८ वैशाख २०८१ शनिबार
समाज

बालगोपालेश्वर पुनर्निर्माण पुरातत्वले गर्ने

काठमाडौं- राजधानीको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर पुनर्निर्माण पुरातत्व विभागले आफैं गर्ने भएको छ। यसअघि काठमाडौं महानगरपालिकाले मापदण्डविपरीत गरिरहेको पुनर्निर्माण विभागले रोकेको थियो। विभाग, महानगरपालिका, पुनर्निर्माण प्राधिकरणको संयुक्त छलफलपछि विभागले मन्दिर आफैंले पुनर्निर्माण गर्ने भएको हो।

महानगरपालिकाले मन्दिर पुनर्निर्माणमा रड, सिमेन्ट, इटालगायत आधुनिक निर्माण सामग्री प्रयोग गरेपछि विभागले रोक लगाएको थियो। त्यसपछि मापदण्डअनुसार नै पुरातात्विक सामग्री उपयोग गरी पुनर्निर्माण गर्न विभागले मन्दिरको डिजाइन दिए पनि महानगरपालिकाले प्राविधिक कारण देखाउँदै पुनर्निर्माण थालेको थिएन।

'हामीले टेन्डर गरी १९ लाख रुपैयाँमा पुनर्निर्माण थालेका थियौं, मापदण्डविपरित भयो भनेर रोक लगाइयो,' महानगरपालिकाका प्रमुख तथा कार्यकारी अधिकृत रुद्रसिंह तामाङले भने, 'नयाँ डिजाइनमा बजेट पनि धेरै आयो। फेरि टेन्डर गर्न प्राविधिक समस्या उत्पन्न भएकाले विभागलाई नै जिम्मा लगायौं।' उनका अनुसार पुनर्निर्माणमा आवश्यक बजेट महानगरपालिकाले उपलब्ध गराउनेछ। विभागले गरेको नयाँ डिजाइन अनुसार मन्दिर पुनर्निर्माण गर्न १ करोड ६२ लाख रुपैयाँ लाग्नेछ।

ऐतिहासिक महत्वका सम्पदा मापदण्ड अनुसार पुनर्निर्माण गर्नुपर्ने भए पनि महानगरपालिकाले मन्दिर पुनर्निर्माणमा क्रंकिटको पिलर खडा गरेको थियो। पिलर बनाएसँगै स्थानीयले विरोध गरेपछि भदौ पहिलो साता विभागले रोक लगायो। 'पुनर्निर्माणको अन्योल हटेको छ,' पुरातत्व विभागका निर्देशक भेषनारायण दाहालले भने, 'मन्दिरको नक्सा (डिजाइन) तयार गरेका छौं, त्यसै अनुसार विभागले नै पुनर्निर्माण गर्छ।' उनले अहिले बनाइका कंक्रिट संरचना भत्काएर विभागले मापदण्ड अनुसार पुरातात्विक सामग्रीबाटै पुनर्निर्माण गर्नेछ। 'बजेट जति छिटो उपलब्ध हुन्छ, त्यति छिटो काम थालिनेछ,' महानिर्देशक दाहालले भने।

विभागले मन्दिर पुनर्निर्माण गरे पनि रानीपोखरीको पुनर्निर्माण भने महानगरपालिकाले नै गर्ने भएको छ। महानगरपालिकाले रानीपोखरीलाई पर्यटकीय स्थल बनाउन आकर्षक बनाउन लागि परेको छ। भाइटीकाको दिन मात्र खुल्ने मन्दिर पनि सधैँ खोल्ने महानगरपालिकाको योजना छ। तर पुरातत्वविद्ले भने मन्दिर सधैँ खोल्न नहुने बताउँदै आएका छन्। 'विशेष दिन खोल्दा त्यसको विशेष महत्व र आकर्षण हुन्छ,' सम्पदा विज्ञ तथा विभागका पूर्वमहानिर्देशक विष्णु कार्कीले भने, 'सधैँ खोल्दा मन्दिरको महत्व घट्छ। तसर्थ बालगोपालेश्वर मन्दिर सधैँ खोलिनु हुँदैन।' ऐतिहासिक महत्वका सम्पदा झिनो स्वार्थका लागि नास्नु नहुने कार्कीको भनाइ छ।

भाइटीकाको दिन खुल्ने मन्दिर गत वर्ष वैशाख १२ को भूकम्पमा क्षतिग्रस्त भएपछि पोहर साल भक्तजनलाई तस्बिरमा दर्शन गर्ने व्यवस्था मिलाइएको थियो। यस वर्ष पनि मन्दिर प्रवेशद्वारमै महादेवको तस्बिर राखेर दर्शनको व्यवस्था गरिने विभागले बतायो। पुनर्निर्माण रोकिएपछि मन्दिर अहिले लथालिंग छ।

प्रताप मल्लले कान्छा छोरा चक्रवर्तीन्द्र मल्लको असामयिक मृत्युपछि रानीलाई शोकमुक्त गराउन रानीपोखरी निर्माण गराएको इतिहासमा उल्लेख छ। रानीपोखरी दुई वर्ष लगाएर विसं १७२७ मा निर्माण गरिएको थियो।

प्रकाशित: ७ कार्तिक २०७३ ०२:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App