नेपाली रजतपटमा बलिउडको बाछिटा

आइतबार, २२ बैशाख २०७६, १७ : ०४ नागरिक

शेखर खरेल
काठमाडौंमा सन् २००३ मा आयोजित दक्षिण एसियाली वृत्तचित्र महोत्सव ‘फिल्म साउथ एसिया’ को चौथो संस्करणका मुख्य अतिथि थिए, भारतीय चलचित्र निर्देशक महेश भट्ट। चलचित्र निर्देशनका अतिरिक्त धर्म गुरूहरू (ओशो रजनीश र युजी कृष्णमूर्ती) सँगको संगत र सानिध्यका कारण चर्चामा आइरहने भट्टको चलचित्र निर्देशन जति तारिफयोग्य छ, त्यति नै वाचाल छन् उनी आफ्ना विवारप्रवाहमा पनि। संयोगवश, मेरो डेब्यु डकुमेन्ट्री ‘काठमान्डू ओडिसी’ त्यस संस्कारणका निम्ति छानिन पुगेकाले निर्देशक भट्टसँगको साक्षात्कारको मौका जुरेको थियो। भारतको सिनेमा संस्कृतिमाथि भट्टले महोत्सव दौरान चोटिलो प्रवचन दिएका थिए।

‘तपाईं पछिल्लो पटक कहिले मन्दिर, मस्जिद वा चर्च जानु भयो?’ भट्टले दर्शकदीर्घामा प्रश्न फाल्दै भने, ‘अनि सिनेमा नि?’ तत्कालै दर्शकतिर फालेको प्रश्न आफैँतिर फर्काउँदै जवाफ पनि प्रस्तुत गरे, ‘हो, तपाईंहरूमध्ये धेरैलाई पछिल्लो पटक कहिले धार्मिक स्थल गएँ भन्ने कुराको हेक्का नहुन सक्छ तर पछिल्लो पटक कहिले सिनेमाघर पुगेँ भन्ने कुरा पक्कै सम्झन सक्नुहुन्छ।’

आफ्नो प्रस्तुतिमा पाइन थप्दै भट्टले भने, ‘सिनेमा आज भारतीय जीवनशैलीको एक अभिन्न हिस्सा बनिसकेको छ, यसले एउटा संस्कृतिकै रूप धारण गरिसकेको छ।’

निर्देशक भट्टको तर्कको सत्यतालाई कुनै कसीमा जाँच गरिरहनु पर्दैन। मोसन सिनेमाको जननी मुलुक फ्रान्स र विश्व सिनेमाको राजधानी अमेरिकाको हलिउडलाई भारतीय चलचित्र (बलिउड, कला र समानान्तर अनि प्रादेशिक गरी) ले संख्यात्मक हिसाबले उछिनेको पनि एक युग बितिसकेको छ। फिल्म फेडेरेसन अफ इन्डियाको आँकडाअनुसार सन् २०१७ मा भारतभरमा १९८६ कथानक चलचित्र निर्माण भए, जुन भारत भित्रकै ६००० सिङ्गल स्क्रिन, २१०० मल्टिप्लेक्सदेखि विश्वभरका थप हजारौं सिनेमाघरमा देखाइए। सिनेमाको लोकप्रियताकै कारण भनिन्छ पनि, ‘भारतलाई तीन कुराले एकताबद्ध गरेका छन्, बलिउड (सिनेमा), क्रिकेट र पाकिस्तानविरोधी भावना।’

