७ वैशाख २०८१ शुक्रबार
अन्य

उपहार

परैबाट आकृतिलाई हेर्दा हतारमा थिई भन्ने देखिन्थ्यो। ऊ अफिसबाट हतारहतार घर फर्किरहेकी थिई। खासमा दिउँसो भरिको कामको थकाईका कारण कहिले घर पुगौँ भन्ने उसलाई लागिरहेको थियो। उसले मनमनै गमी, ‘चट्ट, घर पुग्छु र सावर लिएर थकान मेटिने गरी मग्मगाउँदो चिया खाँदै पत्रिका पढ्छु।’

चिया र अखबार उसको तलतलका चिज हुन्। आकृतिले आज बिहान चाँडै अफिस पुग्नु पर्ने भएकाले बिहानको अखबार नियाल्न पनि भ्याएकी थिइन।

घर, सावर, चिया र अखबार सम्झनेबित्तिकै उसमा अनौठो जाँगरको सञ्चार भयो। उसले पार्क गरिएको अल्टो गाडी निकाली र अघि बढी।

एक्कासि आकृतिको भृकुटि खुम्चियो। उसको दृष्टि एक ठाउँमा गएर रोकियो। त्यहाँ दुब्लो–पातलो शरीर, नकोरिएको कपाल, अव्यवस्थित लुगा लगाएको आयुषलाई देख्दा आकृतिलाई आफूमाथि नै विश्वास लागेन। आयुषलाई यो हालतमा देख्दा ऊ झसङ्ग भई, आठ/नौ वर्ष कति चाँडो बितिसकेछन्! यत्तिका वर्षपछि त्यही ठाउँमा उसले आयुषलाई देखिरहेकी छ, जहाँ यी दुवै रातदिन भेट्थे, दुःखसुखको कुरा साट्थे। यसरी दुवैले एकअर्कालाई यहाँ पाउँदा घण्टौँ बितेको पत्तै हुँदैन थियो।

फेरि आकृतिको भृकुटि खुम्चियो। यो खुम्चाई उसका सारा करुणा विपरीतका थिए। यो त्यही व्यक्ति त थियो, जसले उसको पवित्र भावनालाई कुठाराघात गर्ने!

पहिला आयुष त्यहीँ र त्यसैगरी बस्दा आकृतिलाई कति आनन्द  लाग्थ्यो! आज उसैगरी ऊ त्यहाँ बसिरहेको पाउँदा उसलाई आनन्द होइन, करुणा जागिरहेको छ। मैलो–धैलो, दीनहीन अवस्था उसले देखिरहेकी छ। फेरि अचानक आकृतिलाई लाग्यो, ‘उसले त्यहाँ त्यसरी बस्ने हिम्मत कसरी ग-यो ! उसले त्यहाँ बस्ने हक नै गुमाइसकेको छ।’

आकृतिका हात स्टेयरिङमा नै थिए तर मन भने कताकता बहकिइरहेको थियो। उसमा अतितका कयौँ स्मृति कुदिरहेका थिए । प्रश्नैप्रश्न उठिरहेका थिए।

ऊ कुन बेला घर आइपुगी, कुन बेला सावर लिई र भान्सामा छिरी, कुन बेला चिया पाक्यो र यतिबेला जसै उसको हातमा कप र ओठमा मीठो चियाको चुस्की पस्यो, ऊ आफैँप्रति झस्किई। ‘आज मलाई यो के भइरहेको छ? किन यावत् सम्झनाले दुःख दिइरहेका छन्?’
०००
आयुष र आकृति कलेजमा सँगै पढ्थे। धेरै जसो समय उनीहरु सँगै हुन्थे। आकृतिका लागि आयुषको खुशी नै सबैथोक थियो। उसको खुसी मेरो पनि खुसी हो भन्ने ठान्थी। त्यस्तो सोच्नुमा सायद आकर्षक रुपरङ्गको आयुषले आकृतिलाई रुचाएर हुनुपर्छ। नवयुवा यो जोडी हरेक समय सँगै हुनुमा आयुषको एक्लो बसाइले पनि भूमिका खेलेको थियो। शहरमा ऊ एक्लो थियो र एक्लै डेरामा बस्थ्यो। यस्तो भएपछि आकृति र आयुष हरसमय सँगै हुनु अस्वाभाविक थिएन।

कसैलाई आयुष र आकृतिमध्ये कसैका बारेमा सोध्नुप-यो भने कुनै एक जनालाई सोधे पुग्थाे। दुई जनाको जोडी पनि मिलेको थियो। कतिपयले त ईष्र्या नै गर्थे। आकृति अरुको ईष्र्या बुझ्थी र उसलाई खुसी पनि लाग्थ्यो।

