६ वैशाख २०८१ बिहीबार
अन्य

फोहोरको दुर्गन्धले सास्ती

सेती नदीकिनारमा फालिएको भिमाद बजारबाट संकलित फोहोर। तस्बिरः विनोद/नागरिक

तनहुँ– भिमाद नगरपालिका र म्याग्दे गाउँपालिकाको सिमानामा सेती नदीको तीरमा डम्पिङ गरिएको फोहोर जलाउने गरिएको छ। फोहोर जलाएको धुवाँ र दुर्गन्धले नजिकैको बस्ती छाङपाटनबासी पीडित बनेका छन्।

तनहुँको दक्षिणी भेगको प्रमुख व्यापारिक केन्द्र भिमाद बजारमा दिनानुदिन बस्ती बाक्लिँदै छ। ऋषिङ, घिरिङ, किहुँ र छिमेकी जिल्ला स्याङजा, पाल्पा, नवलपुरबाट भिमादमा बसाई झर्ने क्रम तीव्र छ। जनघनत्व बढिरहेको यहाँको बजार क्षेत्रबाट दैनिक निस्कने फोहोरलाई व्यवस्थापन गर्ने डम्पिङ साइट छैन। डम्पिङ साइट नहुँदा बजार क्षेत्रको फोहोर व्यवस्थापनमा चुनौती थपिएको छ।

भिमाद नगरपालिका स्थापना भएको दुई वर्ष बितिसक्दा पनि फोहोर फाल्ने उचित ठाउँको व्यवस्थापन गर्न सकेको छैन।

भिमाद नगरपालिका स्थापना भएको दुई वर्ष बितिसक्दा पनि फोहोर फाल्ने उचित ठाउँको व्यवस्थापन गर्न सकेको छैन। अव्यवस्थित तवरले नदीछेउमा खुला रूपमा फोहोर फ्याँकिएको छ। नदीछेउमा फ्याँकिएको फोहोरलाई खाडलमा पुरेर व्यवस्थापन गर्नुको सट्टा जलाउने गर्दा धुवाँको मुस्लो र दुर्गन्ध फैलिँदा छाङपाटनवासीले सास्ती भोग्नुपरेको हो।

नगरपालिकाले फोहोर व्यवस्थापन गर्ने जिम्मा तनहुँ उद्योग वाणिज्य संघ भिमाद बजार एकाइलाई दिएको छ। फोहोर व्यवस्थापनको जिम्मा लिएको एकाइले छाङपाटन नजिकैको नदी किनारमा खुला रूपमा फोहोर फ्याँक्ने गर्छ।

नदीछेउमा खुला रूपमा फालिएको फोहोरले वातावरणलाई प्रदूषित बनाएको त छ नै फोहोरलाई व्यवस्थापन गर्न गलत तरिका अपनाएर आगो लगाइदिँदा दुर्गन्धले बस्तीमा बसी नसक्नु भएको स्थानीय एकबहादुर थापाले बताए। ‘फोहोरको दुर्गन्धले हैरान छौं, झन् नष्ट गर्न जलाउने गरिन्छ। दुर्गन्ध र धुवाँको मुस्लोले बस्तीलाई ढाकिदिँदा सास फेर्नसमेत अप्ठ्यारो हुने गरेको छ,’ उनले भने।

फोहोर जलाउँदा धुवाँले सास्ती भएको जानकारी गराउँदै भिमाद नगरपालिकालाई पटकपटक ध्यानार्कषण गराएको उनले बताए। नगरपालिकामा पुगेर समस्या राख्दा छिट्टै व्यवस्थापन हुने आश्वासन पाउने गरेको उनको भनाइ छ। ‘आश्वासन पाइन्छ,’ उनले भने, ‘तर अर्को पटक फेरि जलाइन्छ।’

भिमाद बजार एकाइका सभापति चतुर्भुज सुवेदीले व्यवस्थित तवरले फोहोरको डम्पिङ गर्ने गरको बताए। ‘बजारमा संकलित फोहोरलाई सेतीको तीरमा लगेर पुर्ने गरेका छौं,’ उनले भने, ‘कवाडी संकलन गर्नेहरूले हो आगो लगाइदिने ।’ फोहोर फाल्न सो ठाउँ छनोट गर्दा बस्ती नभएको उनको भनाइ छ। ‘अहिले बस्ती बाक्लिँदै गएपछि स्थानीय प्रभावित भएको महसुस गरेका छौं,’ उनले भने। फोहोर फाल्नलाई वैकल्पिक स्थानको खोजी भइरहेको उनले बताए। ‘डम्पिङ साइट बनाउन नगरसँग प्रस्ताव गरिएको छ,’ उनले भने, ‘जग्गा खोजी भइरहेको छ।’

भिमाद नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत थमनसिंह थापाले फोहोर व्यवस्थापन गर्न डम्पिङ साइट निर्माण गर्न जग्गाको खोजी भइरहेको बताए। ‘जग्गाको खोजी गर्न चालू वर्षमा बजेट पनि छुट्याइएको छ,’ उनले भने, ‘उपयुक्त जग्गा पाउन सकिएको छैन।’

उनले घरबाटै कम फोहोर उत्पादन गर्न सचेतनामूलक कार्यक्रम गर्ने गरेको बताए। ‘कुहिने फोहोरबाट प्रांगरिक मल बनाउन सकिन्छ। केही फोहोर पुनः प्रयोग गर्न मिल्ने हुन्छ। फोहोरलाई वर्गीकरण गर्न सिकाएका छौं,’ उनले भने।

प्रकाशित: २२ वैशाख २०७६ ०७:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App