भारतमा चलचित्रको इतिहास शताब्दी लामो छ। यता आमा (सन् १९६४) बाट शुरू भएको हाम्रो चलचित्रको यात्राले पनि आधा शताब्दी पार गरेको छ तर यो आधा शताब्दीमा हाम्रो चलचित्रले आफ्नो छुट्टै मानक वा परिचय बनाउन सकेको छैन। यसको कारण खोज्दै जाने हो भने त्यो खोकी अन्त कहीँ नभएर भारत नै पुगेर टुङ्गिन्छ। खासमा नेपाली चलचित्र भारतको प्रविधि मात्र नभएर प्रभावबाटै शुरू भएको हो। अर्को शब्दमा भन्नुपर्दा, नेपाली चलचित्र बलिउड चलचित्रको बाछिटा हो। सन् ६० को दशकमा ‘आमा’ बन्दा होस् वा आजका चलचित्रका धार नियाल्दा हाम्रा चलचित्र अद्यावधि बलिउडी प्रभावबाट मुक्त छैनन्। बलिउडी किन भने, भारतमा प्रादेशिकदेखि कला चलचित्रहरू बन्दै आए पनि हाम्रो रुचि र रुझान बलिउडभन्दा पर जान सकेको छैन। आधा दर्जन गीत, मारधाड, कमेडी, हिरो र भिलेन द्वन्द्व, मिलन–विछोड आदि यस्ता मसला हुन्, जसले बलिउड फिल्मको परिकार निर्माण हुन्छ। हाम्रो चलचित्रको मसला पनि ती भन्दा फरक छैनन्। होइन भने, बलिउडको बाछिटा सँगै भारतभित्रै निर्माण हुने प्रादेशिक र कलात्मक चलचित्रको छिटा पनि त हाम्रो उद्योगसम्म आइपुग्नु पर्ने हो!

‘आमा’ र आजका सन्तान
कुनै मूलमा परेको सन्तानजस्तै नेपाली चलचित्रको आरम्भ पनि कला प्रयोजन निम्ति भएको थिएन। हावा–पानी र माटो सुहाउँदो व्यवस्था उजिल्याउन शासकका निम्ति केही प्रोपागाण्डा आवश्यक थियो र चलचित्र यहीँ अटायो। व्यवस्थाजस्तै नेपाली चलचित्र पनि शायद हावा–पानी र माटो सुहाउँदो नै चाहिएकाले हाम्रा चलचित्रमा कथानक (न्यारेटिभ) र शिल्प (क्राफ्ट) भन्दा पनि अतिनाटकीयता (मेलोड्रामा) हावी भए। बलिउडका बाछिटा नै सही, ‘आमा’ यताको २५ वर्ष जति भित्र बनेका चलचित्रको अपनत्व नेपाली जनमानसले लिइदियो। साल–दुई सालमा बन्ने चलचित्र खासमा व्यवसायमा भन्दा पनि नेपाली दर्शकको नियास्रो मेट्नमै सीमित देखिए। नेपाली चलचित्र सन् ९० को दशकसम्म आइपुग्दा गुणात्मकता कहीँकतै छुटिगए पनि संख्यात्मक हिसाबले भने छलाङ मारिसकेको थियो।

विगत एक दशकयता नेपालमा चलचित्र निर्माणको भेल नै उर्लिएको छ। वर्षमा सय वटाभन्दा बढी चलचित्र निर्माण हुन थालेकाले चलचित्र निर्माता र तिनका वितरक अनि कलाकारबीच चलचित्र प्रवद्र्धनको होडबाजी शुरू भएको देखिन्छ। धेरै चलचित्रका चापका कारण सिङ्गल स्क्रिन भन्दा पनि मल्टिप्लेक्स कम्तीमा पनि छ महिना अघिदेखि नै बुक हुन थालिसकेका छन्। सरदर एकदेखि डेढ करोडको निर्माण लागत र कम्तीमा पनि पचास लाखको विज्ञापन तथा प्रवद्र्धन खर्चका कारण पूर्वतयारीदेखि प्रदर्शनसम्म एउटा चलचित्रमाथि सरदर दुई करोड लगानी हुने गरेको छ। यस हिसाबले नेपाली चलचित्र वार्षिक रूपमा दुई अर्ब रुपियाँको उद्यम हो।

संख्यात्मक रूपमा जसरी चलचित्र बनिरहेका छन्, त्यस अनुपातले गुणात्मक वृद्धि हुन सकेको छैन। हिजोको आमा युगका चलचित्रहरू हुन् वा आज बनिरहेका चलचित्रहरू ती फगत बलिउडका बाछिटा मात्रै देखिन्छन् तर आज बलिउडले पनि सिनेमा ‘मेकिङ्’ र ‘टेलिङ्’मा एउटा लामो फड्को मारिसकेको परिस्थितिमा त्यहाँका सकारात्मक पक्षहरूको सिको नेपाली चलचित्रमा पाइँदैन। हाम्रा चलचित्रहरू बलिउडी मसलाबाट मुक्त हुन सकेका छैनन्। भारतमा पनि बलिउडी चलचित्रको दबदबाबीच थोरै बजेटमा सार्थक एवं कलात्मक चलचित्र बनाउने एउटा सानो तर प्रभावशाली समूह सक्रिय पाइन्छ। तर, हाम्रा चलचित्र निर्माता तथा निर्देशकका आँखा बलिउडी चलचित्रको चमक–दमककै तुँवालोले ढाकिएका छन्।