सधैँ सँगै भए पनि आयुषलाई भने अरुले यी दुई जनाको नाम जोडिदिएको मन पर्दैनथ्यो। ‘हामी साथी मात्र हौँ,’ प्रायः स्पष्टीकरणको मूडमा आयुषले भन्ने गथ्र्यो।

आकृति यी सब कुराको वास्ता गर्दन थिई। ऊ एक किसिमले आँखामा पट्टि बाँधिएकोजस्तो एकोहोरो माया मात्र बुझ्थी।

आकृतिका दुई कमजोरी थिए, आयुष र अध्ययन। सायद पढाइमा पनि तेज भएकाले आयुषले उसको सामीप्य रुचाएको हुँदो हो। आकृतिलाई मुड चलेका बेला मनपर्ने खाना बनाउँथी र टिफिनमा हालेर उसको कोठामा खुसुक्क छिर्थी। उसको कोठा मिलाइदिन्थी, धुन लुगा ब्यागमा कोचकाच पारेर घर ल्याउँथी र धोइदिन्थी।

आकृतिको दिमागमा चौबीसै घण्टा आयुष मात्र थियो। उसलाई राम्रो सुझाव र विचार दिने, गृहकार्य गरिदिने, हरेक कुरामा सघाउँथी। यति भएपछि आयुष पनि एक किसिमले आकृतिमै भर पर्न थालेको थियो। एक दिन घरमा गाइँगुइँ भयो, बुझ्दै जाँदा आकृतिको विवाहको कुरा चलिरहेको थियो।

उसले कोठाबाट सुनिरहेकी थिई, ‘राम्रो घरको केटा छ, कमाई पनि राम्रो छ, हेर्दा आकृतिले पनि मन पराउँछे। यही आउँदो मङ्सिरमा विवाह गराइदिँदा राम्रो हुन्छ।’ बाबाका कुरा सुनेर आकृतिलाई छटपटी शुरु भयो।

‘आयुषलाई म आफूभन्दा बढी माया गर्छु भनेर बाबालाई कसरी भनूँ,’ आकृतिको मनमा हुण्डरी उठ्यो, ‘बनाएँ भने आयुषलाई नै जीवनसाथी बनाउँछु। नत्र अरु कसैलाई पनि बनाउँदिनँ।’

तर उसलाई समस्या थियो, आफूले मन पराएको केटाको नाम कसरी बाबाको अघिल्तिर उच्चारण गरुँ! बाबाले थाहा पाए त आयुषलाई हेरेर पक्कै पनि नार्इँ भन्नु हुन्थेन। आयुष असल व्यवहारको थियो, हेर्दा पनि आकर्षक! सँगै ब्याचलर गर्दै थियो र पढ्नमा त्यति नराम्रो पनि त थिएन! राम्रै घरको छोरा थियो। कुनै दृष्टिबाट पनि ऊ नराम्रो थिएन तर हाम्रो समाज त्यति अगाडि बढिसकेको थिएन कि केटी आफैँले आफैँ बर खोजिसकेँ भनोस्!

त्यो रात आकृति सुत्नै सकिन। बिहान उठेर कलेज गई तर दिनभर पढ्ने कुरामा पनि ऊ रत्तिन सकिन। कहिले आयुषलाई सबै कुरा भनौं जस्तो भइरहको थियो। यतिबेला ऊ मसँगै थियो तर मनका कुरा भन्न नसक्दा कोसौँ टाढाजस्तै महसुस भइरहेको थियो।

कलेजपछि हामी त्यही क्याफेमा पुग्यौँ, जहाँ सधैँ कलेज सकिएपछि जान्थ्यौँ। आयुषले कलेजमा पटक–पटक कि आँखाले कि त ओठले ‘किन? के भयो? अर्कै देखिन्छ्यौ, थकित देखिन्छ्यौ?’ भनेर हत्ते पारेको थियो। क्याफेमा पनि उसले फेरि सोध्यो, ‘आकृति, तिमी किन आज थकित देखिएकी छौं के भयो? सञ्चो भएन? कक्षामा पनि तिम्रो ध्यान अन्तै थियो।’

लामो श्वास फेरी आकृतिले र भनी, ‘आयुष, आज म रातभर सुतेकी छैन। बुबाले मङ्सिरमा विवाह गरिदिने भनेर केटा खोज्दै हुनुहुन्छ। एउटा केटाको कुरा अघि बढिसक्यो। पढाइ सिध्याएर व्यापार गर्दै गरेको छ भन्दै हुनुहुन्थ्यो। हुन त बुबाले भनेको कुरा मैले स्पष्ट बुझिनँ, तर यो कुरा त पक्का हो।’

