८ वैशाख २०८१ शनिबार
समाज

भिमादवासी भन्छन्, ‘फोहोरको दुर्गन्धले बस्न सकिएन’

दुलेगौँडा(तनहुँ) - भिमाद बजारमा संकलित फोहोर बस्तीको नजिकै डम्पिङ गरिन्छ। भिमाद नगरपालिका र म्याग्दे गाउँपालिकाको सिमानामा सेती नदीको तिरमा डम्पिङ गरिएको फोहोर जलाउने गरिएको छ। त्यसको धुवाँ र दुर्गन्धले नजिकैको बस्ती छाङपाटनबासी हैरान भएका छन्।

तनहुँको दक्षिणी भेगको प्रमुख व्यापारिक केन्द्र भिमाद बजारमा बस्ती बाक्लिँदै छ। ऋषिङ, घिरिङ, किहुँ र छिमेकी जिल्ला स्याङजा, पाल्पा, नवलपुरबाट भिमादमा बसाई झर्ने क्रम तीव्र छ। जनघनत्व बढिरहेको यहाँको बजार क्षेत्रबाट दैनिक निस्कने फोहोरलाई व्यवस्थापन गर्ने डम्पिङ साइट छैन। डम्पिङ साइट नहुदाँ बजार क्षेत्रको फोहोर व्यवस्थापनमा चुनौती थपिएको छ।

नगरपालिकाले स्थापनाको दुई वर्ष बितिसक्दा पनि फोहोर फाल्ने उचित ठाउँको व्यवस्थापन गर्न सकेको छैन। अव्यवस्थित तवरले नदी छेउमा खुला रुपमा फोहोर फ्याँकिएको छ। नदी छेउमा फ्याँकिएको फोहोरलाई खाडलमा पुरेर व्यवस्थापन गर्नुको सट्टा जलाउने गर्दा धुवाँको मुस्लो र दुर्गन्ध फैलिने गरेको छ।

नगरपालिकाले फोहोर व्यवस्थापन गर्ने जिम्मा तनहुँ उद्योग वाणिज्य संघ भिमाद बजार इकाईलाई दिएको छ। फोहोर व्यवस्थापन जिम्मा लिएको इकाइले छाङपाटन नजिकैको नदी किनारमा खुला रुपमा फोहोर फ्याक्ने गर्छ। नदी छेउमा खुला रुपमा फालिएको फोहोरले वतावरण प्रदूषित बनाएको त छ नै फोहोरलाई व्यवस्थापन गर्न गलत तरिका अपनाएर आगो लगाइदिदाँ दुर्गन्धले बस्तीमा बसिनसक्नु नभएको स्थानीय एकबहादुर थापाले बताए।

‘दुर्गन्धले हैरान छौँ, झन् नष्ट गर्न जलाउने गरिन्छ। दुर्गन्ध र धुँवाको मुस्लोले बस्ती ढाकिदिँदा सास फेर्नसमेत अप्ठ्यारो हुने गरेको छ’, उनले भने। फोहोर जलाउँदा धुँवाले सास्ती भएको जानकारी गराउँदै नगरपालिकालाई पटकपटक ध्यानाकर्षण गराएको उनले बताए। नगरपालिकामा पुगेर समस्या राख्दा छिट्टै व्यवस्थापन हुने आश्वासन पाउने गरेको उनको भनाइ छ। ‘आश्वासन पाइन्छ अर्को पटक फेरि जलाइन्छ’, उनले भने। 

भिमाद बजार इकाइका सभापति चतुभुर्ज सुवेदीले व्यवस्थित तवरले फोहोरको डम्पिङ गर्ने गरको बताए। ‘बजारमा संकलित फोहोरलाई सेती तिरमा लगेर पुर्ने गरेका छौँ’, उनले भने, ‘कवाडी संकलन गर्नेहरुले हो आगो लगाइदिने।’ उनले थपे, ‘फोहोर फाल्न उक्त ठाउँलाई छनोट गर्दा बस्ती थिएन। बस्ती बाक्लिँदै गएपछि फाेहाेर पनि बढ्दै गएकाे छ।'

फोहोर फाल्न  वैकल्पिक स्थानको खोजी भइरहेको उनले बताए। ‘डम्पिङ साइट बनाउन नगरसँग प्रस्ताव गरिएको छ’, उनले भने, ‘जग्गा खोजी भक्ष्रहेको छ ।’ उपर्युक्त जग्गाको नपाएको उनले जनाए । 

भिमाद नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत थमनसिंह थापाले फोहोर व्यवस्थापन गर्न डम्पिङ साइट निर्माण गर्न जग्गाको खोजि भईरहेको बताए। ‘जग्गाको खोजी गर्न चालु बर्षमा बजेट पनि छुट्याइएको छ’, उनले भने, ‘उपयुक्त जग्गा पाउन सकिएको छैन।’ घरबाटै कम फोहोर उत्पादन गर्न सचेतनामूलक कार्यक्रम गर्ने गरेको उनले बताए। ‘कुहिने फोहोरबाट प्रांगारिक मल  बनाउन सकिन्छ। केही फोहोर पुनः प्रयोग गर्न मिल्ने हुन्छ। फोहोरलाई वर्गीकरण गर्न सिकाएका छौँ’, उनले भने।
सेती नदी किनारमा फालिएको भिमाद बजारबाट संकलित फोहोर।
 

प्रकाशित: २२ वैशाख २०७६ १२:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App