नेपालमा चलचित्र निर्माण घाटाको उपक्रम हो, एकाध अपवादलाई छाड्ने हो भने। वार्षिक निर्माण हुने सय चलचित्रहरूमध्ये दुई–तीन मुनाफा र त्यस्तै चार–पाँच लगानी बचाउन सक्ने अवस्थामा पुग्ने गरेको स्वयं चलचित्र निर्माता र वितरकहरूले नै बताउँदै आएका छन्। कृषिप्रधान देश नेपालमा धान रोपाइँका बेला भनिन्छ, ‘माना रोपेर मुरी फर्काउने।’ यदि चलचित्रमा एउटा टुक्का बनाउनु परे भन्नुपर्ला, ‘करोड खर्चिएर लाख भित्र्याउने।’ करोड रूपियाँ लगानी गरेर निर्माण भएको चलचित्र प्रदर्शन भएकै दिन उत्रिएका अनेकौं उदाहरण छन् तर पनि चलचित्र निर्माणको क्रम भने कत्ति पनि मन्द देखिँदैन। घाटाका व्यापारमा होमिन निर्माताहरू किन झुत्ति खेलिरहेका छन्?

यस प्रश्नको पहिलो उत्तर त चलचित्रमा पैसा खन्याउने अधिकांश निर्माता नभएर फगत ‘मुर्गा’ हुन्। जो निर्देशकको गलत मनसुवा र पासोमा फँसेर चलचित्रमा पैसा होमिदिन्छन् र घोर पश्चताप र पीडाका कारण अर्को चलचित्रको लगानीमा फर्कंदैनन्। उनीहरूलाई त्यसै ‘मुर्गा’ भनिएको होइन। चलचित्र निर्माताको ९५ प्रतिशत हिस्सा यिनै ‘मुर्गाहरू’ले ओगटेका छन्। यी ‘मुर्गाहरू’ पुर्खाका पाखाबारी बेच्नेहरू वा बालुवा–गिट्टीका स–सना ठेकेदारी गर्नेहरू वा पेट्रोलपम्प (ग्यास स्टेसन) र रेष्टुराँको छोटेमोटे व्यापार गर्ने गैरआवासीय नेपाली (एनआरएन) जो कोही हुन सक्छन्। सिनेमाको तिलस्मी संसार, नायिकासँगको ग्ल्यामरस सम्बन्धको मेसो र बम्पर मुनाफाको प्रलोभनमा यी मुर्गाहरू चलचित्र निर्माणमा यसरी होमिन्छन्, जसरी बत्ती वरिपरि पुतलीहरू हुत्तिरहेका हुन्छन्।

चलचित्रको असफलता (फ्लप) को अर्को कारण त यसको ‘कन्टेन्ट’ र ‘क्राफ्ट’ नै हो। कस्तो कन्टेन्टले फिल्म हिट हुन्छ भन्नेबारे अधिकांश निर्माता र निर्देशक बेखबर छन्। राजेश हमाल पुस्ताको उत्कर्ष कालमा त्यस्ता फिल्म हिट हुन्थे, जसमा भरपूर मारधाड हुन्थ्यो। ‘चपलीहाइट’ जस्ता फिल्मले नेपाली रजतपटमा ‘सफ्ट पोर्न’ भित्र्याए, जुन लामो समय टिक्न सकेन। आज ‘छक्कापञ्जा’ जस्ता फिल्मको सफलतापछि निर्माताहरू कमेडीतिर आकर्षित भएका छन् तर सबै कमेडी उसैगरी हिट हुन सकेका छैनन्।