आयुषले केही बोल्न खोज्दै थियो, आकृतिले रोकेर पुनः थपी, ‘पल्लो कोठाबाट मैले थोरबहुत सुनिसकेपछि तिमीलाई यही कुरा कसरी भनौं भन्ने लागिरह्यो।’

फेरि पनि आयुषले केही बोल्न खोज्दै थियो तर आकृतिले आँखामा आँखा जुधाएर भनी, ‘तिमी मेरो हात माग्न बाबाआमाका कहिले आउँछौ?’ यत्ति भनेर फेरि ऊ गुन्गुनाई, ‘मेरो विवाह गर्ने बेला पनि भैसकेछ। कत्ति चाँडो...!’

केहीबेर टोलाएपछि आकृतिले आयुषतिर हेरी, भनी, ‘म तिमी बिना बाँच्न सक्दिनँ आयुष। तिमी आऊ र आमा–बाबासँग कुरा गर।’

आयुषको अनुहारको रङ उड्यो। ऊ निकैबेर मौन बसेको देखेपछि आकृतिले सोधी, ‘के भयो? किन चूप?’

आयुषको अनुहार क्रमशः कडा हुँदै थियो तर नरम भाषामा भन्यो, ‘आकृति, तिमी र म राम्रो साथी हौँ तर मैले तिमीलाई कहिल्यै पनि अर्को नजरले हेरिनँ।’

अब भाव बद्लिने पालो आकृतिको थियो, ‘आयुष...!’

आयुषले आफ्ना कुरा जारी राख्यो, ‘तिमी मेरो प्रेरणा हौ, सम्मान हौ। तिमीबाट मैले धेरै राम्रा कुरा पाएँ, जीवन बाँच्न सिकेँ। तिमी मेरो जीवनमा श्रद्धाको पात्र हौ तर जीवनसाथीको पात्र होइनौ।’

आयुषका यस्ता शब्द सुनेपछि आकृतिको आँखाबाट अनायास नै आँशु बर्बरी खस्न थाले।

आयुषले भन्यो, ‘यत्ति राम्रो सम्बन्धलाई हामीले बिहेपछि नष्ट नगरौँ। यो सम्बन्धलाई जोगाउने हो भने आमाबाबाले खोजेको सँगै बिहे गर।’

‘तिम्रो जीवनमा अरु कोही छ?’ झिनो आशा बोकेर आकृतिले सोधी।

‘हो, उसको नाम आशा हो,’ उसको नाम लिँदा मात्र पनि आयुषको अनुहार उज्यालियो, ‘ऊ मोर्डन छे, राम्री, स्लिम छे। धनी घरकी एक्ली छोरी पनि हो।’

आकृतिलाई आयुषको मुखारबिन्दबाट अरु नै केटीको प्रशंसा सुन्दा भाउन्न भएर आयो।

आकृति चिच्याई, ‘तिमीले अरुका सारा कुरा देख्यौ, मेरो माया रत्तिभर देखेनौ? माया धनसम्पत्ति हेरेर गरिन्छ? बाहिरी रुपलाई गरिन्छ? एकअर्काप्रति त्याग, तपस्या र माया हेरिँदैन?’

धन्न रेस्टुराँमा त्यो बेला कम मानिस थिए र ऊ चिच्याएको कसैले मतलब पनि गरेनन्। यो कुराको ख्याल आउनेबित्तिकै आकृतिले आफ्नो स्वर नरम बनाई। त्यसपछि अनायासै आँखाबाट बरर्र झरेका आँशुलाई न्यापकिनले पुछ्दै सुस्तरी भनी, ‘तिमी मेरो प्रेम र मेरो जीवनकै अधिकारी हौ भन्ने सोच्थेँ तर तिम्रो यस्तो सोच पहिलो पटक सुनेर म छक्क परिरहेकी छु।’

‘मैले कहिल्यै तिमीलाई मेरा भावना लुकाइनँ, मैले सधैँ म धनी केटी बिहे गर्छु, राम्री केटी बिहे गर्छु भनेकै थिएँ,’ आयुषले स्पष्टोक्ति दियो।

‘मैले आफैँलाई सम्झिएँ,’ आँशु झार्दै आकृतिले भनी, ‘म पनि आफ्नो नजरमा धनी थिएँ, नराम्री पनि त थिइनँ!’

‘मैले कहिल्यै तिमीलाई प्रेम–प्रस्ताव राखेँ?’

