६ वैशाख २०८१ बिहीबार
समाज

छुवाछुत व्यवहारमै अन्त्य गर्ने प्रतिबद्धता

रुपन्देही-  रुपन्देहीको शुद्धोधन गाउँपालिकामा अबदेखि जातीय छुवाछुतका घटना हुन नदिने र भए कानुन अनुसार कारवाही गरिने प्रतिबद्धता जनाएका छन्। गत बैशाख ५ गते शुद्धोधन ४ फर्साटिकरका रामबहादुर विश्वकर्माको छोरी आरती विकको विवाह भोजमा निम्तो मान्न आएका गैरदलित समुदायका केहि व्यक्तिहरुले भोजमा सहभागी नभएको घटना सार्वजनिक भएपछि गाउँपालिकाको अगुवाईमा गरिएको कार्यक्रममा छुवाछुत व्यवहारमै अन्त्य गर्ने प्रतिबद्धता जनाइएको हो।

नागरिक दैनिकमा समाचार प्रकाशित भएपछि घटनामा गाउँपालिकाको न्यायीक समिति र जातीय छुवाछुत अध्ययन तथा निगरानी समितिको अगुवाईमा छलफल गरि माफी माग्दै सामूहिक सहभोज गरेर  मिलापत्र गरि घटना साम्य पारिएको थियो। सोही अनुसार आईतबार शुद्धोधन गाउँपालिका र दलित वर्ग उत्थान गाउँ समन्वय समितिको आयोजनामा सामाजिक सदभाव तथा आपसी मेलमिलापका लागि सामूहिक भोज एंव अन्तरक्रिया तथा कानुनी सचेतना कार्यक्रम गरि कानुनी रुपमा अन्त्य भएको छुवाछुत व्यवहारमै अन्त्य गर्नुपर्नेमा जोड दिइएको छ।

कार्यक्रममा प्रदेश ५ का सभामुख पूर्ण बहादुर घर्तीले राजनीतिक रुपमा जातीय भेदभाव विरुद्ध उपलब्धि हासिल गरिएपनि साँस्कृतिक रुपमा क्रान्ति हुन नसकेको बताए। उनले दलित समुदायमाथि शासक वर्गले ठूलो अन्याय गरेको बताउँदै यसका लागि जबरजस्त रुपमा समाज परिवर्तन गर्ने बेला आएको बताए। प्रदेशसभाले कानुन निर्माण गरि छुवाछुत अन्त्य गर्न प्रतिबद्ध रहेको बताउँदै ब्राहमण सत्ता अन्त्य गर्न सबै लाग्नुपर्ने बताए।

कार्यक्रममा संविधानसभाका सदस्य एवं दलित अधिकारकर्मी विनोद पहाडीले गौतमबुद्धको वुवा शुद्धोधनको नाम जोडिएको गाउँमा छुवाछुत हुनु लज्जास्पद भएको बताए। उनले आजको युगमा पनि युवापुस्ताहरु भेदभावको घटनामा संलग्न हुनु ठूलो लाजको बिषय बन्नुपर्ने बताए। दलित समुदायलाई सार्वजनिक रुपमा अपमान गर्नेलाई कानुनी रुपमा कारवाही गर्नुपर्ने बताउँदै समाजिक सदभावका नाममा मिलापत्र हुनुलाई कमजोरीका रुपमा लिए प्रतिवाद गरिने बताए। उनले भेदभावकै कारण हिन्दु धर्म छाड्नुपर्ने अवस्था सृजना भएको भन्दै भेदभावको बिषबमन गर्नेहरुलाई धार्मिक अगुवालाई कारवाही गर्न आग्रह गरे। 

