coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

घरदैलोमै बैंक खाता अभियान

बेनी नगरपालिका–६ अर्थुङेमा गरिमा विकास बैंकको घरदैलो अभियानमा खाता खोल्न पुगेका वृद्धवृद्धा। तस्बिरः हरिकृष्ण/नागरिक

म्याग्दी– बेनी नगरपालिका–६ जामुनाखर्कका ८५ वर्षीय गंगादत्त उपाध्यायले गाउँमै बैंकको खाता खोले। उमेरले डाँडापारिको घाम बनेका उपाध्यायले गाउँमै सरल र सहज प्रक्रियाबाटै खाता खोल्न पाएपछि खुसी व्यक्त गरे।

उपाध्यायजस्तै प्यारालाइसिसका बिरामी बयोवृद्ध लालबहादुर सार्कीले पनि गाउँमै बैंकको खाता खोले। केही वर्षयता हिँड्डुल र शौच गर्नसमेत आफैं शौचालयमा जान नसक्ने अवस्थाका सार्की र उनकी श्रीमतीले एकैपटक खाता खोलेपछि नियमित बचत गर्ने प्रक्रियाका बारेमा समेत जिज्ञासा राखेका थिए।

म्याग्दीको सदरमुकाम बेनीमा शाखा रहेको गरिमा विकास बैंकले घरदैलोमै खाता खोल्ने अभियानअन्तर्गत शुक्रबार बेनी नगरपालिका–६ भित्रका विभिन्न बस्तीबाट सुरु गरेको खाता खोल्ने अभियानमा ज्येष्ठ नागरिक, बयोवृद्ध, अपांगलगायत वित्तीय कारोबारका लागि बैंकसम्म पुग्न नसक्ने अवस्थाका स्थानीयलाई राहत मिलेको छ।

‘गाउँघरमै खाता खोल्ने, समय–समयमा आएर भत्ता पनि दिने व्यवस्था गर्नुपर्छ,’ हर्कबहादुर विकले भने। सदरमुकाम बेनीम भत्ता लिन गएर फर्किने बेलामा यातायात खर्च, खानालगायत अन्य खर्च गर्दा भत्ता नै सकिने गरेको बताए। छोराछोरी वैदेशिक रोजगारीमा गएको अवस्थामा बैंकमा रहेको भत्ता लिन जान समेत समस्या हुने गरेको वृद्धृवृद्धाको गुनासो थियो।

खाता खोल्न बैंकमा जानुपर्नेमा घरदैलोमै आएपछि उत्साहित भएका वृद्धवृद्धाले आफ्नो खाताको सुरक्षाका बारेमा समेत जिज्ञासा राखेको बैंकका बेनी शाखा प्रबन्धक कमलप्रसाद ढुंगानाले बताए। ‘खातामा पैसा राख्दाका फाइदाका बारेमा समेत बुझ्ने प्रयास गर्नुभयो, उहाँहरूको चाहनाअनुसार नै भविष्यमा थप सेवाको प्रयास गर्नेछौं,’ उनले भने।

ढुंगानाले बेनी शाखामार्फत पहिलो चरणमा सामाजिक सुरक्षा भत्ता वितरण गर्ने बेनपा–६ र ९ वडामा घरदैलो कार्यक्रम सञ्चालन गरिने बताउँदै आवश्यकताअनुसार थप योजनासहित घरदैलोमा पुग्ने बताए। घरदैलोमै पुगेर खातासँगै क्यालेन्डरसहितका सेवासमेत दिने गरेका छन्। बैंक खाता सञ्चालनको अभियानमा जनप्रतिनिधिले समेत सहयोग गर्ने गरेको स्थानीय बताउँछन्।

नेपाल सरकारको बैंक खाता खोल्ने अभियानलाई पूरा गर्नसमेत सघाउ पुग्ने गरी गरिमाले जिल्लाको मंगला, मालिका, अन्नपूर्ण गाउँपालिकामा रहेको शाखामार्फत समेत खाता खोल्ने अभियान सञ्चालन गर्ने जनाएको छ। वित्तीय साक्षरता नभएकालाई कार्यक्रम तथा बचतको महत्त्वसहित बैंकमार्फत प्रदान गरिने सेवाका बारेमा जानकारी गराउने गरिएकाले पनि म्याग्दीमा रहेका बैंक तथा वित्तीय संस्थाले सेवाग्राहीकेन्द्रित कार्यक्रमलाई प्राथमिकता दिने गरेका छन्। तर पनि ठूलो हिस्सा बैंकिङ पहुँचभन्दा धेरै टाढा छ।

स्थानीय तहको निर्वाचनसँगै जिल्लाका सबै स्थानीय तहमा पुगेका वित्तीय संस्थाले कर्जा र निक्षेपबाहेक जनस्तरसम्मै पुगेर वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्न सकेका छैनन्।

प्रकाशित: २२ वैशाख २०७६ ०७:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App