‘तिम्रा आँखाले सबै भनिरहेका थिए, तिम्रा आँखा पढेँ।’

यसपछि आकृतिले कयौँ पटक मायाको भिख मागेकी थिई तर आयुषको मन मग्लिएन। यसपछि घृणाले एक पटक आयुषतिर हेरी र फरक्क फर्किएर ‘गएँ’ पनि नभनी हिँडी।

उसलाई आयुष बिर्सन गाह्रो भइरहेको थियो। मायामा दुःखैदुःख र पीडैपीडा हुँदोरहेछ भन्ने उसले बल्ल बुझेकी थिई। आकृति डिप्रेसनमा जान थालेपछि उसलाई अर्को शहरमा पठाइयो। ऊ आमाबुबाको काख छाडेर फूपूकहाँ पुगी। फूपूको माया र प्रेमिल वातावरणले आकृतिको अवशाद मात्र घटेन, त्यो वातावरणमा उसले एउटा नयाँ जीवन पाई।
अब उसलाई अल्मल्याउने कुनै आयुष थिएन, कुनै प्रेम थिएन। उसले आफ्नो करिअर सोचेर पढाइमा ध्यान दिन थाली।

उसको पढ्ने भोक अब पुनः जागृत भएर आयो।

त्यसै पनि पहिला ऊ राम्रै विद्यार्थी थिई, यो चोटले उसलाई आफू हुनुको महत्त्व बुझाइदियो। उसले आफ्नो कमजोरीमा होइन, आफ्नो सशक्तता केमा छ, खोज्न थाली। उसलाई आफ्नो पढाइ नै सम्पत्तिझैँ लाग्न थाल्यो। त्यसैलाई बढाउनतिर लागिपरी। फूपूले पनि उसलाई एक जना योग्य प्राध्यापक पवनको साथ लगाइदिइन्।

योग्य प्राध्यापकको सान्निध्य पाएर ऊ कुमालेको भाँडोजस्तै आफ्नो सही आकृतिमा आउन थाली। व्यवहारले कडा र काम सिकाउन सिपालु पवनको साथले ऊ पनि एउटा कुशल अनुसन्धाता भएर निस्किई।

समयक्रममा अब आकृति एउटा सफल र योग्य महिला भइसकेकी थिई। उसलाई जागिरका लागि कसैको सिफारिस चाहिँदैन थियो। सबैले गर्वका साथ उसलाई अफिसको जिम्मा दिन चाहन्थे। ऊ गर्वका साथ फेरि आफ्नो शहर फर्किएकी थिई र अचानक त्यही पार्कमा आयुषलाई देखेकी थिई।

आज एक्कासि उसले यत्तिका वर्षपछि आयुषलाई त्यहाँ देख्दा उसलाई भाउन्न भएर आयो । ऊ त्यसैगरी बसेको थियो, जसरी यसअघि उसका अघिल्तिर हुँदा आयुष बस्ने गथ्र्यो। उसलाई आयुष अनेकन भाव सिर्जना भयो।

आज यत्तिका समयपछि आएर त्यही कुरा दो-याउनुको मतलब के हो? के उसले आकृतिलाई केही सन्देश दिन खोजिरहेको हो? कतै ऊ मानसिक अवस्था खल्बलिएको त होइन? आकृतिलाई एक पटक उसलाई भेटूँ लाग्यो तर उसलाई लाग्यो, कतै बाटोमा नचाहिने व्यवहार त गर्दैन?

तर किन–किन आकृतिलाई ऊ छेउ गएर एउटा उपहार दिन मन लाग्यो। यो उसप्रति कृतज्ञताको उपहार थियो। उसले अस्वीकार नगरेको भए, आफूले कसरी सानै संसारलाई आफ्नो संसार ठान्ने थिई!

यसपछि ऊ बजार गएर एउटा उपहार किनी। सिन्कामा लुगा लगाएको जिङ्गरिङ्ग अनुहार भएको पुतली किनेर उसले उपहार प्याक गरेर गाडीमा राखी। बाटोमा त्यही ठाउँ आयो, जहाँ आयुष त्यसरी नै बसिरहेको थियो। आकृतिले गाडी रोकी अनि सरासर उसको अगाडि उभिई। उसलाई देखेर आयुषको आँखा चम्कियो। आकृतिले उपहार उसतर्फ बढाई। आयुषले खोलेर हे-यो। खेतबारीमा जनावर चराचुरुङ्गी तर्साउन राखिने बुख्याँचाको उपहार पाएकोमा उसले अचम्म मान्यो र आकृतिलाई हे-यो। उपहारलाई गोजीभित्र हालेर आयुष आफ्नो बाटो लाग्यो।

त्यसपछि कहिल्यै आयुष त्यो ठाउँमा देखिएन।

प्रकाशित: २२ वैशाख २०७६ ०९:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App