु’ गर्नुहुन्न।’

नेकपाका अर्का सांसद प्रेम आलेले भने, ‘सरकारले सपना देख्नु नराम्रो होइन, सपना देखेरमात्र अघि बढ्न सकिन्छ। त्यसैले सपना देखेको विषयमा आपत्ति नगरौं।’ कांग्रेस सांसद देवप्रसाद तिमल्सिना, डिला संग्रौलाले पनि नीति तथा कार्यक्रम अपरिपक्व भएको टिप्पणी गरेका थिए। राष्ट्रपतिले ‘मेरो सरकार’ शब्दावली प्रयोग गरेका प्रति सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसदलेसमेत असन्तुष्टि जनाए। नेकपाका सांसद् अग्नि सापकोटाले अन्तर्राष्ट्रिय उदाहरण दिएर यहाँको मौलिकतालाई मेटाउन नहुने बताए। उनले जताततै भ्रष्टाचार मौलाएको भन्दै कडा कानुन बनाएर दोषीलाई कारबाही गर्नुपर्ने बताए। बालुवाटार, खुलामञ्चलगायत सार्वजनिकर सरकारी स्थलअतिक्रमण गरी राज्यलाई नै असफल बनाउने खेल भइरहेको उनले बताए। संघीय समाजवादी फोरमका सांसद राजेन्द्र श्रेष्ठले राष्ट्रपतिबाट ‘मेरो सरकार’ भन्नु लोकतान्त्रिक गणतन्त्रविपरीत भएको बताए।

प्रकाशित: २३ वैशाख २०७६ ०१:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App