प्रदेश ५ का सांसद कमला विश्वकर्माले दलित समुदायले पाईलै पिच्छे जातीय रुपमा अपमान र भेदभाव भोग्नुपरेकाले अब अन्याय सहेर बस्न सक्ने अवस्था रहेको बताए। अर्का प्रदेश ५ का  सांसद दीपा विश्वकर्माले २१ औं युगमा पनि जातीय रुपमा अपमानित हुने कुरा सामन्य नभएको बताउँदै घटना वाहिर ल्याएकोमा पीडित परिवारलाई धन्यावाद दिईन।

शुद्धोधन गाउँपालिकाका अध्यक्ष किशुनचन्द्र चौधरीले गाउँपालिकाभित्र अबदेखि जातीय छुवाछुत नहुने र सबै बर्ग जातीविच सहकार्य सह—अस्तित्व कायम गर्ने प्रतिबद्धता जनाए। उनले भेदभाव भएमा गाउँपालिकाले कारवाही गर्ने समेत बताए। उनले समाजमा कसैले पनि जातीय रुपमा भेदभाव, कुरिती कायम राख्ने काम गरे त्यो कानुन विपरित हुने बताए।

कार्यक्रममा दलित वर्ग उत्थान जिल्ला समन्वय समितिका उपाध्यक्ष पदम बहादुर विश्वकर्माले आफूहरु निरन्तर रुपमा जातीय रुपमा अपमानित र अपहेलित हुँदै आएकाले त्यसको निरन्तरता स्वरुप बैशाख ५ को घटना भएको बताए। उनले छिमेकमा कसैले विवाह, पूजा जस्ता शुभकार्य हुँदा पल्लो गाउँबाट निम्ताउलु बोलाउने तर घर टाँसिएको दलित नबोलाउने अवस्था फर्साटिकरमा रहेकाले अब यसको अन्त्य हुनुपर्नेमा जोड दिए।  कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य बुद्धिराम हरिजनले हिन्दु धर्मको नाममा दलित समुदायमाथि भेदभाव हुनेक्रम नरोकिएको बताए।

कार्यक्रममा शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष शान्तादेवी ज्ञवाली, नेकपा शुद्धोधन गाउँपालिका अध्यक्ष नर बहादुर घर्ती, नेपाली काँग्रेसका गाउँ सभापति शेर बहादुर काफ्ले, हिन्दुर स्वयम सेवक संघका देविलाल भट्टराई, गाउँपालिकाका वडा नम्बर ४ का वडाअध्यक्ष राजेन्द्र कडेल, पीडकका तर्फबाट डिआर कंडेलले जातीय छुवाछुत विरुद्ध आफूहरु सदैव लाग्ने र यस्ता व्यवहार शुद्धोधनमा हुन नदिने प्रतिबद्धता जनाए।

कार्यक्रममा अधिवक्ता दीपा सुनारले समाजमा विभिन्न प्रकारकले छुवाछुत हुनेक्रम जारी रहेको बताउँदै जातीय छुवाछुत कसुर र सजाय ऐन २०६८ अनुसार ३ महिनादेखि ३ बर्ष र १ हजारदेखि २५ हजारसम्म जरिवाना गर्ने जानकारी दिईन। कार्यक्रममा दलित वर्ग उत्थान गाउँ समन्वय समितिका अध्यक्ष राम बहादुर विश्वकर्माले सामाजिक रुपमा अपमानित हुने अवस्था सदाका लागि अन्त्य गर्ने गरि गाउँपालिकाले कार्यक्रम बनाउने तर्फ ध्यान दिनुपर्ने बताए। विभिन्न सञ्चार माध्यममा जातीय भेदभाव भएको घटना वाहिर आएपछि सामूहिक रुपमा सहभोज र भेदभाव अन्त्यका लागि अन्तरक्रिया कार्यक्रम गर्ने गरि सहमती गरिएको थियो। सोही अवसरमा फिर्ता गरिएको दक्षिणा वापतको ६ हजार ३ सय ५० रुपैयाँ पीडित परिवारले छात्रबृत्तिमा लगाउने घोषणा गरेका छन।

प्रकाशित: २२ वैशाख २०७६ ११:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App