८ वैशाख २०८१ शनिबार
समाज

राजधानीमा साँझपख बस चढ्नै सकस

काठमाडौं- राजधानीमा साँझपख सार्वजनिक सवारीसाधन खासगरी बस, माइक्रबासलगायतमा यात्रा गर्न सर्वसाधारणलाई निकै सकस हुने गरेको छ। सार्वजनिक सवारीसाधनले क्षमताभन्दा बढी यात्रु बोक्दा सर्वसाधारणले सास्ती खानु परेको छ।

घन्टौं कुरेर पनि बस चढ्न निकै हानाथाप हुने सर्वधारणले गुनासो गरेका छन्। 'सिटमा बसेर कहिल्यै घर जान पाइँदैन,' शनिबार साँझ काठमाडौं, भृकुटीमण्डप पर्खाल छेउमा टोखा जाने माइक्रोबस कुरिरहेकी सुनिता पोखरेलले गुनासो गरिन्, 'राम्रोसँग उभिन त पाइँदैन, बस्न पाउनु त परको कुरा।' दिउँसो साढे ४ बजेदेखि बेलुकी ७ बजेसम्म यात्रुको अत्यधिक चाप हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

राजधानीका सुन्धारा, गोंगबुलगायत बस स्ट्यान्डबाट भक्तपुर, पाटन, कीर्तिपुर, बुढानिलकण्ठ, टोखा चल्ने अधिंकाश सार्वजनिक सवारीसाधनमा यात्रुले साँझ पिकआवरमा ठेलमठेल यात्रा गर्न बाध्य छन्।

साँझको समयमा बालबालिका, अपांगता, दृष्टिविहीन, महिलालगायत सबै यात्रुलाई बसमा यात्रा गर्न निकै सकस हुने पोखरेलले बताइन्। 'साँझपख घन्टौं कुर्दा पनि बस पाइँदैन। पाइहाले पनि बसमा खुट्टा टेक्ने ठाउँ समेत हँुदैन,' उनले भनिन्, 'बसमा भेडाबाख्रा कोचेजस्तै कोच्छन्। त्यस्तै गाडी चढ्नुबाहेक अरु विकल्प पनि छैन।'

रत्नपार्कछेउ दिनभर बाँसुरी बजाएर जीविका चलाउने दृष्टिविहीन हरि नगरकोटी बेलुकीपख ललितपुर डेरा पुग्नै कठिन भएको बताउँछन्। 'बसले सेतो छडी बोकेको देख्दा रोक्नै मान्दैनन्,' उनले भने, 'के हामी दृष्टिविहीनले सार्वजनिक यातायात चढ्नै नपाउने?' उनले ट्राफिक प्रहरी नगुहारेसम्म बस चढ्नै नपाइने दुखेसो पोखे। 'सार्वजनिक यातायात अपांगमैत्री नहुँदा समस्या भएको छ,' उनले भने, 'अपांगमैत्री भइदिए हामीलाई यात्रा गर्न सहज हुन्थ्यो।'

अपांगका लागि आरक्षित सिटमा सबलांग बसिदिँदा समस्या आएको नगरकोटीको भनाइ छ। बेलुकीपख यात्रु बाध्य भएर भरिभराउ गाडीमा झुन्डिएर यात्रा गर्नुपरेको रमेश श्रेष्ठ बताउँछन्। 'भनेको बेला बस पाइँदैन। कति बेला घर पुगिएलाजस्तो हुन्छ। त्यसैले कोचमकोच सवारीसाधनमा नचढी अर्को उपाय हुँदैन,' उनले भने, 'त्यसमाथि बस चढ्नै सकस, चढेपछि पेलमपेल। घरिघरि त निसास्सिइन्छ।' यातायात व्यवसायीले साँझ कम संख्यामा गाडी चलाउने उनको भनाइ छ।' बस्न त परै जाओस् उभिने ठाउँ समेत हुदैन,' उनले भने, 'धेरै गाडी चलाए के बिग्रन्थ्यो!'

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले साँझमा सबैलाई घर फर्कन हतार हुने भएकाले सार्वजनिक यातायातमा बढी भीड हुने दाबी गरे। 'दिनभर बस खालीजस्तै गुड्छन्। बेलुकी भने यात्रुको चाप अत्यधिक हुन्छ,' उनले भने, 'साँझपख सर्वसाधारणले दुःख पाएको महसुस गरेका छौं।' यो समस्या समाधान गर्न केही समय लाग्ने उनले बताए। 'केही माइक्रोबसमा ठेलमठेल भएकै हो। त्यो व्यवस्थापन गर्न व्यवसायीसँग समन्वय गरिरहेका छौं,' उनले भने, 'उपत्यकाको जनसंख्या बढेको बढै छ। तर त्यसको अनुपातमा स्तरीय सेवा दिन सकेका छैनौं,' कमजोरी स्विकार्दै उनले भने, 'सवारीसाधन व्यवस्थापन गर्न ठोस नीति चाहिएको छ।'

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता लोकेन्द्रबहादुर मल्लले सार्वजनिक यातायातले पिकआवरमा निजी विद्यालयका विद्यार्थी ओसार्दा समस्या आएको बताए। 'कुनै यात्रुलाई पाँच मिनेट बस कुर्ने फुर्सद छैन,' उनले भने, 'केही समय पर्खिएर भए पनि सिटमै बसेर यात्रा गर्नुपर्छ।' राजधानीमा ट्राफिक व्यवस्थापन गर्न १ हजार २ सय ५० प्रहरी खटाइने महाशाखाले जनाएको छ। उनले खचाखच भरिएको सवारीसाधनमा नचढ्न सर्वसाधारणसँग अनुरोध गरेका छन्।

प्रकाशित: ७ कार्तिक २०७३ ०२:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App