८ वैशाख २०८१ शनिबार
समाज

पहिलाे पटक प्रसूति गृहमा सुत्केरी गराइयाे

हुम्ला - नाम्खा गाउँपालिकामा पहिलो पटक स्वाथ्य चौकीमा सुत्केरी गराइएको छ।

नाम्खा २ केर्मीकी २२ वर्षीया पासाङ लामाले पहिलो पटक प्रसूति सेवा केन्द्रमा  आएर बच्चा जन्माएकी स्वास्थ्य संस्थाले जनाएको छ। वडा १ देखि ६ सम्म सुविधासम्पन्न चार वटा स्वास्थ्य चौकी, ३ वटा सामुदायिक स्वास्थ्य इकाइ र पाँच वटा प्रसूति केन्द्र छन्। 

तिब्बतसँग सीमा जोडिएको हुम्लाको नाम्खाको गाउँपालिकामा सुत्केरी गराउन कोही नआउने त्यहाँका स्वास्थ्यकर्मीले बताउँदै आएका छन्। नाम्खा गाउँपालिकाका स्वास्थ्य संयोजक नरबहादुर भण्डारीले भने, ‘जति भने पनि आउँदैनन्।’

प्रसूति सेवा लिन स्वास्थ्य संस्था नगएपछि ०७४/७५ मा नाम्खा गाउँपालिकाका स्वाथ्य चौकीमा सुत्केरी र प्रसूति महिलाका लागि आएको ४ लाख ५२ हजार रुपैयाँ फ्रिज भएको छ।

सुत्केरी गराउने परम्परागत शैली र जनचेतनाको अभावका कारण स्वास्थ्य चौकी वा प्रसूति गृहमा गएर बच्चा जन्माउनुपर्छ भन्ने चेतना अभाव भएको नाम्खाका गाउँपालिका प्रमुख प्रशासकीय प्रमुख बमबहादुर नेपालीले बताए। चालु आर्थिक वर्षमा उक्त स्वास्थ्य संस्थाले वैशाखसम्म एक जनालाई मात्र सुत्केरी प्रोत्साहन भत्ता वितरण गरेको छ। ती उनै लामा हुन्। लोक कल्याण संघ नेपालको साझेदारीमा प्रसूति केन्द्रमा उपकरण, पाँचवटै प्रसूति केन्द्रमा तालिमप्राप्त स्वास्थ्यकर्मी र उपकरण व्यवस्था गरेको छ।

स्वास्थ्य संस्थामा गर्भ जाँच गराउन आउने प्रत्येकलाई पालिकाले पोषण सामग्री अण्डा, घ्यु, तेल, र सरसफाइ सामग्री साबुन, काइँयो, टुथब्रस, टुथपेस्ट, नेल कटर, टबेल दिँदै आएको छ। केर्मी प्रसूति केन्द्रमा पालिकामा पहिलो पटक सुत्केरी गराउन सफल भएको भन्दै स्वास्थ्कर्मी अनमी गार्मु लामालाई सम्मान गरिएको छ।

पहिलो पटक पालिकामा सुत्केरी भएबापत लोक कल्याण संघ नेपालले पाँच हजार रुपैयाँ, बच्चालाई एक जोर लुगा र गाउँपालिकाले तीन हजारसहित सम्मान गरिएको नाम्खा गाउँपालिकाका प्रमुख प्रशासकीय प्रमुख बमबहादुर नेपालीले बताए

प्रकाशित: २२ वैशाख २०७६ १४:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App