सीमित दर्शकको नेपाली चलचित्र बजारमा उर्लंदो संख्याका चलचित्रका कारण दर्शकहरू रणभुल्ल देखिन्छन्। कुन चलचित्र राम्रो र कुन नराम्रो उनीहरूले भेउ पाउन सकिरहेका छैनन्। चलचित्र उद्योग त्यस्तो जङ्गल जस्तो बनिदिएको छ, जहाँ वनमारा र तीतेपातीका झ्याङबीच कपुरका बुटा पनि कतैकतै लुकेका त छन् तर तिनीहरूसम्म कसरी पुग्ने भन्ने भेउ दर्शकलाई हुँदैन। मसला, तुकबन्दी, नग्नता बहुल चलचित्रबीच कलात्मक र सुरुचिपूर्ण चलचित्र निर्माण नभएका होइनन्। चलचित्र निर्माणमा सैद्धान्तिक र व्यवहारिक ज्ञान लिएका, रङ्गमञ्चमा अब्बल ठहरिसकेका, विश्व चलचित्रको धार पछ्याइरहेका सानो तर संभावनायुक्त पुस्ता अहिले अनेकौं अप्ठेराबीच चलचित्रको निर्माण, निर्देशन र अभिनयमा सक्रिय छ। यो कालो बादलमा देखिएको चाँदीको घेरा हो। साँघुरो, कबड्डी, पशुपतिप्रसाद, कालो पोथी, सेतो सूर्य, जात्रा, बुलबुल आदि नेपाली चलचित्रको निस्पट्ट अँध्यारो आकाशमा टिमटिमाइरहेका केही ताराहरू हुन्, जसबाट हाम्रो चलचित्रको विगत र वर्तमान जे–जस्तो भए पनि आगतप्रति केही आशावादी हुन सकिन्छ।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

आइफोन ( iPhone ) मा i को अर्थ के ?

आइफोन ( iPhone ) मा i को अर्थ के ?

एप्पलले i अक्षरको प्रयोग सन् १९९८ मा रिलिज भएको iMac ( आइम्याक ) मा प्रयोग गरेको थियो ...

महिन्द्राका दुई नयाँ मोडल सार्वजनिक हुने

महिन्द्राका दुई नयाँ मोडल सार्वजनिक हुने

नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेहिकलहरुको आधिकारीक वितरक अग्नी इन्कर्पोरेटेडले यस पटकको नाडा अटो शोमा महिन्द्राको पछिल्लो उत्पादनहरु...

अब २५ लाख मै डेढ तल्ले घर

अब २५ लाख मै डेढ तल्ले घर

सामान्यतः घर बनाउन कति लाग्ला ? ५० लाख, ७५ लाख वा १ करोड ? तपाईंको डिजाइन र सजावटले यो मूल्यमा...

मेगा बैंकको एक्सटेन्सन काउन्टर यातायात व्यवस्था कार्यालयमा

मेगा बैंकको एक्सटेन्सन काउन्टर यातायात व्यवस्था कार्यालयमा

मेगा बैंक नेपाल लिमिटेडले काठमाडौँको स्वयम्भु ठूलो भर्याङ्ग स्थित यातायात व्यवस्था कार्यालयको परिसरमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघमा ज्ञवाली अध्यक्ष

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघमा ज्ञवाली अध्यक्ष

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघको तेस्रो वार्षिक सधारणसभा सम्पन्न भएको छ । ...

डिप्रोक्सको तनाव व्यवस्थापन तालिम

डिप्रोक्सको तनाव व्यवस्थापन तालिम

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाको उच्च व्यवस्थापनलाई लक्ष्य गरी साउन २९ र ३० गते आवासीय तनाव व्यवस्थापन तालिम आयोजना...

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लगानी सुरु

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लगानी सुरु

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आफ्नो लगानीको सुरुवात कास्कीको माछापुच्छ्रे र सर्दीखोला गाउँपालिकास्थित ३२ मेगावाट  उत्पादन क्षमतको करुवा सेती हाइड्रोपावर परियोजनाबाट गरेको...

काञ्जिरोवामा स्टिम प्रशिक्षण

काञ्जिरोवामा स्टिम प्रशिक्षण

कोटेश्वरस्थित काञ्जिरोवा नेसनल माध्यमिक विद्यालयमा विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित (स्टिम) विषयक दुई दिवसीय प्रशिक्षणात्मक कार्यक्रम सम्पन्न भएको छ ।

Ncell Footer Ad