८ वैशाख २०८१ शनिबार
अर्थ

दश वर्षपछि सकियो काबेली करिडोर प्रसारण लाइनको दोस्रो खण्ड

रमेश लम्साल    
काठमाडौं- वन क्षेत्रको जग्गा प्रयोग र रूख कटानको समस्या, निर्माण व्यवसायीको कमजोर कार्यसम्पादन, स्थानीयवासीको अवरोधका कारण विगत दश वर्षदेखि निर्माणमा रहेको काबेली करिडोर प्रसारण लाइनको दोस्रो खण्ड निर्माण सम्पन्न भएको छ।

बहुप्रतिक्षित १३२ केभी प्रसारण लाइन आयोजनाको दोस्रो खण्डको निर्माण सम्पन्न भई परीक्षणसमेत सम्पन्न भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। आयोजना सम्पन्न नहुँदा केही निजी क्षेत्रका आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न समस्या हुँदै आएको थियो। नेपाल विद्युत् प्राधिकरणका अनुसार सो प्रसारण लाइनको इलामको सोयाक–पाँचथरको खण्डको निर्माण सम्पन्न भएको छ।          
 सो प्रसारण लाइनको शनिबारदेखि परीक्षण प्रसारण शुरु गरिएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए। प्राधिकरणको सोयाकबाट एउटा लाइन इलामको गोदक र अर्को लाइन झापाको लखनपुरमा जोडिएको छ। सोयाकबाट दुवै लाइन पाँचथरको फिदिमस्थिति थापाटार सबस्टेशनमा जोडिएको छ। कूल ४२ दशमलव ८८ किलोमिटर लामो सो प्रसारण लाइनको दोस्रो खण्डमा १२६ वटा टावर रहेका छन्।

“निर्माणमा स्थानीयको अवरोध, वन क्षेत्रको जग्गा प्रयोगमा रहेको समस्या झेल्दै रुग्ण अवस्थामा पुगेको यो खण्ड स्थानीय तहका जनप्रतिनिधि, प्रशासन, सुरक्षा निकायलगायतको निरन्तरको सहयोगमा निर्माण सम्पन्न गर्न सफल भएका छौँ”, घिसिङले भने।          
 सो प्रसारण लाइन निर्माण सम्पन्न भएपछि निजी क्षेत्रले निर्माण गरिरहेका जलविद्युत् आयोजनाको विद्युत् प्रसारण लाइन अभावमा खेर नजाने सुनिश्चित भएको छ। कार्यकारी निर्देशक घिसिङले फिदिम–अमरपुर तेस्रो खण्डको निर्माण अगामी असारभित्रमा सम्पन्न गरी सञ्चालनमा ल्याउने तयारी गरिएको छ।          
 पाँचथर र ताप्लेजुङमा रहेका कावेली, हेवा, माईलगायतका खोलामा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि कावेली करिडोर निर्माण भएको हो। झापाको लखनपुरदेखि शुरु भएको ९१ किलोमिटर प्रसारण लाइन इलाम, पाँचथर, तेह्रथुम हुँदै पाँचथरकै अमरपुरसम्म पुग्छ। प्रसारण लाइनलाई तीन खण्डमा विभाजन गरी निर्माण गरिएको हो। आयोजनाले निर्माण गर्नुपर्ने २६१ वटा टावरमध्ये तेस्रो खण्डको एउटाको मात्रै काम बाँकी रहेको छ।        
 लखनपुर–गोदक पहिलो खण्डको ३५ किलोमिटर प्रसारण लाइन २०७२ असोजदेखि सञ्चालनमा आइसकेको छ। आयोजनाले यसअघि नै दमक, गोदक, थापाटार र अमरपुरमा १३२/३३/११ केभी सशस्टेशनको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइसकेको छ।

प्रसारण लाइनको बाटोमा पर्ने जग्गाको शत्प्रतिशत क्षतिपूर्ति दिनुपर्ने, मार्ग परिवर्तन गर्नुपर्नेलगायत माग राखी इलामको मङ्गलबारे, चमैता, सिद्धिथुम्का पाँचथरको फिदिम जोरसाल क्षेत्रका स्थानीयले प्रसारण लाइन निर्माणमा अवरोध गरेका थिए। समस्या समाधानका लागि कार्यकारी निर्देशक घिसिङ गत वर्ष आफैँ आयोजनास्थलमा गई स्थानीयसँग छलफल गरी समस्या समाधान गरेका थिए।

काबेली करिडोरको दोस्रो खण्डमा निजी क्षेत्रले निर्माण गरेका १४ दशमलव ९ मेगावाटको हेवाखोला ‘ए’ र २२ दशमलव १ मेगावाटको तल्लो हेवाखोला जलविद्युत् आयोजना जोडिनेछन्। हेवाखोला ‘ए’ हाल सञ्चालनमा छ भने तल्लो हेवाखोला निर्माणको अन्तिम चरणमा छ। हेवाखोला ‘ए’को विद्युत् अहिले अस्थायी रुपमा ३३ केभी प्रसारण लाइनमा जोडिएको छ। दुवै आयोजना थापाटार सबस्टेशनमा जोडिनेछन्।

कूल १३ दशमलव ३३ किलोमिटर लम्बाइ भएको तेस्रो खण्डमा पर्ने ४० वटा टारमध्ये ३९ वटाको निर्माण सकिएको आयोजना प्रमुख दीपेन्द्रराज द्विवेदीले जानकारी दिए। “बाँकी एउटा टावर खडा हुँदैछ, करीब सात किलोमिटर तार तानिसकेका छौँ, बाँकी काम सकेर आगामी असार १५ भित्रमा लाइन सञ्चालन गर्ने गरी काम गरिरहेका छौँ”,उनले भने।          
 कूल ३७ दशमलव ६ मेगावाट क्षमताको को काबेली ‘ए’, २५ मेगावाटको काबेली बी–१, १० मेगावाटको रैराङलगायत निजी क्षेत्रले निर्माण गरिरहेका जलविद्युत् आयोजनाहरुको विद्युत् तेस्रो खण्डमा जोडिनेछ। काबेली करिडोर प्रसारण लाइन निर्माण करीब १० वर्षअघि शुरु गरिएको थियो। ठेकेदारको कमजोर कार्यसम्पादन, प्रसारण लाइनको ‘राइट अफ कूल तीन करोड १० लाख अमेरिकी डलर अनुमानित लागत रहेको सो प्रसारण लाइन आयोजना नेपाल सरकार तथा विद्युत् प्राधिकरणको लगानी र विश्व बैकको सहुलितपूर्ण ऋणमा निर्माण भएको हो। रासस    
 

 

प्रकाशित: २२ वैशाख २०७६ ०९:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App