७ वैशाख २०८१ शुक्रबार
राजनीति

अख्तियारमै बसेर चलखेल, प्रहरी, प्रविधि र गुप्तचर कार्कीकै कब्जामा

काठमाडौं- चार दिनअघि संसद्ममा महाभियोग दर्ता भएपछि स्वतः निलम्बित अख्तियार दुरुपयोग अनुसन्धानका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले महाभियोगबाट बच्न सुरक्षा संयन्त्र र प्रविधि दुरुपयोग गरिरहेका छन्।

निलम्बनपछि कार्यालय नगए पनि कार्की परिसरमै रहेको निवासबाट अख्तियार चलाउन थालेपछि प्रमाण नष्ट हुने डर बढेको छ। प्रमाण नष्ट गर्ने र आफ्नो प्रमाव प्रयोग गरिरहन नपाओस् भनेरै संविधानमा महाभियोग प्रक्रिया सुरु हुनासाथ निलम्बन व्यवस्था गरिएको हो।

अख्तियार उच्चस्रोतका अनुसार कार्कीले नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको दुरुपयोग पहिलेकै जस्तै गरिरहेका छन्। व्यक्तिका गोप्य सम्पर्कसूत्र केलाउन उनले दूरसञ्चारप्रदायक कम्पनीले उपलब्ध गराउने प्रविधिसमेत प्रयोग गरिरहेका छन्।

'बचाउका लागि अझै प्रहरीको एउटा संयन्त्रले सघाउँदै आएको छ, गुप्तचर विभागका मुख्य अधिकारी अझै उनकै पक्षमा छन्,' विश्वस्त स्रोतले भन्यो। स्रोतअनुसार पुरानै शैलीमा प्रस्तुत हुने गरेका कार्कीलाई आफ्ना लागि तयार गरेको सचिवालयले पूर्ण सहयोग गरिरहेको छ। प्रहरी, गुप्तचर, कानुन व्यवसायी, व्यापारी र विदेशी सहयोगीसँग सम्पर्कमा रहेर कार्कीले काम गरिरहेका छन्। 'कति हदसम्म सूचना र प्रमाण जुटाइन्छ, मिडियालाई भन्नुपरेन, सबै उस्तैउस्तै छ,' स्रोतले थप्यो।

उनले स्थापना गरेको सचिवालयमा रहेका प्रहरी, गुप्तचर, विभिन्न मन्त्रालयका अधिकारीसहितको समूहमार्फत उनी चाहेका गोप्य दस्तावेज निवासमै मगाइरहेका छन् ।

प्रहरीका एक उच्च अधिकारी आयोगको दरबन्दीमा जाने प्रहरी, गुप्तचर, मन्त्रालय र अन्य सरकारी अधिकारीको चयनमा कार्कीकै विशेष रुचि रहने भएकाले असहयोग भएको छ भन्ने अवस्था नरहेको स्विकार्छन्। उनले खटिएका कसैलाई पनि विभागीय प्रमुखले सोधपुछ गर्ने गरेका छैनन्।

'हामीबाट गएको सुरक्षा संयन्त्रले पहिलेजस्तै कामकारबाही गरिरहेको छ, कसले के गरिरहेको छ,' त्यो थाहा हुँदैन,' उनले भने।

अख्तियार सम्हालेयता नेपाल प्रहरी, सशस्त्र प्रहरी, गुप्तचर विभाग र गृह मन्त्रालयमा कार्कीको विशेष चासो थियो। सुरक्षा संयन्त्रका ठेकेदार र त्यसका दलालसँग विशेष निकटता बढाएर उनले आयोग सञ्चालन गरेका थिए।

उनी प्रमुख भएयता गृह मन्त्रालय, अध्यागमन विभाग, प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकारीविरुद्ध सूचनासहितका बेनामी उजुरी आए। उनले यस्ता उजुरी औपचारिक रुपमा सार्वजनिक गर्नु साटो आफ्नो सचिवालयमार्फत दुरुपयोग गरेको दाबी पीडित प्रहरी अधिकारीले अनौपचारिक रुपमा गर्न थालेका थिए।

'गृहअन्तर्गत रहेका उजुरी र कारबाही प्रक्रियाको जानकारी हाल दुरुपयोग हुने मुख्य खतरा हो, भोलि सार्वजनिक हुने डर पनि होला,' आयोगका एक कर्मचारीले भने। उनका अनुसार हाल निवासमा लैजानुभन्दा पनि सुरुआतबाटै कार्कीले आफूलाई आवश्यक पर्ने कागजपत्र आफैसँग वा आफूनिकटसँग राख्ने गरिरहेका थिए। 'घटनाक्रम जानकारी भएर आएजस्तो देखिएन, हामीले सुन्दा अदालती प्रक्रियामा सहभागी हुन आएको भन्ने हो, जानेआउने भइरहेको छ,' उनले भने।

भारत सेलायो, चीन महाभियोग पक्षमा

महाभियोग प्रक्रियालगत्तै सक्रिय भारतीय कूटनीतिक र खुफियाको समूह केही सेलाएजस्तो देखिए पनि भित्रभित्रै सक्रिय छन्। बुधबार र बिहीबार मुख्य भेटघाट र वार्तालापमा बिताएको भारतीय स्थायी समूह शुक्रबार र शनिबारका गतिविधि निगरानीमै छ। महाभियोगबाट बचाउन नसके सुरक्षित अवतरण पक्षमा भेटघाटमा दुई दिन बिताएको भारतीय समूह हाल प्रकरणलाई आफूअनुकूल प्रयोगको दाउमा रहेको बताइएको छ।

स्रोतका अनुसार परोक्ष रुपमा चीननिकट रहेका परियोजना र कार्यक्रममा सरकारी कर्मचारीमार्फत अवरोध गर्दै आएका कार्कीको महाभियोग पक्षमा छ चीन। कार्कीले चीनको लगानीका ठूला परियोजनामा कार्की समूहले अनावश्यक हस्तक्षेप गर्ने गरेको गुनासो चिनियाँ दूतावासमा धेरै अघि पुगिसकेको थियो।

'दुई छिमेकीमध्ये एकले खुलेआम लबिङ गर्दा अर्काको रत्तिभर अभिरुचि छैन भन्ने हुँदैन, नेपाल कूटनीति दुवै देशको करिबकरिब एउटै हो, कोही देखिन्छन्, कोही देखिँदैनन्,' एक पूर्व सचिवले भने।

प्रकाशित: ७ कार्तिक २०७३ ०२:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App