८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

उत्तर कोरियाद्वारा छोटो दूरीको क्षेप्यास्त्र परीक्षण

ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण नियाल्दै उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उन। फाइल तस्बिर: एजेन्सी

सोल – उत्तर कोरियाले छोटो दूरीका कैयौं क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाबाट बाहिरिएको विवरणमा उल्लेख गरिएको छ। दक्षिण कोरियाको संयुक्त चिफ अफ स्टाफका अनुसार उत्तर कोरियाले ती क्षेप्यास्त्रहरु होडो प्रायद्वीपबाट प्रक्षेपण गरेको हो।

‘उत्तर कोरियाले उत्तर तटीय सहर वन्सननजिकै रहेको होडो प्रायद्वीपबाट उत्तरपूर्वी दिशातर्फ बिहान नौ बजेर छ मिनेटदेखि नौ बजेर २७ मिनेटसम्म कैयौं छोटा दूरीका क्षेप्यास्त्र परीक्षण गरेको छ,’ दक्षिण कोरियाली संयुक्त चिफ अफ स्टाफले जारी गरेको विज्ञप्ति उद्धृत गर्दै बिबिसीले जनाएको छ।

‘सी अफ जापान’मा खस्नुअघि ती क्षेप्यास्त्रहरु ७० देखि दुई सय किलोमिटर सम्म उडेको विज्ञप्तिमा भनिएको छ। होडो प्रायद्वीप यसअघि उत्तर कोरियाली समुद्री क्षेप्यास्त्र र लामो दूरीका हतियार परीक्षणका लागि प्रयोग गर्ने गरेको थियो।
पछिल्ला परीक्षण प्योङयाङले सन् २०१७ को नोभेम्बर महिनामा गरेको अन्तरदेशीय ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण पछिको पहिलो भएको पुष्टि भएको बिबिसीले उल्लेख गरेको छ। गत महिना पनि प्योङयाङले आफूले नयाँ खालको ‘ट्याक्टिकल गाइडेड विपन’को परीक्षण गरेको बताएको थियो।

उत्तर कोरियाली समाचार एजेन्सी केसिएनएका अनुसार अप्रिल महिनामै गरिएको सो ‘ट्याक्टिकल गाइडेड विपन’को परीक्षणलाई उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उन आफैंले प्रत्यक्ष रूपमा हेरेका थिए। विभिन्न निशानामा मार हान्दै ती क्षेप्यास्त्रको परीक्षण भएको बताइएको छ। विभिन्न विश्लेषकहरुलाई उद्धृत गर्दै बिबिसीले जनाएअनुसार ती हतियारहरु जमिन, समुद्र वा हावामा परीक्षण गरिएका थिए। ती हतियारहरु क्षेप्यास्त्र थिए वा थिएनन् भन्ने विषय भने अझै प्रस्ट भइनसकेको बताइएको छ। तर कतिपय पर्यवेक्षकहरुले ती हतियार सम्भवतः साना–दूरीका हतियार हुनसक्नेतर्फ औंल्याएको बिबिसीले उल्लेख गरेको छ।

यसै वर्षको फेब्रुअरी महिनाको २७ र २८ मा भियतनामको हनोईमा भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उनबीचको दोस्रो शिखर बैठक कुनै सम्झौताबिना टुंगिएपछिको उत्तर कोरियाले गरेको यो पहिलो क्षेप्यास्त्र परीक्षण भएको दक्षिण कोरियाले उल्लेख गरेको छ।

आफूमाथि लाग्दै आएको प्रतिबन्ध नहटेसम्म आफ्नो आणविक कार्यक्रम त्याग्न नसक्ने भन्दै उत्तर कोरियाले अड्को थापेपछि हनोई वार्ता विफल भएको थियो। त्यसबेला अमेरिकी राष्ट्रपति ट्रम्पले किम जोङ–उनले खराब सम्झौता पेश गरेको बताएका थिए।

उत्तर कोरियाले साना क्षेप्यास्त्र परीक्षण गरे पनि यसले कोरियाली प्रायद्वीपलाई आणविक हतियाररहित बनाउनेतर्फ गरेको सहमतिको उल्लंघन नभएको बताइएको छ। उसले लामो दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र वा आणविक हतियारको परीक्षण नगर्ने प्रतिबद्धता व्यक्त गरेकाले साना क्षेप्यास्त्र परीक्षणले कुनै सम्झौता नतोडिएको बिबिसीले उल्लेख गरेको छ।

अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेताबीच सिंगापुरमा सन् २०१८ को जुन १२ मा भएको ऐतिहासिक शिखर बैठकपछि प्योङयाङले आफ्ना आणविक हतियार कार्यक्रमलाई ध्वस्त गर्न सुरु गरे पनि आफ्नो देशमाथि लागेको आर्थिक प्रतिबन्ध नहटेका कारण नेता किम वासिङ्टनप्रति बेचैन भएको हुसक्ने बिबिसीले उल्लेख गरेको छ।
‘उत्तर कोरियाले हिजो राति गरेको गतिविधिबारे हामी पूर्ण जानकार छौं,’ ह्वाइट हाउसका प्रवक्ता साराह स्यान्डर्सलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। ‘हामी आवश्यकताअनुसार उत्तर कोरियाको गतिविधिलाई निरन्तर अवलोकन गर्ने छौं,’ उनले बताइन्।

उत्तर कोरियाली सर्वोच्च नेता किमले गत वर्ष आफ्नो देशले आणविक परीक्षण र लामो दूरीका अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण नगर्ने बताएका थिए।

प्रकाशित: २२ वैशाख २०७६ ०२:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App