८ वैशाख २०८१ शनिबार
शिक्षा

सामुदायिकमा भर्ना पाउनै हम्मे

त्रियुगा नमुना मावि गाईघाट। तस्बिरः महेश्वर/नागरिक

उदयपुर– सामुदायिक विद्यालय  अभिभावकको प्राथमिकताभित्र हत्तपत्त पर्दैनन्। छोराछोरीको भविष्य सुनिश्चित गराउन निजी नै धेरैको रोजाइ बन्छ।  तर, उदयपुरको एउटा सामुदायिक विद्यालय जहाँ विगत ३ वर्षयता अभिभावक र विद्यार्थीको आकर्षणले नयाँ भर्ना लिनै पनि हम्मे पर्ने  गरेको छ।

सदरमुकाम गाईघाटस्थित त्रियुगा नमुना माध्यामिक विद्यालयमा विगत वर्षजस्तै यसवर्ष पनि अभिभावकहरू आफ्ना नानी भर्ना गर्न नपाएर रिसाउँदै बाहिरिएको देख्न पाइन्छ। सुरुदेखि निजी विद्यालयमा आकर्षित हुँदै आएका कतिपय अभिभावक यो विद्यालयप्रति पछिल्लो ३ वर्षयता आकर्षित हुन थालेका हुन्। अंग्रेजी माध्यामको पठनपाठन, प्राविधिक शिक्षातर्फ कक्षा ९ देखि इन्जिनियरिङ विषय र भौतिक पूर्वाधारयुक्त भएकाले विद्यालयमा आकर्षण बढेको हो।

यति मात्र होइन, विद्यालयको पठनपाठन स्तरीय, अनुशासनमा कडाइ, सुरक्षित घेराबेरा, दक्ष जनशक्ति, प्रशस्त खेल मैदान र राम्रो शैक्षिक वातावरणसहितको बालमैत्री विद्यालय हुनु विद्यार्थी आकर्षणको अर्को कारण हो। गेटभित्र छिरिसकेपछि छुट्टी नभएसम्म निस्कन कि बिरामी हुनु पर्छ वा आपतकालीन कारणसहितको काम नदेखाए विद्यार्थी कम्पाउण्डबाट निस्कन प्रधानाध्यापक सुवास विष्टका लागि सोच्दै नसोच्ने विषय हो। कडा अनुशासनकै कारण पनि विद्यार्थीका लागि यो विद्यालय झन्–झन् आकर्षणको केन्द्र बन्दै गएको हो।

पाँच वर्षयता अंग्रेजी  माध्यममासमेत पठनपाठन सुरु हुँदै आएको विद्यालयमा शिशु कक्षादेखि १२ सम्म अध्ययन–अध्यापन हुँदै आएको छ। यो साल विगत वर्षभन्दा दोब्बर बढी विद्यार्थी नयाँ भर्ना लिन आएपछि बाध्य भएर ५ गते नै भर्ना बन्द गर्नु परेको विष्टले बताए। उनका अनुसार कक्षा १ देखि १२ सम्मै ३ देखि ६ सेक्सनसम्म विद्यार्थीलाई राखेर पढाउनु पर्ने अवस्था छ। खासगरी साना कक्षा र ६ देखि १० सम्ममा बढी विद्यार्थी आएपछि भर्ना गर्न रोक्नुपरेको उनले बताए। कक्षा ९ देखि सिभिल इन्जिनियरिङमा भर्ना लिन आउने धेरै भएपछि चाप थाम्न नसकेर भर्ना रोक्नुपरेको उनको भनाइ छ।

‘त्रियुगा नगरपालिका मात्र नभएर जिल्लाका विभिन्न स्थानीय तहबाट अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना हुन नयाँ विद्यार्थीको चाप अत्यधिक बढेपछि भर्ना नखुल्दै रोक्नुपरेको विष्ट बताउँछन्। ‘पहिले पनि उत्तिकै विद्यार्थी छँदै थिए, नयाँ शैक्षिक सत्र सुरु भएपछि भर्ना खुलेको विज्ञापन नगरी ह्वारह्वारती विद्यार्थी आउन थाले’ विद्यार्थी चापबारे विष्ट भन्छन्, ‘४/५ दिन भर्ना लियौं, तर थाम्न नसकेपछि रोक्यौं।’ नयाँ शैक्षिक सत्रमा १ देखि ९ सम्म ७ सय ५० बढी नयाँ विद्यार्थीले प्रवेश परीक्षाका लागि आएकोमा ५ सय ७० लाई मात्र परीक्षामा सामेल गरी ४ सय हाराहारीलाई भर्ना लिएर बाँकीलाई  रोकिदिएको विष्टले बताए।

अर्का शिक्षक गोपाल श्रेष्ठका अनुसार सिभिल इन्जिनियरिङमा ८ कक्षामा ४८ जनाको सिटमा करिब २ सयले प्रवेश परीक्षा दिएका थिए। विगत ३ वर्षयता सिभिल इन्जिनियरिङमा हाल १ सय २५ जना विद्यार्थी अध्ययनरत छन्। कक्षा १ देखि १० सम्म अंग्रेजी माध्याममा पढ्ने विद्यार्थी संख्या मात्र ९ सय हाराहारी छन्, बाँकी नेपाली माध्यामका विद्यार्थी संख्या उत्तिकै छ। हाल विद्यालयमा २ हजार २ सय ८७ विद्यार्थी अध्ययनरत रहेको श्रेष्ठले बताए। यसवर्ष मात्र १ देखि कक्षा ९ सम्म भर्ना भएका नयाँ विद्यार्थीको संख्या हेर्दा विद्यालयको भौतिक संरचनाले धान्न नसक्ने अवस्था आउनसक्ने अनुमान विद्यालय व्यवस्थापन समितिले गरेको छ।

उनका अनुसार नयाँ भर्ना लिन आउने विद्यार्थीमा संस्थागत विद्यालयकै विद्यार्थी बढी रहेका छन्। निजी  विद्यालयमा अंग्रेजी माध्यमको पठनपाठन हुने भएकाले नयाँ भर्ना लिन आउने विद्यार्थीलाई लक्षित गरेरै स्कुलले अंग्रेजी माध्यममा पठनपाठन थालेको थियो। सुरुसुरुमा आउने विद्यार्थीको पठनस्तर राम्रो देखिएपछि बर्सेनि  नयाँ विद्यार्थीको चाप बढ्न थालेको हो।

बजारको बीचैमा  रहेको विद्यालय भएर पनि सामुदायिकमध्ये सबैभन्दा केन्द्र र गुणस्तरीय पढाइले विद्यार्थीमा आकर्षण थपेको हो। ४ वटा ठूलठूला ३/३ तले पक्की भवन, विज्ञान प्रयोगशाला, प्राविधिक शिक्षा, बालमैत्री संरचना,  दक्ष जनशक्ति र गुणस्तरीय पढाइकमा कारणले स्कुलमा विद्यार्थीको चाप थामिनसक्नु भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद पाण्डे बताउँछन्। उनका अनुसार सामुदायिक विद्यालयहरूको नाम सुन्नेबित्तिकै हेयको दृष्टिकोणले हेर्ने अभिभावकको बुझाइ यस विद्यालयले परिवर्तन गर्न सहयोग गरिरहेको छ।

प्रकाशित: २२ वैशाख २०७६ ०५:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App